coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाँकेमा कांग्रेस उम्मेदवारको टुंगो

नेपालगन्ज- लामो समयको प्रतीक्षापछि नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बाँकेमा उम्मेदवार टुंगो लगाएको छ। सो पार्टीले नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा डाक्टर सुरेशकुमार कनोडिया, उपमेयरमा उमा थापामगर, कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा भानुभक्त भट्टराई र सन्जुकुमारी थारूलाई उम्मेदवार तय गरेको छ।

यसैगरी राप्तीसोनारी गाउँपालिकाको प्रमुखमा लाहुराम थारू र उपप्रमुखमा धनीकुमारी खत्री, बैजनाथ गाउँपालिकामा देवबहादुर खत्री र भावना चौधरी, खजुरा गाउँपालिकामा नक्की खाँ र दीपा आलेमगर, नरैनापुरमा रामचन्द्र मौर्य र अतिकुल निसा, डुडुवा गाउँपालिकामा नरेन्द्र चौधरी र सायदा बानो तथा जानकी गाउँपालिकामा छब्बन खाँ र रामप्यारी यादवलाई कांग्रेसले उम्मेदवार बनाएको छ।

क्षेत्रीय कार्यसमितिको सिफारिसमा आएका नाम जिल्लाले आफ्नो रायसहित केन्द्रमा सिफारिस गरेको थियो। सोही आधारमा केन्द्रीय समितिले उम्मेदवारको टुंगो लगाएको कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले जानकारी दिइन््। ‘पार्टी केन्द्रीय कार्यालयबाट आधिकारिक पत्र आएको त छैन तर पनि केन्द्रीय कार्यालयका मुख्य सचिवजीले मलाई टेलिफोनमा उम्मेदवारको नाम टिपाउनुभएको छ,’ उनले भनिन्। उम्मेदवार टुंगो लागेपछि पार्टीले अब चुनाव प्रचार अभियान अगाडि बढाउने सभापति कोइरालाले बताइन्।

आकांक्षी धेरै देखिएपछि कांग्रेसलाई उम्मेदवार टुंगो लगाउन सकस परेको थियो। उम्मेदवारको टुंगो नलाग्दा कांग्रेसले जिल्लामा चुनावी अभियान तीव्र पार्न सकेको थिएन।

टिकटको चर्चा नहुँदै मतदाता भेटघाट तथा घरदैलोमा व्यस्त भएका नेता कनोडियाले पार्टीले उम्मेदवार टुंगो लगाइसकेपछि एक खालको उत्साह थपिएको बताए। ‘पार्टीले प्रमुख पदमा उम्मेदवार टुंगो लगायो, सबैको समन्वयमा चुनावी अभियानलाई व्यापक बनाउँछौं,’ उनले भने। पार्टीका नेता, कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संगठनसँग समन्वय गरेर अगाडि बढ्ने कनोडियाले बताए।

जिल्लामा एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतले यसअघि नै उम्मेदवार टुंगो लगाएर प्रचारप्रसारमा जुटिसकेका छन्।

प्रकाशित: २८ जेष्ठ २०७४ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App