८ वैशाख २०८१ शनिबार
अन्य

नयाँ घर प्यारो पुरानो झन् प्यारो

–सृजना खड्का
कलाकार किरण केसी ललितपुर, इमाडोलका रैथाने हुन् । यहाँ उनको ठूलो कम्पाउन्डसहितको साढे दुईतले घर छ । उनका निम्ति संसारको सबैभन्दा महान् आनन्द कामबाट फर्केर श्रीमतीलाई सम्बोधन गर्दै घरभित्र छिर्नु हो । भन्छन्, ‘हरेक पटक घर छिर्दा ‘सीता’ भन्दै बोलाउँदै छिर्छु । उनको नाम लिँदै घरभित्र छिर्नु जस्तो विशाल आनन्द अरू केहीमा लाग्दैन ।’
उनले यो घर २०/२२ वर्षअघि बनाएका हुन् । त्यतिबेला उनको घर बनाउने श्रमिकमध्ये दुई जनालाई उनी अहिले पनि सम्झिरहन्छन् । ‘एक जना कीर्तिपुरतिरका डकर्मी थिए,’ उनी सम्झन्छन्, ‘अग्ला थिए । मान्छे साह्रै सीधा । खुरुखुरु काम गर्थे । अर्का एक जना ज्यामी थिए, मानबहादुर भन्ने । उनीहरू दुई जनाले आफ्नै घर सम्झेर काम गरे । उनीहरू दुवैको जय होस् !’

डिंगो बुटले थपिदिएको तला
२०४८ सालमा छोरी सुषमाको हातबाट घरको शिलान्यास भयो । सुरुमा एकतलाको मात्र घर बनाउने सोच थियो । भन्छन्, ‘आफ्नै इँटाभट्टा थियो । सय मुरीभन्दा बढी धान बेच्थ्यौँ । गहुँ, मकै ५०/६० मुरी हुन्थ्यो । त्यो बेलामा हङकङ र ब्यांककबाट विभिन्न समान ल्याएर बेच्ने काम पनि गर्थें । ब्यांकक दुई सय र हङकङ ६० पटकभन्दा बढी गएको छु ।’
किरण लाउनखानका सोखिन थिए । ‘त्यो जमानामा आठ हजारको डिंगो बुट लगाउँथेँ,’ उनी सम्झन्छन्, ‘घर भर्खरै ढलान भएको थियो । एक दिन ढलानमा पाइपले पानी हाल्दै थिएँ, मनमा कुरा खेल्यो । ओहो, जुत्ता आठ हजारको लाउने, घर भने एक तलाको मात्रै बनाउने ? भन्ने लाग्यो ।’

किरण लाउनखानका सोखिन थिए । २०४८ सालतिर आठ हजार रुपैयाँ पर्ने डिंगो बुट लगाउँथे । एक तलाको मात्रै घर बनाउने तयारीमा रहेका उनले सोचे– ‘जुत्ता आठ हजारको लाउने, घर चाहिँ एक तला मात्रै बनाउने ?’


डिंगो जुत्ताले तला थप्न प्रेरित गरेको उनी बताउँछन् । ‘इँटालाई पैसा पर्दैनथ्यो, ज्याला हाले पुग्थ्यो,’ किरण स्मरण गर्छन्, ‘यस्तो अवसर घरीघरी आउँदैन भनेर त्यही जुत्ताले अर्को तला थप्न प्रेरित गर्यो । हुँदाहुँदै तीन तलाको घर ठड्याइयो ।’
उनको घर चार रोपनी कम्पाउन्डभित्र छ । घरपछाडि ठूलो बगैँचा पनि छ ।

पुरानै घर प्यारो

आर्मीका लेफ्टिनेन्ट कर्नेल दुर्गाबहादुर र इन्द्रकुमारीका १३ जना सन्तानमा किरण कान्छा हुन् । अहिले बस्ने घरभन्दा करिब दुई सय मिटर पर एउटा पुरानो घर छ । ‘२०१४ सालमा बुबाआमाको सुखदुःख त्यो घरमा म जन्मिएँ,’ उनी भन्छन्, ‘मलाई त्यो पुरानै घर प्यारो छ । कान्छो छोरा भएकाले बुबाआमा मसँगै बस्नुहुन्थ्यो । पछि उहाँहरूले त्यो घर मेरै नाममा गरिदिनुभयो ।’ त्यही घरमा उनको सीतासँग बिहे भयो, दुई छोरा सुदीप, सुदन र छोरी सुषमा त्यही घरमा जन्मिए । ‘मेरा जिन्दगीका खुशीका ठूलठूला पल त्यही घरभित्र छन्,’ किरण भन्छन् ।
२०३८ सालमा किरण र उनका दाइ सुन्दर मिलेर बिके चिम्नी इँटाभट्टा खोले । इँटाभट्टा खोलेको लगभग १० वर्षपछि उनलाई एउटा घर बनाउनुपर्यो भन्ने सोच आयो । ‘पुरानो घर साँघुरो थियो,’ उनी सम्झन्छन्, ‘ट्वाइलेट पनि घुमेर निस्कनुपथ्र्यो । छोराछोरी हुर्कंदै गए । पुरानो घर भएको कम्पाउन्डमा आमाले घर बनाउन दिनुभएन । ‘जग्गा छँदै छ, अलि टाढा बना’ भन्नुभयो ।’
कलाकारिता, इँटाभट्टा र घरपरिवार सबैको जिम्मेवारी किरणको काँधमा थियो । ‘यो घर बनाउन मैले २५ प्रतिशत काम गरेँ होला, बाँकी ७५ प्रतिशत देन सीताकै छ ।’
घर बनिरहेकै बेला कामको सिलसिलामा उनी तीन महिनाका लागि जापान गए । घरको प्लास्टर मात्रै भएको थियो, रङरोगन भएको थिएन । ‘५१ सालको कुरा हो, म उताबाट फर्केर आउँदा ७०/८० हजार रुपैयाँ बराबरका धारा र ट्वाइलेटका सामानहरू चोरी भए,’ किरण सम्झन्छन् ।
त्यही साल उनीहरूले घर सर्ने निर्णय गरे । तर, आमाले पुरानो घर छोड्न मानिनन् । ‘४८ सालमा बुबा बित्नुभयो,’ किरण विगत सम्झन्छन्, ‘आमा मसँगै बस्नुहुन्थ्यो । नयाँ घरमा जाऊँ भन्दा मान्दै मान्नुभएन । ‘तैँले पाको हो मलाई ?’ भन्नुहुन्थ्यो । कर्नेली बुढी साह्रै कडा ! ‘म भित्रिएको घर हो यो, म जान्नँ’ भन्नुभयो । ८५ वर्षकी बुढी आमालाई एक्लै छाडेर कसरी घर सर्नु ? मन मान्दै मानेन ।’
एक दिन आमाले ‘लँ हिड म जान्छु’ भनेपछि किरणले नयाँ घरमा पूजा लगाए । ‘पूजा सकियो,’ उनी सम्झन्छन्, ‘पाहुनाहरू घर फर्किए । त्यही बेलुका आमाले ‘बाबु, त्यो घर छोड्नुहुन्न, हेर, हाम्रा सन्तान सप्रेको त्यही घरले गर्दा हो’ भन्न थाल्नुभयो । जति सम्झाउँदा पनि मान्नुभएन । अन्त्यमा केही सीप नलागेर आमाका लागि दुई जना सहयोगीको व्यवस्था गरिदिएँ ।  दिउँसो आमालाई हामीले कहिल्यै एक्लै छाडेनौँ । राति चाहिँ एक्लै उता घरमा सुत्नुहुन्थ्यो । मलाई रातभर पाप गरेँ कि भनेर डाह हुन्थ्यो । ९४ वर्षको उमेरमा उहाँको निधन भयो ।’
आफूले बनाएको घरको भन्दा उनलाई पुरानै घरको माया बढी लाग्छ । भन्छन्, ‘दुःखले बनाएको हुनाले नयाँ घरको माया लाग्नु स्वाभाविक हो । तर, अहिले पनि योभन्दा त्यही आमाकै घर प्यारो लाग्छ ।’ आजकल उनी हरेक दिन बिहान त्यो घरमा गएर पानी चढाउँछन् । धूप बाल्छन् । ‘बुबाले दिदी र दाइ सबैलाई गरी चार वटा घर बनाइदिनुभएको थियो,’ उनी भन्छन्, ‘सबै भत्किए । त्यही आमाको घर बाँकी छ ।’ त्यो घर अहिले उनले संरक्षण गरेर राखेका छन् । नेवारी रेस्टुरेन्टलाई भाडामा दिएका छन् ।

अटाइनअटाइ सम्मानपत्र
अहिले उनी बसेको घरमा ११ ओटा कोठा छन् । तल्लो तलामा बैठक, दुइटा किचेन र धर्मछोरा वसन्तको कोठा छ । माथिल्लो तलामा उनको बेडरुम, लुगाफाटा राख्ने कोठा, नातिनीको कोठा र पाहुना कोठा छ । तेस्रोमा कान्छो छोराको बेडरुम । एउटा स्टोर र अर्को पूजाकोठा छ ।
सम्मानपत्र तथा पुरस्कार बैठककोठामा अटाइनअटाइ छन् । किरण यिनलाई आफ्नो असली सम्पत्ति ठान्छन् । ‘यसका लागि अब अर्को घर छुट्टै घर बनाउनुपर्ने भाको छ,’ उनी भन्छन्, ‘यी सम्मानहरू मलाई ‘ए रातामकै ला’ भनेर दिएको हैन । स्टेजमा बोलाएर हजारौँ मान्छेका बीचमा दिइएका हुन् । मेरो जिन्दगीको कमाइ भन्नु नै यिनै हुन् ।’
सम्मानपत्र र पुरस्कारहरूको उचित व्यवस्थापन गर्न नसक्दा अपराध गरेजस्तो उनलाई लागेको छ । ‘एक डेढ वर्षपछि यिनका लागि छुट्टै घर बनाउँछु,’ उनको योजना छ, ‘दर्शकको मायाका कारण प्राप्त भएका यी सम्मानपत्रहरूको उचित संरक्षण गर्नु मेरो दायित्व हो ।’
भव्य बगैँचा
किरणकी श्रीमती सीतालाई बगँैचाको ठूलो सोख छ । उनीहरूले बगैँचाकै लागि भनेर डेढ रोपनी जग्गा छुट्याएका छन् । बगैँचाको रेखदेश गर्न एक जना माली पनि छन् । बगैँचा भव्य छ । भुइँमा हरियो दुबैदुबो छ भने रंगीचंगी फूलका बोटबिरुवा प्रशस्छ छन् । ‘बगैँचामा बस्दा दुनियाँभरका दुःख र तनाव भुलिन्छ,’ किरण भन्छन् ।
पैतृक सम्पत्ति र आफूले जोडेको गरी इमाडोलमा  १८ र चितवनमा सात  रोपनी जग्गा छ, किरणको । ‘सबै जग्गा छोराछोरी र श्रीमतीका नाममा भागबन्डा गर्दिसकेँ,’ उनी भन्छन् ।

समाजसेवी किरण
हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’मा किरणले निर्वाह गरेको पात्र ‘राता मकै’ निकै लोकप्रिय छ । इमाडोलमा अहिले ‘राता मकै चोक’ नै छ । ‘राता मकै चोक भनेर नामाकरण गरेको सात/आठ वर्ष भइसक्यो,’ उनी भन्छन्, ‘यहाँका चालक र सहचालकले त्यस्तो नाम राखिदिएछन् ।’
किरण समाजसेवी पनि हुन् । भन्छन् ‘इमाडोलमा २९ लाख बराबरको तीनतले प्रहरी भवन बनाएर दिएँ । बाटो, पानी ट्यांकी, इनार, धारा, स्कुलका लागि पनि आफ्नो तर्फबाट सहयोग गरिरहेकै छु ।’

रङ फेरिरहने घर
किरण आफ्नो घरको रङ फेरिरहन्छन् । ‘पहिले क्रिम, सिमेन्टी र सेतो फिक्का खालका रङहरू मन पर्ने भएकाले त्यस्तै रङहरू लगाएँ,’ किरण भन्छन्, ‘अहिले भने आफ्नै राशिकोे हरियो र निलो रङ बढी प्रयोग गरेको छु । त्यसबाहेक सुन्तला र सुगा रङ पनि ठाउँठाउँमा लगाएको छु ।’
उनको बैठक, बेडरुम, किचेनका भित्ता विभिन्न रङका वालपेपरले सजिएका छन् । ‘४० वटाभन्दा बढी देश घुमेँ,’ उनी भन्छन्, ‘त्यहाँका घरका भित्ताहरू वालपेपरले सजिएको देखेपछि मलाई पनि रहर लाग्यो ।’  बैठकमा भएको क्रिम कलरको लक्जरी सोफाले उनको घरको शान बढाएको छ ।

आफूले दुःख गरेर बनाएकाले उनलाई नयाँ घर प्यारो छ तर आफू जन्मेको, आमाको पुरानो घर झन् प्यारो छ । हरेक दिन बिहान उनी त्यो घरमा गएर पानी चढाउँछन् । धूप बाल्छन् ।


घरको भान्छा युरोपेली शैलीको भएको किरण बताउँछन् । भन्छन्, ‘किचेन बनाउन मात्रै सात लाख रुपैयाँ लाग्यो ।’
किरणले कहिलेकाहीँ भान्छाको जिम्मेवारी सम्हाल्ने सीता बताउँछिन् । ‘उहाँ खसीको मासु साह्रै मीठो पकाउनुहुन्छ,’ सीता उनको पाक्कलाको तारिफ गर्छिन् ।

(नागरिक परिवारबाट साभार)

 

प्रकाशित: २७ जेष्ठ २०७४ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App