coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विप्लवका ५ सय कार्यकर्ता पक्राउ

काठमाडौं- निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता पक्राउ गरेको छ। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले पनि नेकपाका कार्यकर्तालाई धरपकड गरेको थियो। सरकारको नेतृत्व शेरबहादुर देउवाले गरिसक्दा पनि यो क्रम रोकिएको छैन। नेकपाले राजनीतिक आस्थाका आधारमा बिनाकारण आफ्ना नेताकार्यकर्ता पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ।

नेकपाका वरिष्ठ नेता धर्मेन्द्र बास्तोलाले दाहाल सरकारको पालादेखि सुरु भएको नेताकार्यकर्ता पक्राउ गर्ने क्रम नरोकिएको बताए। 'अहिलेसम्म करिब पाँच सय जति कार्यकतालाई सरकारले पक्राउ गरिसकेको छ। यो क्रम अझै रोकिएको छैन,' बास्तोलाले नागरिकसँग भने, 'अलग राजनीतिक आस्थाका राखेकै कारण राज्य दमनमा उत्रिएको छ।' उनले देशैभर शंकाको भरमा धमाधम कार्यकर्ता पक्राउ गरेर सरकारले दुःख दिइरहेको बताए।

चन्दले नेतृत्व गरेको सो पार्टीले स्थानीय तहको चुनावको विरोध गर्दै आएको छ।  विरोध गरेकै आधारमा केन्द्रीय नेतादेखि जिल्लासम्मका नेताकार्यकर्तालाई धमाधम पक्राउ गरिएको पार्टीले जनाएको छ।

सो पार्टीप्रति आस्था राख्ने पत्रकार तथा स्तम्भकार सुदर्शन मंगोललाई सार्वजनिक अपराधको मुद्दा लगाएर २१ दिनसम्म काठमाडौंमा थुनामा राखिएर छाडियो। 'जेठ २ गते पक्राउ गरेर २१ दिनसम्म सिंहदरबारस्थित प्रहरी कार्यालयमा थुनामा राखियो। मलाई अदालतमा समेत उपस्थित गराइएन,' मंगोलले नागरिकसँग भने, 'किन पक्राउ गरेको भनेर सोध्दा सरकारको नीति हो भनियो, अरु कारण देखाइएन।' दुई हजार धरौटी राखेर अदालतमा हाजिर नभई २१ दिनपछि मंगोल थुनामुक्त भए।

सरकारले अहिलेसम्म सबैभन्दा बढी काठमाडौंबाट सो पार्टी निकट ३७ जनालाई पक्राउ गरेको छ। आइतबार साँझ सामाना सांस्कृतिक परिवारका आठ कलाकारलाई काठमाडौंबाट पक्राउ गरिएको पार्टीले जनाएको छ। बर्दियाबाट १९, कास्कीबाट १४, प्युठानबाट १४, चितवनबाट १५ जनालाई पक्राउ गरिएको नेकपाले जनाएको छ । पक्राउ गरिएका सबै नेताकार्यकर्तालाई सार्वजनिक अपराधमा थुनिएको छ।

माओवादी केन्द्रका जनार्दन शर्मा गृहमन्त्री भएकै दिन प्युठानबाट केन्द्रीय नेताहरू केशबहादुर बाठा, महिला संगठनकी अध्यक्ष बन्धु चन्द र केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कालाई पक्राउ गरियो। 'देउवा सरकारको गृह प्रशासनले शपथ खाएकै दिनमा गैरकानुनी गिरफ्तार गरी सदरमुकाम खलंगा प्रहरी हिरासतमा राखेको घटनाले पार्टी आक्रोशित भएको छ,' प्रवक्ता खडगबहादुर विश्वकर्माले भने।

प्रकाशित: ३० जेष्ठ २०७४ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App