८ वैशाख २०८१ शनिबार
अन्य

कथा :  प्रतिमा

पार्वती शाही

आज प्रतिमाको जन्मदिन। गुलाब फक्रिने प्रेमिल मौसम अर्थात् वैशाख ५ गते। नयाँ वर्षको आगमनसँगै उसलाई मन पर्ने गुलाबी रंगका उपहार किनेकी थिएँ, झन्डै एक झोला।

दिन ढल्ने बेला कोठाबाट बाहिरिँदै थिएँ, एक हातमा झोला र अर्को हातमा उसलाई औधि मन पर्ने ब्ल्याक फोरेस्ट फुलबुट्टे केक बोकेर। गुलाबी रङसँग प्रतिमाको के साइनो छ कुन्नि? मन पराउँछे औधि। प्रतिमाको मन राख्न योपल्ट स्पेसल गिफ्ट एउटा बजारिया गुलाब र फूल राख्ने सानो सिसाको भाँडो पनि किनिदिएकी थिएँ। ती उपहारले उसको कोठा सजाइदिने सोचेकी थिएँ, जसलाई हेरेर ऊ आनन्दित भइरहोस्।

कहिलेकाहीँ सोच्ने गर्छु, कस्तो भाग्य लिएर जन्मिछ यो छोरी? बाबुको गल्तीले आमा र उसको आफ्नै जीवनको पनि टुंगो छैन। तर, यो सबै अँध्यारोदेखि ऊ बेखर छ। म कामना गर्छु– मेरी छोरी प्रतिमा, म मरिहालेँ भने पनि तिमी यो सबैबाट बेखर रहू या सबै कुरा गहिरो गरिबुझ र यसको विरुद्धमा लड।

होस्टेल गेटको सामुन्नेमै थियो, प्रतिमाको बेडरुम। गेट प्रवेश गर्ने क्रममा आँखा सीधै माथि उसको कोठाको झ्यालतिर सोझियो, प्रतिमा ‰यालमा निन्याउरो मुख लगाएर मेरो बाटो हेरेर बसेकी थिई। मलाई देख्नेबित्तिकै मम्मी भन्दै खुसीले उफ्रिँदै गेटमा आइपुगी, माया उर्लेर आयो। काखमा लिएँ। अबोध अंगालोले उसले मेरो घाँटी बेरी र मेरा दुवै गालामा चुम्बन गरी, मैलेभन्दा ज्यादा।

केटाकेटीलाई होस्टेलको वातावरणसँग अभ्यस्त गराउन होला सायद, बिदा र विशेष दिनबाहेक अरु बेला कुनै पनि अभिभावकलाई सन्तान भेट्ने अनुमति थिएन, प्रतिमाको जन्मदिन परेकाले मलाई भने अनुमति थियो।

प्रतिमाले हात समातेर मलाई डोर्‍याई, आफ्नो बेडरुमतिर। मेरो झोला  खोतलखातल पारी। उसलाई निकै हतार थियो सायद, नयाँ नाना लगाउने। झोलाका लत्ता–कपडा हतार–हतार पहिरिई, जुत्तादेखि कपालमा क्लिपसम्म।

यो सबै मैले धैर्यपूर्वक हेरिरहेकी थिएँ, उसको कोठाको झ्यालसम्म एउटा फूलसहितको गुलाबको हाँगो आएको थियो। एकैछिनमा प्रतिमा सर्वाङ्गै गुलाबी पहिरनमा सजिई। खुसीले ऊ उन्मुक्त फक्रेको गुलाबजस्तै देखिई।

उसलाई गाजल मन पर्छ। मैले गाजल लगाइदिएँ, लामा–लामा कोष झिकेर। अहा! कोष तानेका बदामी गाजलु आँखा, शरीरैभरि गुलाबी नयाँ पहिरन, बिछट्टै राम्री देखिई मेरी छोरी। ऊ खुसीले उफ्रिई। म भने मातृवात्सल्यले छछल्किएँ र छातीमा टाँसेँ, मेरो मुटुको टुक्रालाई।

कतै सुनेको यो हरफ– सुन्दरताको आयु धेरै लामो हुँदैन। ठाउँ कुठाउँ म किन यस्तो सोच्दै छु? सायद मलाई छोरीको मायाले कमजोर बनाएको छ। उसको निर्दोषता, त्यो बालसौन्दर्य, चञ्चलता– केहीबेर म अवाक् भएर हेर्छु।

उता जन्मोत्सवको तयारी अन्तिम चरणमा पुगिसकेको थियो। प्रतिमालाई डाक्न होस्टेल वार्डेन आइपुगिन्। हामी सबै हलमा गयौँ। ३० जनाजति अट्ने कक्ष खचाखच थियो, प्रतिमाका साथीहरुले नै।

अघिल्ला वर्षभन्दा यसपालि अलि बढी खुसी देखिएकी थिई प्रतिमा। खुसी छछल्किएको अनुहारमा उसले फूलबुट्टे केक काटी, अनि मुखले फुकेर निभाई, लहरै बालिएका आठवटा मैनबत्ती। उसका साथीहरुले एकै स्वर गरे– ह्याप्पी बर्थ डे टु यु...।  

वार्डेनको आग्रहमा सबैभन्दा पहिले मैले उसलाई केक खुवाइदिएँ, अनि नरम हातले उसले मलाई खुवाइदिई। त्यसपछि वार्डेन र साथीहरुले उसलाई केक खुवाइदिए।

हर्षले हो या केले हो कुन्नि, मेरा आँखा भिजे। आँसु लुकाउन खोजेँ तर एक थोपा खसिहाल्यो, केकको थालीमाथि। मन अमिलो भयो, मनमनै सोचेँ– अझै कति वर्षसम्म मेरी छोरीलाई यसरी आफ्नै हातले केक खुवाउन पाउँला?

कार्यक्रमको अन्तिमतिर थियौँ। मलाई घर फर्किनु थियो। फर्किने सुरसार गर्दै थिएँ, प्रतिमाले चाल पाएर मेरो सारीको फेर समाउन थाली। नानाथरी कुरा गरेर फकाउने प्रयास गरेँ, तर उसको ध्यान मेरो कुरामा पटक्कै थिएन, कतै अन्तै थियो। जसै कोठा बाहिर निस्किएँ, उसले सारीको फेर झनै कसिलो पारी। फकाउँदै काखमा लिएँ, ममताले छातीमा टाँसे। तर उसले पटक्कै छाडेकी होइन। म गेटमा पुग्दानपुग्दै उसले कोकोहोलो मच्चाइहाली। होस्टेल वार्डेनले प्रतिमालाई मबाट छुटाएर लिनुभो र गेटभित्र हुल्दिनुभो। गेट बाहिरै उभिएर धैरेबेर उसले रोएको सुनिरहेँ, उसले थाहा नपाउने गरी म पनि रोएँ।

झम्के साँझमा भारी मन लिएर सहरको बाक्लो भीड छिचोल्दै डेरा फर्कें। रात बाक्लिँदै र मन बिचलित हुँदै गयो। आफैँसँग, विगतसँग, वर्तमानसँग र आफैँमाथि परेको वज्रपातसँग संवाद गरिरहेँ, मञ्चमा अभिनय गरेझैँ। तर, त्यो नाटक हेर्ने कोही थिएन, सुनसान वातावरणबाहेक। रात ढल्यो, अनिदा आँखा लिएर सदाजस्तै दैनिकी सुरु गरेँ।

राजधानीको व्यस्त गल्लीको पुरानो घर। वर्षमा मुस्किलले मात्र दुई महिना, त्यो पनि धेरै छोटो समय घामको स्पर्श पाउँथ्यो, छिँडीको चिसो मेरो कोठाले। कहिल्यै तात्न पाउँदैनन्, बिछ्यौना। सर्वांग चिसो न चिसो। एक्ली छु। मुटुको टुक्रा त्यही एउटी छोरीलाई पनि होस्टेलमा राख्न बाध्य छु।

बालबालिकाका क्षेत्रमा काम गर्ने एउटा विदेशी संस्थाले ऊसहित ऊजस्तै सुदूरपश्चिमका कैयौँ एचआइभी संक्रमित बालबच्चाको सम्पूर्ण जिम्मा लिएको छ। ऊ उतै पढ्दै पनि छे, अहिले तीन कक्षामा।

प्रत्येक आमालाई आफ्ना सन्तानको माया हुन्छ नै। अझ यो दुनियाँमा मेरो भन्नु प्रतिमाबाहेक को छ र? म उसलाई आफैँलाई भन्दा बढी माया गर्छु। अचेल ऊ मसँग छैन तर त्यस्तो कुनै रात छैन, मैले प्रतिमालाई नसम्झी निदाउन सकेको। झल्झली आँखामा आउँछ, उसको निश्चल, अबोध मुस्कान र मायालाग्दो अनुहार।

कसैले सोध्यो, 'नानी, ठूली भएपछि तिमी के बन्छ्यौ?' उसले फ्याट्टै जवाफ दिएकी थिई, 'धेरै पढेर बम्बै जाननपर्ने राम्रो जागिर गर्छु र मेरा बाबाजस्ता रोगीको सेवा गर्छु।'

आँखाभरि सजिएका ती उसका नौरंगी सपनाहरू, सम्झँदा उदेक लाग्छ।

कठै! कति बुझेकी होली उसले बाबालाई? रङ उडिसकेकोे क्यानभासजस्तो बाबाको धुमिल छाया जताउँदै बालमस्तिष्कमा सपना सजाएकी छ उसले।

एकदिन दौँतरीले बाबा भनेर बोलाएको सुन्दा दगुर्दै सोध्न आएकी थिई, 'ममी, हाम्रो बाबा खोई?' लम्बा–चौडा गन्थन र बेली–विस्तार के आवश्यक थियो र त्यो बालमस्तिष्कलाई? उसले बु‰ने भाषामा मैले यति मात्र भनेकी थिएँ, 'तेरा बा काम गर्न बम्बै गयाथ्या र उसै बम्बै निको नहुन्या रोग लाग्यो। त्यै ज्यानमारा रोगले खाइदियो छोरी तेरा बालाई।' उसको बालमस्तिष्कले त्यति मात्रै बुझेको छ र सपनाको अमिट ब्लुप्रिन्ट तयार गरेकी छे– बाबाजस्तै काम खोज्दै भौँतारिएर बम्बै नजाने र बाबाजस्ता रोगीको सेवा गर्ने।

थाहा छैन, कतिसम्म साकार हुन्छन्, उसका यी बहुरंगी सपना! यस्तै–यस्तै उसका सपना, रहर र खुसी सम्झँदा पलपल आक्रान्त हुने गर्छु म। टुक्रिन्छ आफ्नो एक डल्लो मुटु पनि चोइटा–चोइटामा। आफ्नो भागमा परेको आधा चोक्टो आयु पनि घोटिँदै गएको आभास हुन्छ, समग्र जिन्दगीको जोड–घटाउमा।

दिन प्रतिदिन पल्टिँदै गएका समयका पत्रसँगै उसको बालमस्तिष्क परिपक्व बन्ने प्रक्रियामा छ। तर, अर्को तिर? छोटिँदै, कटान हुँदै गएको छ उसको आयु।

०००

दुई वर्षजति भयो, काठमाडौंको भीडमा म मिसिएको। सुरुवातीका दिन कष्टकर र संघर्षपूर्ण रह्यो। व्यस्त सहर र यहाँको भीडभाडसँग तालमेल मिलाउन मुस्किल पर्‍यो, पश्चिम नेपालको सुदूर बस्तीबाट एकैपटक राजधानीमा अवतरण भएकी मलाई। उता वर्षमा एक–दुईपल्ट मात्र जाँतमा देखिने मान्छेका थरीथरीका अनुहार यहाँ दिनहुँजसो देख्थेँ, अनौठो र अप्ठेरो लाग्थ्यो। पछि–पछि अभ्यस्त हुँदै गएँ राजधानीका यी थरीथरीका मुखाकृतिसँग।

अनन्त, मेरो पति। उसको निधनपछि उसको घरपरिवारसँगको मेरो नाता पनि एकाएक टुंगियो। टोल, छिमेक जताततै तिरस्कार र अपहेलनाको पात्र जो मलाई बनाइयो। समाजको अचाक्ली खप्न नसकी सहाराको भीख माग्दै पेटको ज्वाला निभाउन छोरीसँगै भित्रिएकी थिएँ राजधानीमा। मैले त्यही बेलादेखि संकल्प गरेेँ, म जति दिन जिउँछु केवल प्रतिमाका लागि एउटी असल आमा भएर जिउँछु। त्यसैले पटक–पटक मस्तिष्कमा उब्जन खोज्ने आत्महत्याको विचारलाई जरैसहित उखेलिदिएँ। म त चल्लाकी माउ अर्थात् एउटी आमा। मरिहाल्न त कहाँ सकिँदो रहेछ र? त्यस कारण वर्तमानसँग छिनाझिट्टी गर्दै बाँचिरहेकी छु।

एउटा निजी विद्यालयमा मेरै प्रतिमाजस्ता कैयौँ नानीलाई स्याहार–सुसार गर्ने सहयोगीको काम गर्दै छु। आफ्नी छोरी आफूसँग नभए पनि ऊजस्तैको स्याहार गर्न पाउँदा खुसी छु। निर्धक्क मातृत्व पोख्ने अवसर पाएकी छु। बच्चाहरूसँगै रमाउँदा मलाई दिन बिताउन पनि सजिलो भएको छ। विद्यालयबाट पाएको पारिश्रमिकले नै धानेकी छु, एकसरो ज्यानलाई।

संकोच छ मनमा, एड्स संक्रमित म, कतै मेरोबारे थाहा पाए भने? खोसिने छ, बल्लतल्ल पाएको यो रोजीरोटी पनि र व्यहोर्नुपर्नेछ फेरि पनि उस्तै तिरस्कार र उस्तै अपहेलना।

अनन्त, जोसँग गाउँकै परम्पराअनुसार साटिएको थियो मेरो औंठी, आजभन्दा १२ वर्षपहिले। मसँग बिहे हुँदा आठ वर्षदेखिको बम्बैको लाहुरे थियो ऊ। विवाहपछि वर्षमा एक–दुईपटक, त्यो पनि छोटो समयको हुन्थ्यो उसको घर बसाइ। बाँकी समय बम्बै नौकरीमै बिताउँथ्यो। यता गाउँमा म भने पतिव्रता भएर पोईबिनाको पोइलीमा उसको अनुपस्थितिमा पनि बसिरहन्थेँ। ऊ त सहरको रमझममा भुलेको मान्छे, कमाउन हिँडेको मान्छे। कमायो, आफ्ना आवश्यकताका वस्तु किन्यो र किन्यो, कुनै नारीको शरीर पनि। मैले भने उसले दिएको ज्यानमारा रोग उपहार पाएकी छु।

दाम्पत्य जीवनको सात वर्ष ऊ घर र बम्बै नै गरिरह्यो, योबीचमा एकपटक पनि रहर पुग्ने गरी म ऊसँग हिँड्न पाएकी होइन। उसकी पत्नी र उसकी घरकी बुहारी भएर भित्रिएदेखि म सम्पूर्ण रुपमा ऊप्रति नै समर्पित थिएँ। तर उसले आफू एचआइभी संक्रमित भएकोेसमेत मसँग लुकाएर घात गर्‍यो।

आफूमाथि परेको यो वज्रपात कहिल्यै सम्भि्कन नपरोस् भन्छु, तर सम्झन पुगिहाल्छु। विवाहको पाँच वर्षपछि रहरै रहरले गर्भवती भएँ। यो समाचारले घरमा सबै दंग थिए। जिल्ला अस्पतालमा मासिक गर्भजाँच गराउने क्रममा मेरो ब्लड प्रेसर बढ्दै जान थाल्यो। के शंका लागेछ कुन्नि!  गर्भवती भएको आठौँ महिनामा मलाई डाक्टरले कोहलपुर मेडिकल कलेज, नेपालगन्जमा रिफर गरिदिए। म सासुसँग नेपालगन्ज गएँ। त्यहाँ मेरो स्वास्थ्य परीक्षण गरियो। अरु जाँचको रिपोर्ट नर्मल आयो तर रगतको रिपोर्टमा भने एचआइभी पोजेटिभ देखियो।

कल्पनामा पनि नसोचेको कुरो, म छाँगाबाट खसेझैँ भएँ। आफू उभिएको धरातल त्यहीँ भाँसिएजस्तो लाग्यो। डाक्टर एकोहोरो के–के भनिरहेको थियो, मैले केही सुनिनँ। एकछिन दिमागले काम गर्नै छोड्यो।

कठै! कस्ता–कस्ता क्षण आउँदा रैछन् जिन्दगीमा। कत्रो रहर गरी २५ वर्षको उमेरमा आमा बन्दै थिएँ, सबै सपना खरानी भयो।

त्यसपछि डाक्टरको प्रत्यक्ष निगरानीमा मलाई राखियो। दिनदिनकै डाक्टरको काउन्सिलिङले मेरो मनोबल भने उच्च भइसकेको थियो। प्रतिमा जब कुतकुत्याउने गरी पेटभित्र सलबलाउँथी, मनभरिका पीडा बिर्सन्थे।

एउटै मात्र आशा बाँकी थियो, मैले जन्माउने शिशु एचआइभी संक्रमित नहोस्। कोहलपुर मेडिकल कलेज, नेपालगन्जमा नर्मल डेलिभरीबाट स्वस्थ जन्मिएकी थिई प्रतिमा। फर्केर हेर्दा व्यतित गरेको जिन्दगीको जोड–घटाउमा सम्झन लायक खुसीको क्षण त्यही नै थियो। जतिबेला नवजात प्रतिमाको रगत जाँचको रिपोर्ट एचआइभी नेगेटिभ भएर हातमा परेको थियो।

सुत्केरीपछि आमा–छोरी दुवैको अवस्था र अन्य सबै टेस्टको रिपोर्ट नर्मल देखिएपछि पाँचौँ दिनमा हामीलाई हस्पिटलले डिस्चार्ज गरिदियो। हामी घर आयौँ।

प्रतिमा जन्मिदा पनि अनन्त इन्डियामै थियो। आफूलाई एचआइभी पोजेटिभ भएको खबर मैले फोनबाट डराइडराई उसलाई सुनाएँ। उसले त मलाई चर्को स्वरले फोनमा तथानाम गाली गर्‍यो। उल्टै आफ्नो पुरुषत्वको स्पष्टीकरण दिँदै मलाई गलत सावित गर्न खोज्यो। मेरो चरित्रमाथि नै प्रश्नचिह्न लगाएपछि अगाडि बोल्नुको औचित्य ठानिनँ मैले। त्यही दिनदेखि हामीबीचको फोन सम्पर्क पनि बन्द भयोे।

छोरी यस्तै आठ महिनाकी हुँदा अचानक एकदिन बिरामीले थलिएर अनन्त टुप्लुक्क घर आइपुग्यो। मुम्बई हस्पिटलले उनलाई अन्तिम बिदाई गरी घर पठाइसकेको रहेछ। तर उसले साँचो कुरा कसैलाई पनि बताएन। जुन कुरो उसलाई विवाहलगत्तै थाहा भइसकेको थियो।

आएकै दिनदेखि ओछ्यान पर्‍यो ऊ। बाआमाले आफूले जाने जति धामी, झाँक्री, झारफुक सबै गराउनुभयो तर उसको बिमार २० को १९ भएन, बरु बढ्दै गयो। केही सीप नलागेपछि अन्तमा उनलाई कोहलपुर मेडिकल कलेज नेपालगन्ज लगियो। बिरामीलाई हस्पिटल भर्ना गरियो। डाक्टरले बिरामीको अनुसन्धान सुरु गर्‍यो। पाँचौँ दिनमा रोगको पर्दाफास भो। मृत्युको संघारमा ढेपिएर सुस्ताइरहेको अनन्त, उसलाई त एड्सले सखाप पारिसकेको रहेछ।

डाक्टर उनै थिए, जसले केही महिनाअघि मात्र मलाई एचआइभी पोजेटिभ भएको पुष्टि गरेका थिए, उनले बिरामीका आफन्त सबैलाई सँगै राखेर यो सबैको कारण अनन्त नै भएको कुरा सार्वजनिक गरिदिए। बल्ल आफ्नो गल्ती स्वीकार गर्‍यो अनन्तले र साँचो–साँचो कुरा सबै बक्यो। तर, त्यतिबेलासम्म सबै कुरा ढिला भइसकेको थियो। बिरामीको डिस्चार्ज भयो। घर फर्कियौँ। रोगको गति बढ्दो थियो। अलि दिनपछि उनको गलामा माड छिर्न छाड्यो। बिस्तारै उसले मान्छे चिन्न पनि छोड्यो र धर्ती छाड्यो।

यसरी अनायासै खोसियो मेरो घाँटीको तिलहरी, पखालियो सिउँदो। पटपटी फुटालिए खुबै रहर गरी उग्रतारा मेलामा लगाएका  नारीभरिका राता चुरा। बेहुली बन्नुपर्ने रहरलाग्दो उमेरमा काखकी दुधे बालख प्रतिमालाई च्यापी सेताम्मे वस्त्रले बेरिएँ। अतृप्त रहरको बलि चढाउँदै रित्याएँ आँखालाई। प्रतिमा जम्मा एक वर्षकी थिई त्यतिबेला, जब हाम्रो सारा खुसी लुटिएको थियो।

१८ महिनाकी भएपछि प्रतिमालाई अर्को जाँचका लागि फेरि कोहलपुर हस्पिटल लगेँ। उसको सबै स्वस्थ्य परीक्षण गरियो। अन्य रिपोर्ट नर्मल तर रगतमा केही समस्या देखियो। पुनः रगत परीक्षण गरियो। रिपोर्ट आयो, एचआइभी पोजेटिभ।

मेरो जीवनमा चोटमाथि चोट बर्सियो। दुख्न बाँकी केही रहेन। असीम पीडाको भारी र त्यसैमाथि छोरीलाई बोकेर घर फर्किएँ। आश टुट्यो, भरोसा भाँचियो। त्यसपछिको सिंगो जिन्दगीमै पूर्ण ग्रहण लाग्यो। अलि लामै समय मेरा आँखा ओभाना रहन पाएनन्।

यस्तैमा एक दिन, एउटा स्वास्थ्यसम्बन्धी आइएनजिओमा काम गर्ने सामाजिक कार्यकर्तासँग मेरो भेट भयो। चिनजानपछि आफ्नो दुःख पोखेँ। घर परिवार र समाजले स्विकार्न नसकेको मेरो व्यथा उनले महसुस गरे र मलाई उपकार गरे।

 उनले संक्रमित प्रतिमालाई एउटा विदेशी संस्थाको जिम्मा लगाइदिए, जहाँ उसलाई सम्मानको वातावरण छ।

कहिलेकाहीँ सोच्ने गर्छु, कस्तो भाग्य लिएर जन्मिछ यो छोरी? बाबुको गल्तीले आमा र उसको आफ्नै जीवनको पनि टुंगो छैन। तर, यो सबै अँध्यारोदेखि ऊ बेखर छ। म कामना गर्छु– छोरी प्रतिमा, म मरिहालेँ भने पनि मेरी तिमी यो सबैबाट बेखर रहू या सबै कुरा गहिरो गरिबुझ र यसको विरुद्धमा लड।

नेपालमा सरकार चलाउने बालुवाटार भए पनि देश चलाउने चाहिँ कतार नै हो। अहिले बालुवाटार नभए पनि देशलाई कुनै घाटा छैन, कतार भएन भने ठूलै घाटा हुन सक्छ। सायद, अहिले नेपाली जनतालाई बालुवाटारमा आएको परिवर्तनले भन्दा कतारमा आएको परिवर्तनले बढी पिरोलिरहेको छ।

प्रकाशित: २७ जेष्ठ २०७४ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App