पेरिस- जेलेना ओस्टापेन्कोले तेस्रो वरीयताकी सिमोना हालेपलाई स्तब्ध बनाउँदै फ्रेन्च ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन्। यससँगै उनी ग्रान्ड स्लाम उपाधि जित्ने लाट्भियाकी पहिलो खेलाडी बनेकी छिन्।
बिनावरीयताका साथ प्रतियोगितामा सहभागी भएकी ओस्टापेन्कोले पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै पहिलो ग्रान्ड स्लाम उपाधि उचालेकी छिन्। ओस्टापेन्कोले हालेपलाई ४–६, ६–४, ६–३ को सेटमा हराएकी थिइन्। यससँगै ओस्टापेन्को १९३३ पछि विनावरीयता फ्रेन्च ओपन उपाधि जित्ने पहिलो खेलाडी बनेकी छिन्।
‘मलाई विश्वास नै भइरहेको छैन कि मैले २० वर्षमै फ्रेन्च ओपनको उपाधि जितंे। मलाई साँच्चीकै अनौठो लागिरहेको छ,’ ओस्टापेन्कोले भनिन्, ‘मलाई यो प्रतियोगिताको इतिहास राम्रो थाहा छ। १९९७ मा म जन्मिँदा गुस्ताभो कुइर्टेन यो प्रतियोगिताको उपाधि जित्ने पहिलो खेलाडी बनेका थिए। मसँग व्यक्त गर्ने शब्द नै छैन। बच्चादेखिको मेरो सपना पूरा भएको छ।’
दुई दिनअघि २०औं जन्मोत्वस मनाउँदा ओस्टापेन्को ४७औं वरीयतामा थिइन्। पहिलो सेट ६–४ ले जितेकी हालेपले दोस्रो सेटमा पनि ३–० को अग्रता लिएकी थिइन्। तर ओस्टापेन्कोले उत्कृष्ट पुनरागमन जनाएपछि रोमानियाकी २५ वर्षीया हालेप स्तब्ध बनेकी थिइन्। ओस्टापेन्कोको यो आठौं ग्रान्ड स्लाम प्रतियोगिता हो। उनी अहिलेसम्म ग्रान्ड स्लामको तेस्रो चरण पर्न सफल भएकी थिइनन्।
‘म निराश छु तर जेलेनालाई बधाई। तिमी उत्कृष्ट विजेता हौ,’ २०१४ की उपविजेता हालेपले भनिन्, ‘मेरो पेटमा केही समस्या थियो। तर एक दिन म यो प्रतियोगिताको उपाधि जित्न चाहन्छु। जुन मेरो सपना हो।’
पुरुषतर्फ नौ पटक फ्रेन्च ओपनको उपाधि जितिसकेका राफेल नाडालले कीर्तिमानी दशौं उपाधिका लागि स्टान वावरिन्कासँग प्रतिस्पर्धा गर्ने भएका छन्।
नाडालले शुक्रबार राति छैटौं वरीयताप्राप्त अस्ट्रियाका डोमिनिक थिएमलाई ६–३, ६–४, ६–० ले हराउँदै फाइनलमा स्थान बनाएका थिए। २०१४ पछि नाडालले फ्रेन्च ओपनको फाइनलमा स्थान बनाएको यो पहिलो हो। शुक्रबारै भएको पहिलो सेमिफाइनलमा वावरिन्काले विश्व नम्बर एक एन्डी मर्रेलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए।
‘यो ठूलो प्रतियोगिताका सबै खेलमा मैले राम्रो खेल्दै खाएको थिएँ। आज पनि त्योभन्दा फरक रहेन,’ नाडालले भने, ‘म सुरुमा केही अत्तालिएको थिएँ। तर पछि राम्रो गरें। डोमिनिकले अरू दिनमा भन्दा आज धेरै गल्ती गरेको सत्य हो।’
नाडालले आइतबार वावरिन्कालाई पराजित गरे एउटै ग्रान्ड स्लाम प्रतियोगितामा १० पटक उपाधि जित्ने पहिलो खेलाडी बन्नेछन्। वावरिन्कासँग नाडालको विगत पनि राम्रो छ। उनी १५–३ को स्थितिमा छन्।
‘मैले सधैँ भन्ने गरेको छु। ९ वा १० मा दश नै ठूलो छ। १० राम्रो नम्बर हो भने ९ मेरो मन पर्ने अंक हो। तर यदि मैले जितें भने दशौं पटक फ्रेन्च ओपनको उपाधि जित्नेछु,’ नाडालले भने। नाडाल तीन वर्षअघि अस्ट्रेलियन ओपनमा वावरिन्कासँग पराजित भएका थिए।
‘यो प्रतियोगितामा राम्रो गरिरहेको छु तर वावरिन्काले अविश्वसनीय प्रदर्शन गरिरहेका छन्,’ नाडालले थपे, ‘यो फाइनल निकै कठिन हुनेछ। त्यसैले मैले अहिलेसम्मकै उच्च प्रदर्शन गर्नु आवश्यक छ।’
प्रकाशित: २८ जेष्ठ २०७४ ०४:२४ आइतबार