७ वैशाख २०८१ शुक्रबार
राजनीति

जबरजस्ती चुनाव गरे मुठभेड

राजविराज- राष्ट्रिय जनता पार्टीका नेताले जबर्जस्ती चुनाव गराउन खोजे मुठभेड हुने चेतावनी दिएका छन्। शुक्रबार राजविराजमा आयोजित विरोध सभामा नेताहरुले माग सम्बोधन नभए असार १४ मा कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिए।

नेता राजेन्द्र महतोले सरकार तथा तीन ठूला दल मुलुकलाई ठूलो द्वन्द्वमा धकेल्न उद्यत रहेको बताउँदै जबरजस्ती चुनाव गराउन खोजे मधेस मुठभेड गर्न तयार रहेको चेतावनी दिए। 'हामीले स्पष्ट पारिसकेका छौं, पहिला संविधान संशोधन गर, त्यसपछि मात्रै चुनावको कुरा गरे हुन्छ', महतोले भने, 'हामी हदैसम्म लचक भएर प्रस्तुत भइरहेका छौं, हाम्रो लचकतालाई कमजोरी ठान्ने भुल नगरियोस्।'

कागजी सहमति र सम्झौताकोे नाममा पटकपटक धोका भएको आरोप लगाउँदैै महतोले अबको आन्दोलन पछिल्ला सहमति र सम्झौैता कार्यान्वयनका लागि मात्रैै रहेको स्पष्ट पारे। 'अब कागजी सहमतिले हुँदैन, कागजमा त थुप्रै सहमति गरिसक्यौं, अबकोे पालो ती सहमति कार्यान्वयनकोे हो', महतोले भने, 'मधेससँग उधारोमा गरिएका सहमति पालना नभएसम्म चुनावको परिकल्पना नै नगरे हुन्छ।'

नेता राजकिशोर यादवले राजपा एउटा पार्टीमात्रै नभएर मुलुकको एउटा पक्ष रहेको दाबी गरे। 'एक पक्षलाई बाइपास गरी कुनै पनि राजनीतिक समस्या समाधान हुन सक्दैन', उनले भने, 'राजपाले उठाएका माग सम्बोधन नगरी असार १४ वा अन्य कुनै पनि मितिमा कुनैै पनि निर्वाचन सम्भव हुँदैन।' उनले थपे, 'मधेस कसैको पेवा होइन, अधिकार प्राप्तिको आन्दोलनमा सहादतसम्म दिन सक्ने आँट राख्नेले मधेसबाट राज्य शत्तालाई लखेट्ने हैसियत पनि राख्छन्।' एकपक्षीय चुनाव गराउने भुल नगर्न सरकार तथा प्रमुख राजनीतिक दललाई सुझाव दिँदै यादवले जबरजस्ती चुनाव गराउन खोजिए मुलुकमा नयाँ इतिहास रचना हुन सक्ने चेतावनी दिए।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति आक्रामक रुपमा प्रस्तुत भएका राजपा नेता यादवले उपेन्द्रको चरित्र हिन्दी सिनेमा 'बाहुबली' को 'कटप्पा' जस्तै रहेेकोे बताए। 'उपेेन्द्र यादवले एकपटक होइन, पटकपटक मधेससँग गद्दारी गरेका छन्', उनले भने, 'उपेन्द्रजी साँच्चिकै इमानदार भएको भए ०६३ मै मधेसी अधिकारसम्पन्न हुन्थे, सयौं मधेसी सपुतले ज्यान गुमाउने अवस्था आउने थिएन।'

संविधान संशोधन, मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका मध्ये सहिद घोषणा हुन बाँकी रहेकालाई सहिद घोषणा, आन्दोलनका क्रममा भएको नोक्सानीको क्षतिपूर्ति, आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता, जनसंख्याका आधारमा स्थानीय तह निर्धारणलगायतका माग सम्बोधन भए राजपाले चुनावको विरोध नगर्ने पार्टीका महासचिव मनिष सुमनले बताए।

विरोध सभामा पार्टीका उपाध्यक्ष शेखरकुमार सिंह, नवलकिशोर साह, मृगेन्द्रकुमार सिंह यादव, केन्द्रीय नेता जयप्रकाश ठाकुर, पुष्पा ठाकुरसहितले समेत माग सम्बोधन नभएसम्म राजपा चुनावमा सहभागी नहुने र हुन पनि नदिने बताए।

प्रकाशित: २८ जेष्ठ २०७४ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App