४ वैशाख २०८१ मंगलबार
खेल

नाडाललाई दशौं पटक फ्रेन्च ओपन

पेरिस- स्पेनका राफेल नाडालले आइतबार स्विजरल्यान्डका स्टान वावरिन्कालाई एकपक्षीय रूपमा ३–० को सेटमा हराउँदै कीर्तिमानी दशौं पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्। चौथो वरीयताका नाडालले वावरिन्कामाथि विजय पाउन २ घण्टा कोर्टमा बिताए। ३१ वर्षे नाडालले तेस्रो वरीयताप्राप्त वावरिन्कालाई ६–२, ६–३, ६–१ को सेटमा हराएका थिए। प्रतियोगितामा सबै सेट जितेका नाडालको यो १५औं ग्रान्ड स्लाम उपाधि हो। वावरिन्का २०१५ का विजेता हुन्।

‘यो अवश्विसनीय रह्यो। फ्रेन्च ओपन दशौं पटक जित्नु मेरा लागि धेरै विशेष हो,’ नाडालले भने, ‘म धेरै खुसी छु। जुन शब्दमा व्याख्या गर्न सकिरहेको छैन। मेरो काकाको सहयोगबिना यो प्रतियोगिता दशौं पटक जित्न सम्भव थिएन। धेरै वर्ष यहाँ खेल्दा समर्थकहरूसँग मेरो सम्बन्ध विशेष खालको छ। यो प्रतियोगतालाई अन्य प्रतियोगितासँग तुलना गर्न सकिँदैन। यो मेरो मुटुमा रहेको छ।’

नाडालको यो २२औं ग्रान्ड स्लाम फाइनल खेल हो भने वावरिन्काको चौथो हो। पछिल्लो ४४ वर्षमा फ्रेन्च ओपनको फाइनल खेल्ने वावरिन्का सबैभन्दा बढी उमेरका खलाडी हुन्।

सेमिफाइनलमा शीर्ष वरीयताका एन्डी मर्रेलाई पराजित गरेपछि वावरिन्का उच्च मनोबलका साथ कोर्टमा उत्रिएका थिए। ३२ वर्षे वावरिन्का १९७२ पछि सबैभन्दा धेरै उमेरमा उपाधि जित्ने दाउमा थिए। तर नाडालका अघि उनी निरीह बने।

‘नाडाललाई बधाई छ। उनी धेरै राम्रा खेलाडी हुन्,’ वावरिन्काले भने, ‘उनी उदाहरणीय व्यक्तित्व हुन्। उनीविरुद्ध खेल्दा मलाई सधैँ गर्व महसुस हुन्छ।’

प्रकाशित: २९ जेष्ठ २०७४ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App