६ वैशाख २०८१ बिहीबार
अर्थ

२० वर्षभित्र थप ३९ हजार जहाज आवश्यक

सियाटल– अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आगामी २० वर्षभित्र थप ३९ हजार ६ सय २० थान नयाँ जहाज आवश्यक पर्ने बजार प्रक्षेपण गरेको छ। यति जहाजको मूल्य ५९ खर्ब अमेरिकी डलरबराबर हुने छ।

बोइङले हालै बेलायतको फार्नबोरोमा आयोजित ‘फार्नबोरो इन्टरनेसनल एयरसो’ मा उक्त बजार प्रक्षेपण सार्वजनिक गरेको थियो । आगामी २० वर्षभित्र विश्व उड्डयन बजारलाई चाहिने थप जहाजको संख्या गत वर्ष बोइङले गरेको प्रक्षेपणको दाँजोमा ४ दशमलव १ प्रतिशतले बढी हो ।

‘पछिल्ला केही गातिविधिका कारण वित्तीय बजारमा प्रभाव परे पनि हामीले उड्डयन क्षेत्रको वृद्धि दीर्घकालसम्म उल्लेख्य दरले अगाडि जाने स्पष्ट देखिरहेका छौं,’ बोइङका बजार उपाध्यक्ष ¥यान्डी टिन्सेथले भने, ‘आगामी २० वर्षभित्र व्यावसायिक उडानमा प्रयोग हुने जहाजको संख्या दुई गुणाले बढ्ने निश्चित छ । यसका साथै निरन्तर २० वर्षसम्म हवाई यात्रुको चाप वार्षिक ४ दशमलव ८ प्रतिशतले वृद्धि हुने छ ।’

‘बोइङ करेन्ट मार्केट आउटलुक’ अनुसार विश्व बजारलाई २० वर्षभित्र थप २८ हजार १ सय ४० थान ‘सिंगल–एस्ले’ जहाज चाहिने छ । यो भनेको गत वर्षभन्दा पाँच प्रतिशतले बढी हो । विश्व उड्डयन बजार वृद्धि हुनुमा विकासशील र उदीयमान बजारमा नयाँ वायुसेवा कम्पनी तथा सस्तोमा उडान गर्ने बजेट एयरलाइन्स थपिँदै जानु एवं स्थापित वायुसेवाको निरन्तर वृद्धि प्रमुख कारण हुन् ।

‘सिंगल–एस्लेको बजार केन्द्रविन्दु भनेको नयाँ बोइङ ‘७३७ म्याक्स–८’ र हालको ‘७३७–८००’ सिरिजका सिंगल–एस्ले जहाज नै हुन्,’ बजार उपाध्यक्ष टिन्सेथले भने, ‘सिंगल–एस्ले बजारमा अहिले नै यी जहाजले ७६ प्रतिशत हिस्सा ओगेटेका छन् र भविष्यको बजारमा पनि हाम्रो स्थान सुरक्षित रहेको प्रष्ट छ।’

त्यस्तै ठूलो आकार (वाइड बडी) जहाजतर्फ आगामी २० वर्षभित्र थप ९ हजार १ सय जहाज चाहिने बोइङको प्रक्षेपण छ । यसमा सन् २०२१ देखि २०२८ भित्र वाइड बडी जहाज प्रतिस्थापन दर उच्च हुने छ। यस्ता जहाजमा धेरै ठूला, मध्यम र साना वाइड बडी ७८७, ७७७ र ७७७एक्स सिरिजका जहाज पर्छन्।

बोइङले सार्वजनिक गरेको सन् २०१६–२०३५ सम्मको विश्व उड्डयन बजार प्रक्षेपणअनुसार ९० सिट तथा त्यसभन्दा तलका रिजनल जेट २ हजार ३ सय ८० थान आपूर्ति हुनेछन् । यिनको मूल्य १ खर्ब १० अर्ब डलरबराबर हुने छ । त्यसैगरी ९० देखि २ सय ३० सिट क्षमतासम्मका सिंगल–एस्ले जहाज २८ हजार १ सय ४० थान आपूर्ति हुनेछन् भने यिनको मूल्य ३० खर्ब डलरबराबर हुने छ ।

त्यस्तै २ सयदेखि ३ सय सिट क्षमतायुक्त साना वाइड बडी जहाज ५ हजार १ सय थान आपूर्ति हुने छ । जसको मूल्य १३ खर्ब ५० अर्ब डलरबराबर हुने छ । ३ सयदेखि ४ सय सिट क्षमताका मध्यम आकारका वाइड बडी जहाज भने ३ हजार ४ सय ७० थान आपूर्ति हुने छ । यिनको मूल्य १२ खर्ब ५० अर्ब डलरबराबर हुने छ । त्यसैगरी ४ सय सिट तथा त्यसभन्दा माथिका ठूला वाइड बडी जहाज ५ सय ३० थान आपूर्ति हुने छ । जसको मूल्य २ खर्ब २० अर्ब डलरबराबर हुने छ ।

बोइङको प्रक्षेपणले एसियाली उड्डयन बजारले कुल बजारको नेतृत्व गर्ने र त्यसमा पनि चीन यसमा अगुवा हुने उल्लेख गरेको छ । आगामी २० वर्षभित्र एसियालाई थप १५ हजार १ सय ३० थान, उत्तर अमेरिका ८ हजार ३स् य ३०, युरोप ७ हजार ५ सय ७०, मध्यपूर्व ३ हजार ३ सय १०, ल्याटिन अमेरिका २ हजार ९ सय ६०, अफ्रिका १ हजार १ सय ५० र कमनवेल्थ स्वतन्त्र राज्यहरूलाई थप १ हजार १स य ७० थान जहाज आवश्यक पर्ने छ।

‘चीनको बढ्दो मध्यम वर्गीय जनसंख्या, नयाँ भिसा नीति तथा आफ्नो आर्थिक वृद्धिको अन्तर्निहित शक्तिले निरन्तरता पाइरहने हाम्रो अनुमान छ,’ बोइङका बजार उपाध्यक्ष्ँ टिन्सेथले भने, ‘यसले चिनियाँ उड्डयन क्षेत्र थप विस्तार हुँदै जाने छ भने हाम्रा ७७७, ७८७ र ७४७–८ सिरिजका जहाज यसमा उपयुक्त माध्यम हुनेछन् जसले विश्वव्यापीकरणमा चिनियाँ वायुसेवा कम्पनीलाई उल्लेख्य सहयोग गर्नेछन्।’

 

प्रकाशित: ५ श्रावण २०७३ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App