coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आपसी मनमुटावबिनै चुनावी प्रतिस्पर्धा

बर्दिया- यसअघि दुईपटकसम्म एमालेबाट टिकट पाएर चुनाव लड्दा खैरीचन्दनपुरका ८४ वर्षीय देवीप्रसाद घिमिरेले छिमेकीमा समेत वैरभाव देखेका थिए। त्यति बेला चुनावलाई लिएर हुने झगडाले उनलाई अत्याएको समेत थियो। छिमेकमै यो पार्टी र त्यो पार्टी भन्दै पानी बाराबार भएको उनलाई स्मरण छ। 'वामपन्थीले कांग्रेस र कांग्रेसले वामपन्थी देखी सहँदैनथे', उनले विगत सम्झे।

कतिपय ठाउँमा चुनाव प्रचारप्रसारपछि फरक पार्टीका उम्मेदवार एकै थलोमा बसेर जितहारको आकलनसमेत हुने गरेको भेटिएको छ।

२० वर्षपछि हुन थालेको यसपटकको स्थानीय निर्वाचनमा भने वातावरण फेरिएको उनले सुनाए। 'कतै झैझगडा भएको सुनिएको छैन', उनले भने, 'चुनावले नाता जोडेको छ, छिमेकमा फुट ल्याएको छैन।' छिमेकमा को राम्रो र कसलाई जिताउन ठीक हुने भन्ने विषयले प्राथमिकता पाएकाले स्थानीय निर्वाचन रोमाञ्चक भएको उनी ठान्छन्। यो पार्टी, त्यो पार्टीभन्दा असल नेतृत्व खोजीमा मतदाता रहेको उनको बुझाइ छ।

२०६४ मा पहिलो संविधानसभा चुनावमा माओवादीको दबदबा हुँदा छिटपुट घटना भए। दोस्रो संविधानसभादेखि फेरिएका मतदाता र उम्मेदवार स्थानीय निर्वाचनसम्म आइपुग्दा स्वस्थ प्रतिस्पर्धामा उत्रिएका छन्। यसले प्रहरीलाई समेत तनाव कम भएको छ। चुनावकै कारण झैझगडा भएको हालसम्म नभेटिएको एसपी भरतबहादुर बोहराले वताए। 'सबै पार्टीले आआफ्नै तरिकाले प्रचारप्रसारमा व्यस्त छन्, अप्रिय घटना भएको छैन', उनले भने।

'पहिले अशिक्षाका कारणले जनता आपसमा भिड्थे', घिमिरेले  भने, 'जुन पार्टीका समर्थक भए पनि जनता विकासको पक्षमा छन्, त्यसैले गर्दा कसैबाट प्रयोग भएका छैनन्।'

कतिपय ठाउँमा चुनाव प्रचारप्रसारपछि फरक पार्टीका उम्मेदवार एकै थलोमा बसेर जितहारको आकलनसमेत हुने गरेको भेटिएको छ। शुक्रबार गुलरिया हुलाक चोकमा कांग्रेसका ६ नम्बर वडाध्यक्ष उम्मेदवार निरज शर्मा, वडा नं. ७ का  एमालेका उम्मेदवार साहबुद्दिन शेष र ८ नम्बर वडाका नयाँ शक्तिका उम्मेदवार नारायण गुरुङ एकै ठाउँमा चुनाव परिणामबारे अडकलबाजी गर्दै थिए।

तीनपटक मिति सर्दा पनि गाउँ र नगरमा चुनावी चहलपहलको रौनक उत्तिकै छ। स्थानीय जनप्रतिनिधि चुन्न मतदाताको व्यग्र प्रतीक्षा र उत्साहले सदरमुकाम र गाउँ चुनावमय बनेका छन्। फरक पार्टीका उम्मेदवारबीचको स्वस्थ प्रतिस्पर्धाले पनि मतदातामा उत्साह थपिएको छ। मतदाताको मन जितेर भोट माग्ने गरेको गुलरिया ६ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार निरज शर्माले बताए। 'अजेन्डा र प्रचारप्रसार फरकफरक तरिकाले गरे पनि भेट्यो भने खुलेरै कुरा गर्छर्ौं' उनले भने। नयाँ शक्तिका तर्फबाट ८ नम्बर वडाका अध्यक्ष उम्मेदवार नारायण गुरुङ उम्मेदवारबीच अस्वस्थ प्रतिस्पर्धा नरहेको बताउँछन्। अर्का उम्मेदवार शेषको पनि भनाइ यस्तै छ।

मैनापोखरक शिक्षक रामकृष्ण थारूले सबै पार्टीका सभा र बैठकमा आफू सहभागी हुने गरेको बताए। उनले भने, 'हामी सबै गाउँले फरक पार्टीले आयोजना गर्ने सभामा सुन्न पुग्छौं।' यति बेला टुंगो लागिसकेका उम्मेदवार घरदैलोमै व्यस्त छन्। उम्मेदवार टुंगो नलागेका गाउँमा राजनीतिक दल उम्मेदवारबिनै पार्टीका झन्डासहित प्रचार गर्दैछन्। बर्दियामा एमाले र माओवादी केन्द्रले ६ नगर र २ गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएपछि प्रचार गरिरहेका छन्। कांग्रेसले दुई नगरमा बाहेक अन्य सबै तहमा प्रमुख पदमा उठाउनेको नाम टुंगो लगाएको छ। दुईवटा नगरमा उम्मेदवार छनोट बाँकी रहेकाले तुलनात्मक रूपमा कांग्रेसको प्रचार केही कम छ।

चिया पसलमा चुनाव चर्चा

ग्रामीण क्षेत्रका सार्वजनिक स्थलदेखि बजार र चिया पसलमा चुनावकै चर्चा हुने गरेको छ।  गाउँबस्तीका घर राजनीतिक दलका झन्डाले रंगिएका छन्। व्यापार व्यवसायमा पनि चुनावी चहलपहलको प्रभाव सकारात्मक छ। नेता, कार्यकर्ता पार्टीका चुनाव चिह्न अंकित झन्डावाल गाडी र मोटरसाइकलमा दिनहुँ ओहोरदोहोर गरेको देखिन्छ।

'गाउँ र नगर बल्ल चुनावमय बन्दैछन्,' नेवि संघका अध्यक्ष शोभाकान्त पौडलले भनेे, 'मिति सरेको भए पनि चुनावी रमाइलो सेलाएको छैन।' द्वन्द्वका समयमा माओवादी आधार क्षेत्र रहेको राजापुरमा अन्य पार्टीले प्रचारप्रसार तीव्र पारेका छन्। जिल्लामा कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने आकलन छ।

रोपाइँ बेला चुनावी चटारो

नेता, कार्यकर्ता भोट माग्न व्यस्त भइरहँदा किसानलाई पनि रोपाइँ चटारो सुरु भएको छ। खेतबारीमा व्यस्त किसानसँग भोट माग्न उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन्। यसले नेता–कार्यकर्तामात्र नभई आम मतदातामा समेत उत्साह बढाएको छ।

'रोपाइँको सिजन सुरु भएको छ,' खैरीचन्दनपुरका डम्बर थारूले भने, 'छिटो खेती लगाएर अलिअलि त प्रचार गर्न पनि हिँड्नुपर्ला।' सरकारले धेरैपटक चुनावको मिति सार्दा किसानलाई मर्का परेको उनले सुनाए। 'अब त पक्कै नसर्ला नि,' उनले चिन्ता व्यक्त गरे।

यसैबीच, चुनावी चहलपहल बढेसँगै केन्›ीय नेता गाउँ आउने क्रम पनि तीव्र भएको छ। तरुण दल कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सेना गेरुवा गाउँपालिकाका उम्मेदवारसँगै चुनाव प्रचारमा छन्। यस्तै एमाले र माओवादी केन्द्रका नेता पनि चुनाव प्रचारप्रसारमा व्यस्त छन्।

प्रकाशित: २८ जेष्ठ २०७४ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App