७ वैशाख २०८१ शुक्रबार
समाज

फेरि पिरामिड शैलीमा ठगी धन्दा

काठमाडौं- छोटो समयमा उच्च नाफा हुने प्रलोभनमा सर्वसाधारणको सात अर्बभन्दा बढी रकम ठगी गरेको युनिटी इस्योरेन्स शैलीमै नेटवर्क ठगी धन्दा फेरि सुरु भएको खुलेको छ। चिकित्सक, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा सक्रियको संलग्नतामा नयाँ नेटवर्किङ धन्दा सुरु भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको हो।

डेढ वर्षदेखि नेपालमा क्यु नेट नेटवर्कको नाममा पिरामिड शैलीमा नेटवर्कको धन्दामा संलग्न एक सय दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तीमध्ये १४ जना 'नाइके' लाई हिरासतमा राखिएको छ। हिरासतमा रहेकामध्ये कोही चिकित्सक छन् त कोही इन्जिनियर र एकाउन्टेन्ट।

सूचनाको आधारमा अनुसन्धानमा खटिएको ब्युरो टोलीले आइतबार प्रशिक्षण चलिरहेका बेला बानेश्वरस्थित सिद्धार्थ फुडल्यान्डमा छापा मारेको थियो। छापा मार्दा एक सय दुईजना प्रशिक्षणमा थिए। सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा १४ जना मुख्य व्यक्ति रहेको खुलेपछि उनीहरुलाई सोमबार अदालतमा पेस गरेर न्यायिक हिरासतमा राखी अनुसन्धान सुरु गरिएको ब्युरोकी प्रवक्ता मिरा चौधरीले जानकारी दिइन्।

हिरासतमा रहेकाले हङकङमा रहेको क्युआई कम्पनीसँग मिलेर विभिन्न सुविधाको बहानामा पिरामिड शैलीमा धन्दा चलाउँदै आएको चौधरीले जानकारी दिइन्। 'नेपालमा पिरामिड शैलीको धन्दा पुनः सुरु भएको सूचनाको आधारमा निगरानी बढाएर छापा मार्दा एजेन्ट र नेटवर्कमा संलग्न व्यक्ति फेला परे,' एसपी चौधरीले भनिन्, 'तीमध्ये १४ जनालाई अनुसन्धानको दायरामा ल्याएका छौं, अन्यको भूमिकाबारे अनुसन्धान भइरहेको छ।'

भारत, हङकङ र मलेसिया कनेक्सन

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार आइतबार सिद्धार्थ फुडल्यान्ड पुग्दा त्यहाँ रहेकालाई भारतको बैङलोर, मलेसिया र हङकङमा रहेका क्यु नेटका प्रतिनिधिले अनलाइन प्रशिक्षण दिइरहेका थिए।

उनीहरूले प्रशिक्षणमा सदस्य बन्न प्रोत्साहित गर्दै सदस्य बन्दा लाग्ने शुल्क, सदस्य बढाउने शैली र त्यसबापत आउने कमिसनबारे जानकारी दिइरहेका थिए। बेलाबेलामा नेपालमा रहेका एजेन्टले क्यु नेटको सदस्य बन्दा आफूले पाएको आर्थिक फाइदाबारे बताउँदै सदस्य बन्न प्रोत्साहित गरिरहेका थिए।

केही समय प्रशिक्षण चलेपछि ब्युरोको टोली हलमा प्रवेश गरेर त्यहाँ रहेकालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा परेकामध्ये अधिकांश इन्जिनियर, डाक्टर, एकाउन्टेन्ट र सञ्चारकर्मीसमेत थिए।

आइतबार रातभरको छानबिनपछि प्रहरीले प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सृजना सिंह, अंकिता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितिज पौडेल, नरेश मल्ल, ओम गुरुङ, बिशन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का, सुमित श्रेष्ठ र प्रमेश मानन्धरलाई ठगी अभियोगमा अदालतमा पेस गरेर म्याद लियो। हिरासतमा लिइएका सबै गोल्ड क्वाइन पाएका सदस्य हुन्।

प्रहरी हिरासतमा रहेकामध्ये श्वेता र सुमित मुख्य लिडर रहेको खुलेको छ। श्वेता सबैभन्दा धेरै सदस्य बनाउन र प्रशिक्षण चलाउन संलग्न भएको देखिएको छ भने सुमितको खातामा क्यु नेटबापतको ५१ हजार अमेरिकी डलर (५१ लाख रुपैयाँ) रहेको खुलेको छ।

हिरासतमा रहेकामध्ये सिंह पेसाले चिकित्सक हुन्, प्रकृति बुढाथोकी चार्टर। अनुसन्धान अधिकारीका अनुसार हिरासतमा रहेका अन्य पनि कोही इन्जिनियर छन् त कोही एकाउन्टेन्ट।

सदस्यता शुल्क ३ लाख ५० हजार

नेटवर्क व्यवसायको आवरणमा सर्वसाधारणसँग पैसा लिएर ठगी गर्ने गोल्डक्वेस्टझैं क्यु नेटको जालो हङकङबाट सुरु भएको हो। भ्रमण, हर्बल सामग्री, घडी, सञ्चार उपकरण र स्वास्थ्य उपकरणको आवरणमा पिरामिड शैलीमा व्यापार गर्दै आएको सो धन्दा भारत हुँदै नेपाल भित्रिएको हो।

भारतमा सन् २००३ मै क्यु नेटको आवरणमा भएको ठगी धन्दाबारे भण्डाफोर भएको थियो। मुम्बई प्रहरीको आर्थिक अनुसन्धान शाखाले क्यु नेटको आवरणमा चलिरहेको नेटवर्क व्यवसायबारे अनुसन्धान गर्दा सेलिब्रेटी र प्रतिष्ठित व्यक्ति संलग्न रहेको खुलेको थियो। सर्वसाधारणको एक खर्बभन्दा बढी रकम ठगी भएको खुलासा गर्दै मुम्बई प्रहरीको आर्थिक अपराध अनुसन्धान शाखाले ठगीमा संलग्न अभियोगमा बिलियर्ड एमेच्योरमा तीनपटक विश्व च्याम्पियन भएका माइकल फरेरालाई सहयोगीसहित पक्राउ गरेको थियो।

भारतमा प्रतिबन्ध लागेपछि धन्दा नेपाल सरेको अनुसन्धानमा खुलेको छ। डेढ वर्ष अगाडिबाट नेपालमा सुरु भएको धन्दा एक वर्षदेखि फैलिन थालेको ब्युरोको अनुसन्धानमा खुलेको छ।

उनीहरूले नेपालमा हर्वल र भ्रमणको प्याकेजका नाममा सदस्य बनाउँदै आएका थिए। भारतमा ३० हजारदेखि सात लाख भारुसम्ममा सदस्य बनाइन्थ्यो भने नेपालका एजेन्टहरुले तीन हजार पाँच सय अमेरिकी डलर (३ लाख ५० हजार रुपैयाँ)  सदस्यता शुल्क लिँदै आएका थिए। एजेन्टले एकजना नयाँ सदस्य बनाउँदा दुई सय अमेरिकी डलर कमिसन, सदस्य संख्याको आधारमा १० वर्षमा मलेसिया, सिंगापुर, दुबई, थाइल्यान्डलगायत ६ देशको भ्रमण प्याकेज र अनलाइन सपिङको अफर दिने गरेका थिए।

१४ वर्ष पुरानो ठगी शृंखला

१४ वर्षअगाडि ३५ हजार तिरेर सदस्य बनेबापत सुनको सिक्का पाउने र त्यसबापत उच्च मुनाफा हुने प्रलोभनमा नेपालमा गोल्डक्वेस्ट नामको ठगी धन्दा सुरु भएको थियो। यसको मुख्य कार्यालय हङकङमा नै थियो। भारतीय नागरिकको प्रत्यक्ष संलग्नतामा नेपालमा १० हजारभन्दा बढी ठगिएको खुलेपछि सन् २००३ मा यसमा प्रतिबन्ध लाग्यो। यसमा संलग्न मुख्य नाइके भने पक्राउ परेनन्।

२०६० मा युनिटी लाइफ इस्योरेन्सको नाममा उही शैलीको ठगी धन्दा सुरु भयो। युनिटीले बिमा, स्वास्थ्यलगायतको प्रलोभनमा पारेर ३ लाख ५० हजार सदस्यबाट पाँच अर्बभन्दा बढी रकम उठाएर ठगी गरेको खुल्यो। साथै २०६७ मा युनिटीका सञ्चालक काशी गुरुङ, विष्णु क्षेत्री, कृष्ण क्षेत्रीलगायत कारबाहीमा परे।

हर्बल सामग्री व्यापारको आवरणमा ठगी हुने गरेको खुलेपछि हर्बो इन्टरनेसनलसमेत बन्द भयो र सर्वोच्च अदालतले २०६८ मा पिरामिड शैलीको व्यापारमाथि प्रतिबन्ध लगायो।

चौधरीका अनुसार क्वु नेटमा आबद्धलाई पक्राउ गर्नुको आधार पिरामिड शैलीको धन्दा नै हो। उनीहरुले प्याकेज बिक्रीका लागि डाइरेक्ट सेल शैलीसँगै पिरामिड शैलीमा जालो बनाउँदै सदस्य बनाउँदै आएका थिए। यसबापत तल्लो तहबाट माथिल्लो तहसम्म कमिसन बाँड्ने, पिरामिडको माथिल्लो तहमा रहेकाले उच्च नाफा लिने र नयाँ सदस्य ठगिने गरेकाले ठगीमा कारबाहीका लागि पक्राउ गरिएको चौधरीले बताइन्। तर, यसमा संलग्नको संख्या यकिन गर्न प्रहरीले सकेको छैन। उनीहरुले सातामा दुईपटक प्रशिक्षण दिने र एकपटकमा सयको हाराहारीका सदस्य हुने देखिएकाले संख्या ठूलै हुने प्रहरीको प्रारम्भिक अनुमान छ।

सदस्य शुल्क उच्च रहेको र प्रशिक्षणमा फेला परेका राम्रै आम्दानी हुने पेसामा आबद्ध भेटिएकाले क्युनेटको जालो मध्यम तहसम्म नपुगेको प्रहरीको अनुमान छ। प्रहरीले पीडितको संख्या पहिल्याउन क्यु नेटबाट ठगिएकालाई सम्पर्कका आउन आग्रह गरेको छ।

प्रकाशित: ३० जेष्ठ २०७४ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App