coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलाम नगरपालिकाको मेयरमा भिड्दै पूर्व मेयर

आउँदो असार १४ मा हुने स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिन लागेका पूर्वमेयरद्वय महेश बस्नेत (दायाँ) र हिमालाय कर्माचार्य । तस्बिर: भीम

इलाम- आउँदो असार १४ मा हुने स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारबीचको भिडन्त निकै रोचक हुने देखिएको छ। नगरपालिकाका दुई पूर्वमेयरबीच पुनः त्यही पदमा प्रतिस्पर्धा हुँदैछ भने दुई दशकअघिको स्थानीय निकाय निर्वाचनमा विजयी र पराजित उम्मेदवार नै फेरि भिड्न लागेकाले उनीहरूबीचको प्रतिस्पर्धा सर्वत्र चासोको विषय बनेको हो।

                आउँदो निर्वाचनमा नेकपा एमालेले पूर्वमेयर महेश बस्नेत र नेपाली कांग्रेसले पूर्वमेयर हिमालय कर्माचार्यलाई उम्मेदवार बनाउने पक्का भएको छ । बस्नेत एमालेका जिल्ला सचिव र कर्माचार्य कांग्रेसका जिल्ला सभापति हुन् । बस्नेतले २०५४ सालको स्थानीय निकाय निर्वाचनमा कर्माचार्यलाई नै ७३ मतान्तरले पराजित गरेका थिए । दुवै उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा हुँदा मतगणनाको अन्तिम समयमा कर्माचार्यसँग मतान्तर बढाएर बस्नेतले विजय हासिल गरेका थिए ।

                कर्माचार्य भने २०४३ सालमा तत्कालीन नेकपा मालेका उम्मेदवार नरेन्द्रनाथ भट्टराईलाई पराजित गरी २०४६ सालसम्म इलाम नगरपालिकाको मेयर भएका थिए । २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि उनको कार्यावधि सकिएको थियो ।

                स्थानीय तह पुनर्संरचना भएपछि साविकको इलाम नगरपालिकामा नजिकका गाविसहरू साखेजुङ, सुम्बेक, पुवाझुवा, बरबोटे, गोदक, सोयाक तथा साङरुम्बाको वडा १ देखि ६ र सिद्धिथुम्काको वडा नम्बर ७ थपिएका छन् । आउँदो निर्वाचनको परिणाम कसको पक्षमा जाला भन्ने अनुमान लगाउन गाह्रो भएपनि दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । तर, कांग्रेस र एमालेकै मतदाताको संख्या बढी भएकाले इलाम नगरपालिकामा कांग्रेस वा एमालेकै उम्मेदवार विजयी हुने आँकलत आममतदाताको छ ।

                नेकपा एमालेले बस्नेतलाई सर्वसम्मत रूपमा उम्मेदवार छानेकाले पार्टीभित्रको आन्तरिक गुटबन्दीले ‘अन्तर्घात’को अवस्था नआउने पार्टीका सबै नेता–कार्यकर्ता तथा मतदाताको अनुमान छ। पार्टीभित्र इलाम नगरपालिकाको प्रमुख पदमा कसैले दाबी नगरेपछि एमालेले बस्नेतलाई करिब महिना दिनअघि नै उम्मेदवारका रूपमा अन्तिम निर्णय गरेको थियो । बस्नेत त्यतिबेलैदेखि मतदातासँग घरदैलो अभियानमा हिँडिरहेका छन् ।

                नेपाली कांग्रेसभित्र भने मेयरका आकांक्षी धेरै भएकाले कर्माचार्यको उम्मेदवारीको अन्तिम टुंगो शुक्रबार मात्रै लागेको हो । इलाम नगरको मेयरका लागि कर्माचार्यसहित महासमिति सदस्य विष्णु दाहाल र जिल्ला सचिव खगेन्द्र देवानलगायतले समेत दाबी गरेपछि कांग्रेस केन्द्रीय समितिले कर्माचार्यलाई मेयर बनाउने निर्णय गर्न समय लागेको थियो । तर, कर्माचार्य पनि वडाबाट उठ्ने उम्मेदवारको नेतृत्व गर्दै घरदैलो अभियानमै थिए । उनी शनिबारयता भने इलाम नगरपालिकाको मेयरको उम्मेदवारकै रूपमा आफ्ना कार्यकर्तासहित घरदैलो अभियानमा हिँडिरहेका छन् ।

                २०१५ साल भदौमा जन्मिएका पूर्वमेयर बस्नेत इलाम नगरपालिका–७ का स्थायी बासिन्दा हुन् ।           ‘पार्टीले मलाई जुन जिम्मेवारी दियो, त्यसलाई स्वीकारेको हुँ । मलाई यही नै चाहिन्छ भनेर ढिपी गरेको पनि होइन,’ बस्नेतले भने, ‘तर, मलाई आएको यो अवसर इलाम नगरबासीलाई समृद्ध बनाउनका लागि हो भन्ने बुझेको छु ।’

                २०१२ सालमा इलाम नगरपालिका–७ मा जन्मिएका पूर्वमेयर कर्माचार्यले २०३८ सालमा अर्थशास्त्र र राजनीतिशास्त्रमा विषयमा स्नातक गरेका छन्। त्यसपछि उनी ‘गाउँ फर्क राष्ट्रिय अभियान’मा शाखा अधिकृतका रूपमा अस्थायी जागिरे भए । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका कर्माचार्य जागिरक्रममा पनि पञ्चायती शासनविरुद्धको गतिविधिमा संलग्न भए । त्यसपछि उनी लगातार २७ वर्ष इलाम उद्योग वाणिज्य संघको अध्यक्ष भए।

                                कर्माचार्यले अहिले स्थानीय तह अधिकारसम्पन्न भएकाले त्यसको सदुपयोगका लागि आफूलाई कांग्रेसले योग्य ठानेर मेयरको उम्मेदवार बनाएको बताए । उनले भने, ‘पार्टीप्रतिको निष्ठा, सक्रियता र जनतालाई अधिकारसम्पन्न बनाउने विश्वास लागेर पार्टीले मलाई अवसर दिएको छ, यसको इमान्दारीपूर्वक सदुपयोग गर्नेछु ।’ इलाम नगरपालिकाको कुल जनसंख्या ४८ हजार ५ सय ३६ रहेकामा मतदाता संख्या ३० हजार ६ सय १८ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

 

 

प्रकाशित: २९ जेष्ठ २०७४ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App