८ वैशाख २०८१ शनिबार
खेल

'कतार  विश्वकपलाई फरक पर्दैन'

लुजाने- कतारमाथिको वर्तमान कूटनीतिक समस्याका कारण २०२२ को विश्वकपमा खराब प्रभाव नपर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन्। आइतबार प्रकाशित एक अन्तर्वार्तामा फिफा अध्यक्ष इन्फान्टिनोले कतारको वर्तमान समस्या चाँडै सुल्भि्कने विश्वास व्यक्त गरे।

'पक्कै पनि अहिले हामी कूटनीतिक समस्या झेलिरहेका छौं। तर चाँडै खाडी क्षेत्र सामान्य अवस्थामा फर्किनेमा म विश्वस्त छु,' स्विट्जरल्यान्डको ली माटिन डिमान्चे पत्रिकासँगको अन्तर्वार्तामा इन्फान्टिनोले भनेका छन्, 'फिफाले मध्यपूर्वको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको छ। हामी कतारको उच्च प्रशासनसँग नियमित सम्पर्कमा छौं।'

कतारमा विश्वकप गर्न अझै पाँच वर्षको समय रहेको बताउँदै इन्फान्टिनोले समस्या समाधानका लागि सबैखाले सहयोगका लागि फिफा र आफू तयार रहेको बताएका छन्। 'समस्या समाधान र अवस्थामा सुधारका लागि फुटबलले केही योगदान गर्न सक्ने भएमा सहयोगका लागि हामी तत्पर छौं,' फिफा सबैखाले भौगोलिक राजनीतिभन्दा टाढा रहने प्रस्टयाउँदै उनले भने।

अतिवादलाई सहयोग गरेको भन्दै साउदी अरेबियाको नेतृत्वमा बहराइन र संयुक्त अरब इमिरेट्स (युएई) लगायतका खाडी राष्ट्रले गत साता सोमबार कतारसँगका सबै कूटनीतिक सम्बन्ध तोडेका थिए। साउदी नेतृत्वका देशहरूले कूटनीतिक सम्बन्ध तोड्नुका साथै कतारसँगको जल, थल तथा हवाई नाका बन्द गरेका कारण कतार खाद्य समस्याबाट गुजि्रन सक्ने बताइएको छ। साथमा विश्वकप आयोजनाका लागि भइरहेका ठूलठूला निर्माण कार्य नाकाबन्दीबाट प्रभावित हुने अनुमान गरिएको छ। केही विज्ञहरुले अचानक आएको यो कूटनीतिक समस्याका कारण २०२२ मा कतारले गर्न लागेको विश्वकप आयोजना अभियान नराम्ररी प्रभावित हुने बताएका थिए।

२०१० मा फिफाबाट विवादास्पद रूपमा विश्वकप आयोजकका रूपमा छानिएदेखि नै अत्यन्तै नाजुक क्षेत्रमा भए पनि कतारले राजनूटनीतिक रुपमा तटस्थ र सुरक्षित देशका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको थियो। दोहा प्रशासनले कतारमा विश्वकप हुनुले सम्पूर्ण खाडी क्षेत्रलाई फाइदा पुग्ने बताउँदै आएको थियो। कतारमा हुने विश्वकपमा आफ्नो मात्र नभई सम्पूर्ण खाडी मुलुकहरुरूको स्वामित्व रहने बताउँदै स्थितिअनुकूल बनाइरहेको कतारको अभियानमा छिमेकीहरूले गरेको यो पछिल्लो प्रहारबाट समस्या आउने अनुमान छ। ताजा कूटनीतिक समस्यापछि कतारका आलोचकहरूले दोहाबाट विश्वकप आयोजनाको अधिकार खोस्नुपर्ने मुद्दा फेरि उठाउन थालेका छन्।

ताजा कूटनीतिक समस्यापछि कतारका आलोचकहरूले दोहाबाट विश्वकप आयोजनाको अधिकार खोस्नुपर्ने मुद्दा फेरि उठाउन थालेका छन्।

प्रकाशित: २९ जेष्ठ २०७४ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App