८ वैशाख २०८१ शनिबार
समाज

प्राकृतिक विपतबाट गाउँ जोगाउन उद्धार सामाग्री वितरण

पहाडी क्षेत्रविकास  अभियान जाजरकोटले  पहल कार्यक्रमको  सहयोगमा सन्चालन गरेको पुर्व सुचना प्रणाली सम्वन्धी तालिमका  सहभागीहरु । तस्बिर :जनक केसी

जाजरकोट – वर्षातको सुरुवात हुनै लाग्दा प्राकृतिक प्रकोप बढी हुने गाउँहरुका लागि विभिन्न उद्धार सामाग्रीहरु वितरण गरिएकोछ । स्थानीय विपत व्यवस्थापन समिति मार्फत पूर्व सूचना तालिम सहित  जिल्लाको पूर्वी क्षेत्रका साविकका चार गाउँविकास समितिहरुका लागि सामाग्रीहरु वितरण गरिएको हो । 

विगत वर्षहरुमा बाढी पहिरो र  अन्य प्राकृतिक विपतबाट ठूलो धनजनको क्षति भएका वस्तीहरुलाई लक्षित गरी सामाग्रीहरु वितरण  गरिएको बताइएको छ । बाढी पहिरो, आगलागी र अन्य दुर्घटना लगायतका विपतहरुबाट स्थानीयलाई बच्न र बचाउने काममा सहयोगका लागि उक्त सामाग्रीहरू वितरण गरिएको हो । साविकका खगेनकोट, रग्दा, भगवती र सक्ला गाविसका १८ जना तालिम प्राप्त व्यक्तिहरुलाई विभिन्न ९ प्रकारका उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदीपजंग शाहले बताए । 

स्थानीय  पहाडी क्षेत्र विकास अभियानले युएस एडको सहयोगमा सन्चालन गरेको पूर्व सूचना प्रणाली सम्बन्धी तालिममा सहभागी  स्थानीय व्यवस्थापन समितिका  १८ जना सदस्यहरुलाई  विपतका समयमा  प्रभावकारी प्रतिकार्य गर्न  विभिन्न ९  किसिमका  सामाग्रीहरु वितरण गरिएको अध्यक्ष शाहले बताए । उनले प्राकृतिक विपतका बेला गाउँमा उद्धारको कामलाई सफल र प्रभावकारी बनाउन तीन दिनको तालिमका साथै व्यवस्थापन समितिलाई लाइफ ज्याकेट, हेलमेट, डाइनामिक डोरी, क्रोवार,  हेम्मर, फोकस टर्च, गैंटी, फोल्डिङ स्ट्रेचर र टारपोलिन पाल वितरण गरिएको बताए । सदरमुकाम खलंगामा  सन्चालित तीन दिने तालिममा उनीहरुलाई  विपतका बेला  उद्धारको काम कसरी गर्ने  र  उद्धार सामाग्रीहरू कसरी प्रयोग गर्ने भन्ने तरिकाहरुबारे प्रशिक्षण  दिइएको  छ । कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्याक्रम (पहल)को सहयोगमा सन्चालित उक्त तालिममा  सहभागीहरुलाई प्राथमिक उपचारका बारेमा पनि तालिम दिइएको छ ।  

नेपाल रेडक्रस सोसाइटी जाजरकोट शााखाको सहयोगमा उक्त तालिम दिइएको  हो ।  विपत व्यवस्थापनका  विषयमा  पहल कार्यक्रमका क्षेत्रीय जोखिम न्यूनिकरण अधिकृत डम्वर सुनार र  प्राथमिक उपचारका विषयमा रेडक्रस जाजरकोटका मन्त्री हरिबहादुर बस्नेतले प्रशिक्षण दिएका छन् । पूर्व सूचना प्रणाली तथा प्राथमिक उपचार सम्बन्धी तालिमले  जिल्लामा हुने विभिन्न खाले प्राकृतिक प्रकोपका घटनाहरुवाट बच्नका लागि  ठूलो सहयोग पुर्याउने सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । तालिम र सामाग्रीको सदुपयोग हुन सकेमा मात्र प्राकृतिक विपत्तीका समयमा जनताको जीउधनको  सुरक्षा हुने  उनले बताए । 

बाढी र पहिरोका कारण विगतमा गतिलो सुरक्षाको अभावले दर्जन बढी  स्थानीयले ज्यान गुमाएका थिए । जिल्लामा हुने  सवै प्रकारका  विपतका  बेला  नेपाली सेना , प्रहरी र  रेडक्रसकर्मीहरुले मात्र सहयोग गर्ने गरेका छन् । जनतामा  विपतका बेला सुरक्षाको उपाय अपनाउने कला नभएका कारण धनजनको क्षति हुने गरेको छ ।

प्रकाशित: २९ जेष्ठ २०७४ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App