coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एसियन प्रिमियर लिग नेपालमा

काठमाडौं- भारतको खेलकुद व्यवस्थापन कम्पनी अल्टिमेट स्पोटर्स म्यानेजमेन्टले असार ७ गतेबाट नेपालमा एसियन प्रिमियर लिग (एपिएल) प्रतियोगिता गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ट्वान्टी–२० स्वरूपमा हुने यस प्रतियोगितामा ६ फ्रेन्चाजी क्लबले प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँगको सहकार्यमा हुने प्रतियोगितामा सहभागी टोलीलाई एसियाका ६ देशको नामबाट नामकरण गरिएको छ। नेपाल स्टोर्म्स, इन्डियन स्टार, दुबई वरियर्स, श्रीलंकन लायन्स, बंगलादेश टाइगर्स र अपगानिस्तान बुल्स रहेका छन्।

इन्डियन स्टारको कप्तानी श्रीलंका राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका तिलकरत्ने दिलशानले गर्नेछन्। नेपाल स्टोर्म्सलाई युनाइटेड अरब इमिरेट्सका विकेटकिपर ब्याट्सम्यान स्वप्निल पाटिलले कप्तानी गर्नेछन्। बंगलादेशका अल अमिन हुसेनले बंगलादेश टाइगर्सको कप्तानी सम्हाल्नेछन् भने श्रीलंकन लायन्सको कप्तान फारभिज माहरुफले गर्नेछन्। पाकिस्तानका अलराउन्डर राना नाभेद अल हसनले अफगानिस्तान बुल्सको कप्तानी गर्नेछन्।

टोलीहरूले अन्य खेलाडी भने अक्सनबाट टुंगो लगाउनेछन्। एसियाका १ सय ५० खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गरेको आयोजकले जानए। आइतबार पत्रकार सम्मेलनमा आयोजकले १ सय ५० मध्ये सोमबार काठमाडौंमा १ सय ८ खेलाडीको मात्र अक्सन हुने जनाए। दर्ता भएका खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ।  एक टोलीमा १५ खेलाडी र ४ व्यवस्थापकीय टोली रहने आयोजकले जनायो।

अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख आरएस धन्डीवालले यो प्रतियोगिता पहिले युएईको शारजहाँमा हुने भनिए पनि पछि नेपाल सारिएको बताए। उनले थपे, ‘हामीले यो प्रतियोगिता पहिले शारजहाँमा गर्ने योजना बनाएका थियौं। तर नेपालमा क्रिकेटको लोकप्रियताले गर्दा हामीले यहाँ गर्ने निर्णय गरेका हौं।’

६ टोलीले राउन्ड रोबिनका आधारमा एकअर्काविरुद्ध खेल्नेछन्। शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। विजेताले ४० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। उपविजेताले १६ लाख तथा तेस्रो हुनेले ८ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन्। प्रत्येक खेलका म्यान अफ दी म्याच खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। म्यान अफ दी सिरिजले कार जित्नेछन्। त्यसबाहेक प्रत्येक खेलका मस्ट भ्यालुएबल खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर र उत्कृष्ट विकेटकिपर पनि पुरस्कृत हुनेछन्। प्रतियोगिता असार २० मा सकिनेछ।

प्रकाशित: २९ जेष्ठ २०७४ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App