८ वैशाख २०८१ शनिबार
राजनीति

उपमहानगरवासी भन्छन्- 'लालपुर्जा दिनेलाई भोट'

बारा- दसकौंदेखिका सुकुमबासी जिल्लाको उत्तरी भेगका मतदाताले बासस्थान व्यवस्था गर्ने पार्टीका उम्मेदवारलाई मात्रै भोट दिने बताएका छन्। जितपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १४, १५  र १६ का टाँगिया बस्ती, डुमरवाना, महेन्द्रनगर, डकाहा, कतरवा, भवानीपुर, नयाँबस्ती र वडा नं. १७ रामनगरका सुकुमवासी मतदाताले यसपटकको स्थानीय तह चुनावमा बासस्थान व्यवस्था गर्ने पार्टीका उम्मेदवारलाई मात्रै भोट दिने बताएका छन्।

जितपुरसिमरा उपमहानगरपालिकामा ५५ हजार सात सयको हाराहारीमा मतदाता रहेकोमा १० हजारभन्दा बढी मतदाता सुकुमबासी रहेको अनुमान छ।

२३ वडा रहेको जितपुरसिमरा उपमहानगरपालिकाका १४, १५, १६ र १७ मा आधाभन्दा बढी मतदाता लामो समयदेखि सुकुम्बासीका रुपमा बस्दै आएका छन्। 'राजतन्त्रदेखि लोकतन्त्र स्थापना भइसक्दाको अन्तरालमा संसदीय निर्वाचन, स्थानीय निर्वाचन र दुईवटा संविधानसभाको निर्वाचनमा भोट माग्ने उम्मेदवारले  बसोवास गरिएको जग्ग्ााको लालपुर्जा बनाइदिने अश्वासन दिएर भोट लिने काम गरे,' जितपुरसिमरा–१६ कतरवा टोलका सुकुमवासी उद्धव सुवेदीले भने, 'अब हुन गइरहेको स्थानीय तहको चुनावमा लालपुर्जा बनाइदिने आश्वासन दिने पार्टीका उम्मेदवारलाई भोट नदिनेमा सबै सुकुमवासी एक भएका छौं।'

पहिले सुकुमवासीको नाममा राजनीति गर्ने पार्टीका उम्मेदवारलाई संसदीय निर्वाचन र स्थानीय निर्वाचनमा जिताए पनि उनीहरुले सुकुमवासीलाई लालपुर्जा बनाइदिन केही नगरेको सुवेदीले गुनासो गरे। १६ नम्बर वडाका कतरवा, महेन्द्रनगर र टाँगिया बस्तीमा गरी ४६ सयभन्दा बढी मतदाता रहेकामा झन्डै ३२ सय मतदाता सुकुमवासी रहेको उनले बताए।

अहिले  स्थानीय निकायमा जित्ने नगर प्रमुख र वडा प्रमुखलाई धेरै अधिकार दिएकाले बसोवास गरिएको जग्गाको लालपुर्जा दिने ग्यारेन्टी गर्ने पार्टीका उम्मेदवारलाई मात्रै भोट दिन सुकुमवासी सहमत भएको उनले बताए। विगतका चुनावमा ती बस्तीमा एमालेलाई बढी भोट जाने गरेको पनि सुवेदीले बताए।

रामनगर टोलका सन्तोष पाण्डेले पनि गाउँमा सुकुमवासीका रुपमा दशकौं देखि बस्दै आएका मतदाताले स्थानीय तहको चुनावमा बासस्थान ग्यारेन्टी गर्ने पार्टीका उम्मेदवारलाई मात्रै भोट दिने सल्लाह गरेको बताए। टोलमा १४ सयभन्दा बढी मतदाता रहेकोमा आधाजति सुुकुम्वासी भएको पाण्डेको भनाइ छ।

जितपुरसिमरा उपमहानगरपालिकाको १४ नं. वडामा २८ सय ५३, १५ नं. वडामा ३१ सय ७१, १६ नं. वडामा ४६ सय ६७ र १७ नं. वडामा ३३ सय ६३ मतदाता रहेको जिल्ल्ाा निर्वाचन कार्यालय बाराले जनाएको छ।

कांग्रेसका नगर सभापति श्यामबाबु १४, १५, १६ र १७ नं. वडामा भोट माग्न जाँदा त्यहाँका बासिन्दाले लालपुर्जा नबनेको गुनासो गरेको बताए। विगतमा उनीहरुलाई आश्वासन दिएर पनि काम नगरिदिएको पाइएको उनले बताए।

जितपुरसिमरा उपमहानगरपालिकामा ५५ हजार सात सयको हाराहारीमा मतदाता रहेकोमा १० हजारभन्दा बढी मतदाता सुकुमबासी रहेको अनुमान छ।

प्रकाशित: २८ जेष्ठ २०७४ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App