coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

रौतहटका नब्बे मतदान केन्द्र अति संवेदनशिल

रौतहट- मतदान सुरक्षाका दृष्टिले रौतहटका नब्बे मतदान केन्द्र अति संवेदनशिल रहेको देखिएको छ। रौतहटमा सुरक्षा निकायले मतदान केन्द्रलाई अति संवेदनशिल, संवेदनशिल र सामान्य गरी तीन वर्गमा बाँडेकोमा सम्पूर्ण मतदान केन्द्रमध्ये नब्बेवटा अति संवेदनशिल रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

विगतका निर्वाचनमा होहल्ला भई मतदान रोकिएको, दोहोर्‍याएर मतदान भएको, झडप भएको, गोली चलेको, भारतसित सिमाना जोडिएको र राजपा नेपालको पकड बलियो भई चुनाव बिथोल्न सक्ने सम्भावना भएको मतदान केन्द्रलाई सुरक्षा निकायले अति संवेदनशिलमा राखेको छ।

दुई सय ७३ मतदान केन्द्रलाई रौतहटको सुरक्षा निकायले संवेदनशिल मानेको छ। विगतको निर्वाचनमा होहल्ला भएका, सामान्य बल प्रयोग गर्नुपरेका, मतदान केन्द्रबाहिर झडप भएका, चुनाव प्रचारको क्रममा नै गाउँमा झडपका घटना भएको मतदान केन्द्रलाई संवेदनशिल मानिएको सुरक्षा स्रोतको भनाइ छ। एक सय ११ मतदान केन्द्र सामान्य मानिएको छ।

जिल्लाका सम्पूर्ण मतदाताको मतदानको अधिकारलाई सुरक्षित पार्न र सर्वसाधारणले दिएको अमूल्य मतको सुरक्षा गर्न रौतहटको सुरक्षा निकाय पूर्णरूपले सक्षम रहेको सुरक्षा श्रोतले बतायो। जिल्लामा दुई हजार ३८ नेपाल प्रहरी, तीन हजार ९२ म्यादी प्रहरी र आठ सय १६ जना सशस्त्र प्रहरी मतदान सुरक्षाका लागि खटिएको सुरक्षा स्रोतको भनाइ छ। नेपाली सेनाले पनि आवश्यकता अनुसार निर्वाचनमा जिम्मेवारी निर्वाह गरिरहेको र मतदानको दिन झन्डै पाँच सय ४० जना नेपाली सेना खटाइने तयारी भएको छ।

मतदान केन्द्रमा पर्याप्त मात्रामा सुरक्षाकर्मीको व्यवस्था हुने र सर्वसाधारण मतदाताले निर्भय भएर मतदान गर्न सक्ने वातावरण बनाएको सुरक्षा निकायको दाबी छ। सबै मतदाताले निर्भय भएर आफ्नो मतदान गर्न पाउने गरी सुरक्षाको योजना बनाइएको र त्यही अनुरूप सम्पूर्ण व्यवस्था भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भन्डारीले बताएका छन्। हरेक मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था हुने र आवश्यक भएमा थप सुरक्षा बल चारदेखि पाँच मिनेटभित्र मतदानस्थलमा पुग्ने गरी सुरक्षा योजना बनाइएको उपरीक्षक भन्डारीले बताए।

सुरक्षाको विषयमा जिल्लामा कुनै पनि मतदाताले चिन्ता लिनु नपर्ने गरी व्यवस्था गरिएको छ। अति संवेदनशिल मतदान केन्द्रमा पहिलेको भन्दा फरक किसिमले कडा सुरक्षा व्यवस्था हुने भएकाले मतदाताले मनमा कुनै पनि किसिमको संशय नलिइकन मतदान गर्न पाउने वातावरण बनिरहेको छ। जिल्लाको सुरक्षा योजना सन्तोषजनक भएको सर्वसाधारणको प्रतिक्रिया रहेको छ।

विगतमा केही समय तालिम लिएर म्यादी प्रहरीलाई मतदानस्थलमा खटाइने गरिएकोमा यस पालि करिब दुई महिना जति म्यादी प्रहरीहरू नेपाल प्रहरीसित मिलेर काम गर्ने अनुभव प्राप्त गर्ने अवसर पाएकाले मतदानको दिन पहिलेको भन्दा कुशलतापूर्वक कर्तव्य निर्वाह गर्नेमा सर्वसाधारण मतदाता विश्वस्त देखिन थालेका छन्। लामो समयदेखि फिल्डमा काम गरिरहेकाले सुरक्षा सम्बन्धी धेरै व्यावहारिक ज्ञान हासिल गरेकाले म्यादी प्रहरीबाट मतदानको दिन राम्रो प्रतिफल आउने गरुडाका संग्रामपुरका मतदाता अजय चौधरीले विश्वास व्यक्त गरे ।

प्रकाशित: ३० जेष्ठ २०७४ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App