८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावी तयारीमा अवरोध गर्दै राजपा

वीरगन्ज- आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगावै संविधान संसोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा)का नेता कार्यकर्ताले सोमबार पर्सामा चुनावी कार्यक्रम बिथोलेका छन्। राजपाका कार्यकर्ताले वीरगन्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ उच्च माविमा सोमबारदेखि हुन लागेको निर्वाचन प्रशिक्षण कार्यक्रम बिथोलेका छन्। उनीहरूले भौंराटाँर गाउँमा संघीय समाजवादी फोरम नेपालले आमसभाको लागि तयार पारेको मञ्च तोडफोड गरेका छन्।

राष्ट्रिय विद्यापिठ उच्च माविमा हुन लागेको प्रशिक्षण कार्यक्रम अवरोध गर्न पुगेका राजपा नेताकार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो। उनीहरूले विद्यालय अगाडि टायर बालेर निर्वाचन विरोधी नारा लगाए।

प्रशिक्षणमा आएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणस्थलमा प्रवेश गर्न नदिई उनिहरूको शरीरमा हिलो छ्याप्न थालिएपछि सहभागीहरू तितरबितर भएका थिए।

'मधेसलाई अधिकारबाट वञ्चित राख्ने गरी उचित प्रतिनिधित्व हुन नदिने गरी गर्न लागिएको चुनाव कुनै पनि हालतमा सफल हुन नदिने पार्टीको निर्णय छ,' राजपा नेता शशीकपुर मियाँले भने, 'चुनावको नाउँमा मधेस बिरुद्ध षडयन्त्र हो भन्ने कुरा जनताले बुझेका छन्, हामी आन्दोलनमा गइसक्यौं।'

राजपा कार्यकर्ताले संघीय समाजवादी फोरम नेपालले बहदुरामाई गाउँपालिकाको भौंराटाँरमा आम सभाका लागि बनाएको मञ्च र पण्डालका बाँस उखेलेर फालेका थिए भने टायर बालेर प्रदर्शन समेत गरेका थिए।

घटनापछि फोरम नेपालले कार्यक्रम स्थगित गरेको छ। 'हाम्रा नेता कार्यकर्ता कोही नभएको बेला उहाँहरू गएर बहादुरी देखाउनु भएको रहेछ। रामै्र भयो नत्र द्वन्द्व अझ बढ्न सक्थ्यो,' फोरमका मधेस प्रदेशका कोषाध्यक्ष विजय सरावगीले भने, 'मुठभेड नहोस् भनेर अहिलेलाई सो कार्यक्रम स्थगित गरिएको छ।' सरावगी फोरम नेपालको तर्फबाट वीरगन्ज माहानगरको मेयरका दावेदार हुन्।

राजपा नेेता शीव पटेलले फोरम नेपाल मधेसी जनातको भावना विपरीत गएको आरोप लगाए। 'बजार बन्ददेखि नाकाबन्दी गर्दासम्म सँगै रहेका र संविधान संशोधन होइन पुुर्नलेखन हुनुपर्छ भनेर क्रान्तिकारी कुरा गर्ने उपेन्द यादव रातारात चुनाव पक्षधर भएका छन्,' पटेलले भने, 'केपी ओलीभन्दा चर्को कुरा गर्दैछन्, मधेस भनेको कसैको ठेक्का होइन। मधेसमा कसैले पनि चुनाव रोक्न सक्दैन भनेर उपेन्द्रजीले अधिकारविहीन मधेसीलाई चुनौती दिएका छन्।'

नेपाली कांग्रेसको क्षेत्र नम्बर २ का सभापति अरबिन्द गुप्ताले राजपा मधेसी जनताको चाहना विपरीत गएको आरोप लगाए। 'यस्ता गतिविधिले चुनावी तयारीमा अवश्य नै धक्का पुगेको छ, मधेसका जनताले चुनाव चाहेका छन्, राजपा जनचाहना विपरीत गयो,' गुप्ताले भने 'जनताको प्रश्न के हो आफू चाँही पटक पटक संसदमा निर्वाचनमा भाग लिने अनि जनतालाई भोट हाल्न नदिने?'

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने जिल्लामा सुरक्षा व्यवस्था चुस्त रहेको जनाए।

प्रकाशित: ३० जेष्ठ २०७४ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App