मुगु- स्थानीय तहको पुनसंरचना पछि सात गाविसबाट एक गाउँपालिका र ११ वडा कायम हुन पुगेको सोरु गाउँपालिकाका वडा कार्यालयहरु सदरमुकाम गमगढीको एउटै कोठामा सञ्चालन भइरहेका छन्।
सदरमुकाममा रहेको नीजि घरको माथिल्लो तलामा रहेको एउटै कोठा भित्रको कार्यालयमा सेवाग्राहीको निकै भिडभाड देखिने गरेको छ। स्थानीय तहको निर्वाचन पछि विजयी बनेका जनप्रतिनीधीहरुले पदभार पनि सदरमुकाममा रहेको त्यहि संयुक्त कोठाबाट सुरु गरेका छन। स्थानीय तहको पुनसंरचना भई स्थानीय तहको निर्वाचन समेत सम्पन्न भई सकेपछि आआफ्नो वडामा कार्यालय स्थापना गरि कामकाज गर्नु पर्ने भए पनि सोरु गाउँपालिकाका वडा कार्यालय अहिले पनि सदरमुकाममा नै छन।
अहिले वडापालिकाका कार्यालय सदरमुकाममा भए पनि मंगलबार देखि सबै कामकाज गाउँमा नै गएर सञ्चालन गरिने सोरु गाउँपालिकाले जनाएको छ । निर्वाचन पछि पनि सदरमुकाममा कार्यालय नराखि गाउँ तथा वडा कार्यालय गाउँमा नै सञ्चालन गर्ने सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको सोरु गाउँपालिकाका नव निर्वाचित उप प्रमुख राज्यलक्ष्मी मल्लले जानकारी दिईन।
प्रकाशित: २९ जेष्ठ २०७४ ०९:५९ सोमबार