coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

किसानले रासायनिक मल पाएनन्

काठमाडौं- सरकारी निकायको गैरजिम्मेवारीले बजारमा रासायनिक मलको अभाव भएको छ। अनुदानको रासायनिक मल आयात गरेर बिक्री वितरणको जिम्मेवारी पाएको सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी जिम्मेवारीमा चुक्दा युरिया मल अभाव भएको हो।

मध्यमाञ्चलको हेटौंडा, भक्तपुर लगायत विभिन्न जिल्लामा किसानले मागे अनुसार मल किन्न पाएका छैनन्।  युरिया मल किन्न नपाएपछि किसान आक्रोशित छन्। एक बोरा युरिया मल किन्न खेती किसान कृषि सहकारी पुगेकी हेटौंडा–१९, मकवानपुरकी बिनिरा श्रेष्ठले २० किलोभन्दा धेरै पाइनन्। सहकारीमै मल नभएपछि श्रेष्ठले नपाएकी हुन् ।

घन्टौं लाइन बसे पनि किसानले माग अनुसार मल पाउन सकेका छैनन्। कम्पनीले किसानलाई चाहिने जति मल उपलब्ध नगराएको खेती किसान कृषि सहकारीका गोविन्द मल्लले बताए। 'किसानको माग अनुसार नदिएपछि बिक्री गर्न पाएका छैनौं,' मल्लले नागरिकसँग टेलिफोनमा भने, '५० किलो माग्नेलाई २० किलो दिएर पठाएका छौं।'

अनुदानको रासायनिक मल बिक्रीको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरेर बिक्रीको व्यवस्था नगर्दा अभाव भएको हो। युरिया मल अभाव भएपछि किसानले मकै, तरकारी लगायत बालीमा राख्न पाएका छैनन्। यसको असर उत्पादनमा पर्नेछ। 

हेटौंडामात्र होइन भक्तपुरका किसानले पनि मागे जति मल किन्न पाएका छैनन्। किसानको माग अनुसार रासायनिक मल उपलब्ध नभएको जिल्ला कृषि विकास कार्यालय, भक्तपुरका वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुंगानाले बताइन्। 'किसानलाई चाहिने जति मल आएको छैन,' उनले भनिन्, 'अहिले क्रमशः सुधार हुँदै आएको छ।'

वितरणमा बदमासी हुँदा किसानले मल पाउन नसकेको सरकारी अधिकारीले पनि स्वीकार गरेका छन्। सम्बन्धित जिल्लाको नाममा पठाएको मल नआएको गुनासो आएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जनाएको छ। मल वितरणमा बदमासी भएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीको सहयोगमा अनुगमन सुरु गरेको जिल्ला कृषि विकास कार्यालय मकवानपुरका वरिष्ठ कृषि विकास अधिकृत निर्मल गदालले बताए। 'किसानले मल नपाएको गुनासो आएपछि अनुमगन बढाएका छौं,' गदालले भने, 'आपूर्ति बढाए पनि मल किन्ने किसानको लाइन छ। वितरण प्रणालीलाई व्यस्थित गर्न पहल गरिरहेका छौं।'

मल स्टक नहुँदा केही अभाव देखिए पनि आपूर्ति क्रमशः सहज हुँदै गएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। ढुवानीको लागि साधन पर्याप्त नहुँदा केही समस्या देखिएको लिमिटेडले जनाएको छ। 'ढुवानीको लागि पर्याप्त ट्रकको व्यवस्था नहुँदा आपूर्तिमा समान्य असहजता आएको थियो,' लिमिटेडका कार्यकारी निर्देशक अम्मरराज खैरले भने, 'अहिले सबै ठाउँमा पठाइसकेका छौं। बजारमा मल अभाव छैन।' अहिले करिब १५ हजार मेटि्रक टन मल कृषि सामग्रीसँग रहेको खैरले बताए। 'थप ३० हजार मेटि्रक टन मल आउने क्रममा छ,' खैरले भने, 'अब किसानले माग अनुसार मल पाउँछन्।' धान रोप्ने सिजन सुरु हुन लागेकाले मलको माग अब बढ्दै जान्छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले पनि करिब २५ हजार मेटि्रक टन रासायनिक मल ल्याउन थालेको जनाएको छ। 'ग्लोबल टेन्डर गरेर खरिद भएको मल नेपाल भित्रिन थालेको छ,' कर्पोरेसनका निमित्त प्रबन्ध निर्देशक कुमार राजभण्डारीले भने, 'करिब पाँच हजार मेटि्रक टन मल लोडिङ भइसकेको छ।' युरियासहित, पोटास, डिएपी पनि स्टक रहेको ती संस्थाले जनाएका छन्।

सरकारले रासायनिक मलमा करिब ६ करोड रुपैयाँ अनुदान दिँदै आएको छ। आर्थिक वर्ष ०७२/७३ मा दुई लाख ७० हजार मेटि्रक टन मल आयात भएको तथ्यांकले देखाउँछ। बाली लगाउने सिजनमा रासायनिक मलको अभाब हुन नदिन कृषि तथा जलस्रोत समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। जमिनको आधारमा नेपालमा रासायनिक मलको माग करिब सात लाख ८५ हजार मेटि्रक टन आवश्यक भए पनि कम प्रयोग गर्ने गरेका छन्। तराइको अनुपातमा पहाडी तथा उच्च हिमाली जिल्लामा पनि रासायनिक मलको प्रयोग दर कम छ।

प्रकाशित: २९ जेष्ठ २०७४ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App