coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

ऋषिलाई जिउन सिकाउने सरीता

–अनिल यादव
आजभन्दा २० वर्षअघि । काठमाडौँ, नयाँ बानेश्वरको एउटा रेस्टुरेन्टमा पहिलोपल्ट डेटिङ बस्दै थिए, अभिनेत्री सरीता लामिछाने र निर्देशक ऋषि लामिछाने । दुवै निकै खुशी थिए । जब ऋषि सरीतालाई ‘एकछिन है’ भनेर शौचालय गए, त्यो खुशी पनि त्यतै हराएझैँ भयो । ‘फर्कंदा त ऋषिको चम्किलो मुहार एक्कासि त्रसित देखिन्थ्यो,  ठूलै अपराध गरेर आएजस्तो,’ सरीताले सम्झिइन् । ‘शौचालयबाट फर्किेन क्रममा मेरो दाइको साथी भेटिनुभयो,’ ऋषिले डराउनुको कारण सुनाए, ‘उहाँले मलाई गाली गर्दै मेरैअघि घरमा दाइलाई फोन गरिदिनुभयो र ‘तेरो भाइ बिग्रियो, यहाँ एउटा केटी लिएर रेस्टुरेन्टमा आ’को छ’ भनेर सुनाइदिनुभयो, म डरले थरथर भएँ ।’  

यो घटना सरीता र ऋषि कहिल्यै नबिर्सने बताउँछन् । ‘हाम्रो फस्ट डेटिङ नै लास्ट डेटिङ भयो । त्यसपछि त रेस्टुरेन्टमा त्यसरी भेट्ने आँटै आएन,’ ऋषिले भने ।

त्यो घटनाको केही महिनापछि आफूहरूको बिहे गरेको सरीताले सुनाइन् । वैशाख ४ गते मात्र उनीहरूले बिहे भएको २० औँ वर्षगाँठ मनाए ।

थाहै नपाई प्रेम
ऋषिलाई पहिलोपल्ट देख्दा सरीता १३ वर्षकी थिइन् । उनलाई याद छ– ऋषिलाई भेट्न उनी आफ्नो पर्ने दिदीसँग साथी गएकी थिइन् । ‘मेरो दिदी र उहाँ सँगै पढ्नुहुन्थ्यो, उहाँहरूको भेट हुने क्रममा हामी नजिकियौँ,’ सरीताले भनिन् । सरीताकै कुरामा ऋषिले थपे, ‘हाम्रो एउटा पढन्ते ग्रुप थियो । सँगै भेला भएर पढ्थ्यौँ । कहिले उनको दिदी सरीतालाई लिएर आउँथिन्, कहिले हामी उनको दिदीको घर जान्थ्यौँ जहाँ उनी भेटिन्थिन् ।’

भेट भएको पाँच वर्षसम्म उनीहरूले एकअर्कालाई प्रेम प्रस्ताव राखेनन् । न प्रेम महसुस नै गरेछन् । ‘एकदमै शालीन लाग्थिन् उनी,’ ऋषिले सरीता मन पर्नु कारण खोले, ‘एकदमै बेमतलबी । न खुलेर बोल्ने, न कसैको मतलब गर्ने । आफ्नो बाटोमा मात्र हिँड्ने । उनको त्यो स्वभावले लोभ्याउँथ्यो । कता–कता माया गाढा रैछ । तैपनि व्यक्त गरिएन ।’

भेट भएको छ वर्षपछि उनीहरूको बिहे भएको रहेछ । उनीहरूबीच बाक्लो भेटघाट भएको चाहिँ एक वर्ष मात्र रे ! तर सरीतालाई अहिले लाग्छ– उनीहरूबीच सुरुदेखि नै अदृश्य प्रेम थियो । भनिन्, ‘हामी भेटेदेखि नै प्रेममा रहेछौँ । एउटा अनकन्डिसनल लभ ।’

बिहेपछि कलाकार  
आजभन्दा १५ वर्षअघि मनोरञ्जन दुनियाँलाई हेर्ने नजर गतिलो थिएन । आफ्नो सन्तान, आफ्नो श्रीमतीलाई कलाकार बनाउनेबारे कमैले सोच्थेँ । त्यो कमै मध्येमा पर्छन्– ऋषि । ऋषिसँग बिहे गरेपछि नै सरीताले अभिनय थालेकी हुन् । श्रीमान्कै मोटिभेसनले आफू कलाकार भएको उनी बताउँछिन् । ‘म त न कहिले बच्चामा नाच्थेँ, न चञ्चले नै थिएँ,’ सरीताले सुनाइन्, ‘श्रीमान्कै उत्प्रेरणाले मलाई कलाकार बनायो । उनले नै मलाई कलाकार बन्ने प्रेरणा दिए ।’  यता ऋषि आफूले फिल्म क्षेत्रलाई सधैँ सुन्दर देखेको बताए । ‘म यो क्षेत्रलाई सधैँ सुन्दर देख्थेँ,’ उनले भने, ‘आफू राम्रो भयो भने सबै राम्रो हुन्छ भन्ने थाहा थियो । त्यसैले निर्धक्कसँग श्रीमतीलाई कलाकार बन्न प्रेरित गरेँ ।’

सरीताको संयोग
नेपाली फिल्म क्षेत्रमा ऋषि हिरो बन्ने लक्ष्यले छिरेका थिएँ । केही भिडियो फिल्म र टेलिसिरियलमा उनले अभिनय पनि गरे । तर, बिहेपछि उनको बाटो मोडियो । ‘परिवार पाल्नुपर्ने भयो,’ ऋषिले भने, ‘त्यसैले हिरो बन्ने सपना त्यागियो । पत्रकारिता नै पढेको भएर हातमुख जोर्नलाई पत्रकारिता गर्थें, मुख्य सहायक निर्देशकका रूपमा पनि काम गर्न थालेँ ।’

सरीता–ऋषि आफूलाई बफादार र भावुक जोडी भन्छन् । सफल दाम्पत्यसम्बन्धी उनीहरूको एउटै सूत्र छ– निःशर्त प्रेम र पाइला–पाइलामा सहकार्य ।

त्यतिबेला सरीता एउटा आईएनजीओमा काम गर्थिन् । विविध कारणले उनले त्यो जागिर छाडिन् । आज उनीहरूसँग राजधानीमा आफ्नै घर छ । त्यो बेला उनीहरू डेरामा बस्थे । ‘हामीसँग छ–सात तोला सुनबाहेक सम्पत्तिका नाममा केही थिएन,’ सरीताले सम्झिइन्, ‘त्यही बेला एकजना दलालले नेपाल टेलिकममा जागिर खुवाउने सपना देखाएर हामीसँग ९० हजार रुपैयाँ लुट्यो । पछि थाहा भयो थुप्रै मान्छेको गरेर करिब २६ लाख पैसा ठगेर ऊ फरार भएछ । त्यो घटनाले हामीलाई खूब पिरोल्यो । हामी त जिरोमा पुगेका थियौँ ।’

त्यहीबेला निर्देशक तुलसी घिमिरे ‘मुक्ति’ नामक सिरियल बनाउने तयारीमा रहेछन् । सिरियलका लागि एउटा क्यारेक्टरको खोजी भइरहेको रहेछ । ऋषिले सरीतालाई अभिनयका लागि पहल गरेछन् । निर्देशक तुलसी घिमिरेबारे सरीताले सानैदेखि सुनेकी थिइन् । उनलाई सम्झना थियो– उनी सानो छँदा आमाको काखमा बसेर ‘बाँसुरी’ फिल्म हेरेको । त्यसैले उनलाई एकपल्ट भेट्ने चाहना थियो । सिरियलका प्रोडक्सन म्यानेजर अरुण रेग्मी उनलाई तुलसीको घर लिएर गएँ । पुग्नासाथ तुलसीले सरीतालाई उनको नाम सोधे । नाम भन्नासाथ तुलसी र उनकी श्रीमती सरीता दुवै एकअर्काको मुखामुख गर्दै गलल हाँसे । ‘मेरो नाम त्यस्तो हाँसउठ्दो छ र ?’ सरीताले मनमनै प्रश्न गरिन् । पछि रहस्य खुल्यो– सिरियलमा खोजिएको पात्रको नाम पनि सरीता नै थियो । ‘यसलाई म मेरो जीवनको एकदमै मीठो संयोग मान्छु,’ सरीताले भनिन् ।

श्रीमती ‘हिट’, श्रीमान् ‘फ्लप’
‘मुक्ति’ सिरियलमा गरेको अभिनयका कारण सरीताले चौतर्फी तारिफ बटुलिन् । धेरैले उनलाई फिल्म खेलाउने प्रस्ताव राखे । तैपनि, उनी राजी थिइनन् ।  ‘१८ वटा फिल्म त मैले लगातार रिजेक्ट गरेछु,’ उनले सम्झिइन् । फिल्म खेल्नको साटो उनले एउटा टेलिभिजनमा जागिर थालेकी थिइन् । सरीतालाई मनाउनका लागि धेरैजना मेकर्स ऋषिलाई आग्रह गर्थे । ‘सबैले मलाई भाउजुलाई खेलाउनुप¥यो भन्थे, त्यसैले कतिपय फिल्मको एग्रिमेन्ट पेपरमा मै साइन गर्दिन्थेँ अनि उसलाई खेल्न आग्रह गर्थे,’ ऋषिले भने । सरीताको पहिलो फिल्म ‘सन्तानको माया’ हो । उनको पहिलो फिल्म नै हिट भयो । यता ऋषिले पहिलोपल्ट निर्देशन गरेको फिल्म ‘कहीँ मिलन कहीँ बिछोड’ चाहिँ फ्लप भयो । ऋषिले ठट्टैठट्टामा भने, ‘पहिलो काममै श्रीमती हिट भइन्, म चाहिँ फ्लप । सरीताले त्यसपछि पछाडि फर्केर हेर्नुपरेन ।’

पर्दामा श्रीमान्–श्रीमती
फिल्म ‘सन्तानको माया’ हिट भएपछि सरीताले पाँच वर्ष फिल्ममा काम गरिनन् । एकैपल्ट ‘श्रीमान्–श्रीमती’मा काम गरिन् । यो फिल्मको नाम पनि ‘श्रीमान्–श्रीमती’ । फिल्ममा पनि श्रीमान्–श्रीमती दुवैले काम गरे । ऋषि निर्देशक र सरीता अभिनेत्री, फरक यति मात्र थियो । ‘हामीले यसअघि ‘परिचय’ भन्ने सिरियलमा काम गरेका थियौँ, त्यसैले सजिलै भएको थियो,’ सरीताले भनिन् ।

सहकार्यमा रमाएको जोडी
घरको कामदेखि बाहिरसम्म सरीता र ऋषि सहकार्य गरिरहेका हुन्छन् । सरीतालाई नदेखाई ऋषि स्क्रिप्ट फाइनल गर्दैनन् । ‘म प्रायः नारीप्रधान सिनेमा बनाउँछु,’ ऋषिले भने, ‘त्यसैले सरीतासँग सल्लाह माग्छु । उनले पढेपछि स्क्रिप्टमा महिलाको दृष्टिकोण आउँछ । उनले यो गलत भयो, यो सही भयो भनेर सुझाउँछिन् ।’ ऋषिको कुरामा सरीताले सहमति जनाइन् । भनिन्, ‘हो म उहाँले स्क्रिप्टमा महिलालाई डोमिनेट गरिरहनुभएको छ या गलत ढंगले प्रस्तुत गर्दै हुनुहुन्छ भने  सच्याउन सुझाउछु ।’ त्यस्तै, सरीतालाई पनि अभिनयका मामिलामा ऋषि सुझाव दिइरहन्छन् । ‘मैले गर्ने चरित्रका विषयमा पनि उहाँसँग सल्लाह लिन्छु,’ सरीताले भनिन्, ‘उहाँले यो सिनमा यसरी एक्टिङ गर्नुपर्छ, डारेक्टरले यसरी गराउन सक्छ भन्दै टिप्स दिनुहुन्छ । हाम्रो त जिन्दगी नै सहकार्यमा चलिरहेको छ ।’

ऋषिलाई जिउन सिकाउने सरीता   
ऋषिलाई सरीताको के बानी असाध्यै मन पर्छ ? ‘सरल, अनुशासित र इमानदार छिन् । घरमा असल पत्नी मात्र नभएर असल आमा र असल बुहारी पनि भएकी छिन्,’ ऋषिले भने, ‘खासमा भन्नुपर्दा मैले उनीबाट धेरै कुरा सिकिरहेको छु । उनीसँग सिक्ने कुरा धेरै छन् । खासमा मलाई जिउन सिकाउने नै उनी हुन् ।’ यता सरीताले ऋषिको उस्तै प्रशंसा गरिन् । भनिन्, ‘हाँसिरहने र सम्झाउने बानी मन पर्छ । सबैलाई सम्मान गर्ने स्वभाव राम्रो लाग्छ ।’ ऋषिको खराब बानी चाहिँ के हो त ? ‘कहिलेकाहीँ रक्सी खानुहुन्छ, रक्सी मुखैमा नहालिदिए हुन्थ्यो भन्ने लाग्छ मलाई,’ ऋषिको मुख हेर्दै सरीताले भनिन् । ‘कहिलेकाहीँ त के हुन्छ हौ ?’ ऋषिको जवाफ थियो । ऋषि र सरीताको एउटा छोरी छिन्, समृद्धि । बिहे गरेको नौ वर्षपछि उनीहरूले सन्तान जन्माएका हुन् ।

बफादार जोडी
सरीता र ऋषि सम्बन्धलाई बलियो बनाउने आधार समझदारी र विश्वास हो भन्ने ठान्छन् । ‘जीवनमा बढी महत्वाकांक्षी हुनुहुँदैन,’ सरीताले भनिन्, ‘आफ्नो क्षमताअनुसार चल्नुपर्छ । हामी दुवैले देख्ने सपना सधैँ एउटै भयो । त्यसैले हाम्रो जीवन सुखी छ । ’ दुवै आफूहरूलाई ‘बफादार जोडी’ ठान्छन् । ‘हामी देश, समाज र संस्कारप्रति बफादार रहेको जोडी हौँ,’ ऋषिले भने, ‘हामी दुवै भावनात्मक छौँ । कसैको पीडामा रुन्छौँ । स–सानो कुरामा खुशी खोजिरहेका हुन्छौँ ।’ ऋषिकै कुरामा सरीताले थपिन्, ‘हामी चेतनशील जोडी हौँ ।’

तस्बिरः रुकेश श्रेष्ठ

(नागरिक परिवारबाट साभार)

 

 

प्रकाशित: २८ जेष्ठ २०७४ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App