४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

आन्दोलनका कार्यक्रम तय गर्न गोजमोको बैठक बस्दै

इलाम – भारतको पश्चिम बंगालका विभिन्न स्थान चर्किएको भाषा आन्दोलनका थप कार्यक्रम तय गर्न गोर्खा जनमुक्ति मोर्चा (गोजमो)को बैठक शनिबार दार्जिलिङमा बस्दैछ । बैठकले पश्चिम बंगाल राज्य सरकारको घोषणाविरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउनसक्ने अनुमान गरिएको छ। 

बैठकमा अहिलेसम्मका आन्दोलनको समीक्षा र भावी कार्यक्रमबारे छलफल हुने गोजमो अध्यक्ष तथा गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) प्रमुख विमल गुरुङले पत्रकारहरूलाई बताए । उनले भने, ‘राज्य सरकारले तानाशाही व्यवहार गरिरहेकाले शान्तिपूर्ण आन्दोलन चर्काउनुपरेको छ ।’ उनले सरकारले अतिक्रमण गर्न खोजेको भन्दै अब ‘वान पोइन्ट एजेन्डा’का रूपमा गोर्खाल्यान्ड आन्दोलन चर्काउने संकेतसमेत गरे ।

आन्दोलनक्रममा मोर्चाले दार्जिलिङ, कालेम्पोङ, खर्साङ, मिरिकलगायत क्षेत्र शुक्रबार आम हड्ताल गराएको थियो । शनिबार भने त्यहाँको अवस्था सामान्य छ । शुक्रबार बन्द रहेका केही निजी विद्यालय भने शनिबार पनि खुलेका छन् । 

बंगाल सरकारले बंगाली भाषालाई तेस्रो भाषाका रूपमा बाध्यात्मक बनाउने घोषणा गरेपछि यहाँका नेपालीभाषी विरोधस्वरूप आन्दोलनमा उत्रिएका हुन् । पश्चिम बंगालका शिक्षामन्त्री पार्थ चटर्जीले ‘त्रिभाषा सूत्र’ लागू गर्दै राज्यभरि बंगाली भाषा बाध्यात्मक बनाउने घोषणा गरेका थिए । मुख्यमन्त्री ममता बेनर्जीले समेत सार्वजनिक समारोहमा त्यही मन्तव्य दिएपछि नेपालीभाषी सडकमा उत्रिएका हुन् । 

पश्चिम बंगालका विद्यालयमा ३ भाषा ऐच्छिक रूपमा पढ्न पाइन्छ । नेपालीभाषी विद्यार्थीले तीन भाषामध्ये पहिलो भाषाका रूपमा नेपाली, दोस्रोमा अंग्रेजी वा पहिलोमा अंग्रेजी दोस्रोमा नेपाली लिएर पढ्छन् । र, तेस्रो भाषाका रूपमा बंगाली, उर्दु, हिन्दी, तिब्बती वा अरू कुनै भाषा लिएर पढ्न पाउँछन् । तर, सरकारले तेस्रो भाषा चाहिँ अनिवार्य रूपले बंगाली नै लिनुपर्ने घोषणा गरेपछि नेपालीभाषी त्यसको विरुद्धमा उत्रिएका हुन् । लगातारको आन्दोलनले दार्जिलिङसहित नेपालीभाषीको बाहुल्य रहेका स्थानमा तनाव बढेको छ। 

प्रकाशित: २७ जेष्ठ २०७४ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App