coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फोहोरको डङगुरमा खुर्कोट बजार

फोहोरै फोहोरले भरिएको सिन्धुलीको खुर्कोट बजार ।  तस्बिर :अनिल भण्डारी

सिन्धुली – मध्येपहाडी लोकमार्गमा बन्दै गरेको नमुना शहर खुर्कोट बजार फोहोरले भरिएको छ । सरकारले घोषणा गरेको नेपालकै १० नमूना शहर मध्ये एक शहरको रुपमा विस्तार भइरहेको यहाँको खुर्कोट बजार शहरीकरणसँगै फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्न थालेको छ। 

बिपी राजमार्ग मध्यपहाडी राजमार्ग र खुर्कोट मन्थली सडकको संगमस्थल रहेको खुर्कोट बजार पछिल्लो समय तिब्र शहरीकरण हुदै गरेको क्षेत्रभित्र पर्छ । शहरीकरण बढेसँगै त्यही शहरबाट निस्केको फोहोर व्यवस्थापन नहुँदा बजार तथा सडक फहोरले दिनदिनै अवस्तब्यस्त बन्दै गएको हो । स्थानीय तह निर्धारण भएसँगै साविकको भिमेश्वर गाविस गोलञ्जोर गाँउपालिका ७ मा पर्ने खुर्कोट बजारलाई नेपालका १० नमुना शहर मध्येको एक बनाउने सरकारको योजना अनुरुप यहाँपनि धमाधम बजार विस्तार भइरहेको छ । 

त्यही बजारबाट निस्केको फोहोर व्यवस्थापन हुन नसक्दा बजार दुर्गन्धित हुँदै गएको खुर्कोट हुँदै यात्रा गर्ने यात्रु बताउँछन् । काठमाडौसँग पूर्वमा तराई पहाड तथा मध्येपहाडी जिल्लाहरुमा जोड्ने गरी निर्माण भएको विपी राजमार्ग तथा मध्येपहाडी राजमार्गमा रहेको खुर्कोट बजारमा हाल जताततै फोहोरै फोहोरको डङ्गुर देखिने भएको छ । फोहोरले बजारनै कुरुप बन्दै गएको हो ।  सडक आसपास खुलेका होटल तथा रेष्टुरेन्ट अन्य बजारीकरणको फोहोरलाई उचित व्यवस्थापन गर्न नसक्दा फोहोरले शहर भरिएको स्थानीय स्वयम् बताउँछन् । 

शहरी विकास तथा भवन निर्माण विभागले नमूना शहर निर्माणको लागि धमाधम काम अगाडि बढाइरहेको भएपनि हालसम्म फोहोर व्यवस्थापन नहुँदा होटल तथा पसलबाट निस्कने फोहोर सडक आसपासमै थुप्रिएको छ । बजारबाट निस्कने फोहोरमैला र अस्थव्यस्तालाई व्यवस्थित गर्न बजार व्यवस्थापन समिति समेत गठन गरिएको भए पनि हालसम्म उचित व्यवस्थापन हुन सकेको छैन् । बजारमा जथाभावी फालिएको विस्कुट, चाउचाउको खोल, पानीका रित्ता बोतल, प्लास्टिकका झोला लगायत विस्कुन सुकाएझै देखिने फोहोरले बजारको स्वरुप नै बिगारेको छ । सडकका नालामा ढल गन्हाएर बजारमा बस्न समेत गाह्रो भएको छ, स्थानीय भोला न्यौपानेले भने शहरमा जताततै फोहोर भएको छ । फोहोरले रोग फैलन सक्ने खतरा रहेको स्थानीयको भनाई छ । 

उसै त गर्मीको समय नालीको ढलको गन्धले रोग ब्यादी फैलने त्यतिकै डर छ, अर्का स्थानीय दिलबहादुर बस्नेतले भने–पानी पर्दा नालीमा जम्मा भएको दुर्गन्धित फाहोर बजार भरी पुग्छ अनि हावा चल्दा प्लाष्टिकजन्य फोहोरहरु उडाएर अर्को ठाउँमा थुप्रिदा सिंगो बजार नै प्रदुषित बनाउने गरेको छ । व्यवस्थापन समितिले बजारको फोहार व्यवस्थापन गर्न चासो नदेखाएको स्थानीय व्यापारीको आरोप छ । तर, व्यस्थापन समितिको भने बजारबासीको लापरवाही र चेतनाको अभावको कारण व्यवस्थापनमा समस्या आएको गुनासो छ । फोहोर व्यवस्थापन गर्न प्रयास गरिरहेका छौं तर डम्पिङ साइटको अभाव हुँदा व्यवस्थापन गर्न सकिएको छैन समितिका अध्यक्ष रामकुमार श्रेष्ठले भने । नव निर्वाचित वडा अध्यक्ष रोमबहादुर देवकोटा (सुवास) ले फोहोर व्यवस्थापनको काम आफ्नो पहिलो प्राथमिकता भएको भन्दै डेढदेखि दुई महिना भित्र दीगो व्यवस्थापन गरिसक्ने जनाए । 

नमुना शहरलाई ६ सय ७८ रोपनी जग्गा
नयाँ नमुना शहर विस्तार गर्न  ६ सय ७८ रोपनी जग्गा रोक्का गरि प्लानिङ्गको काम गर्न थालिएको छ । खुर्कोटमा हाल बजार क्षेत्र अस्पताल, बैंक तथा वित्तीय संस्था, विद्यालय, इलाका प्रहरी कार्यालय लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाहरु समेत रहेका छन् । 

विस्तारको क्रममा रहेको खुर्कोट बजारमा नयाँ शहर आयोजनाले खुर्कोटलाई नमूना शहरको रुपमा विकास गर्न कार्यालय नै स्थापना गरेर उक्त जग्गा रोक्का गरी शहर विस्तारको काम अगाडि बढाएको जनाएको छ । आयोजनाले अति आवश्यक भौतिक पूर्वाधार सडक विस्तार एवं स्तरोन्नती, एकीकृत सरकारी कार्यालय भवन, खेलमैदान स्तरोन्नती, सार्वजनिक मञ्च, पार्क लगायतका संरचनाहरु निर्माण गरिरहेको छ ।

 

प्रकाशित: २८ जेष्ठ २०७४ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App