७ वैशाख २०८१ शुक्रबार
अन्य

उता कतार, यता बालुवाटार

उता कतारमा नेपालीको बिजोग भएकै दिन यता बालुवाटारमा चाहिँ खुसियाली छाएको छ। अब बालुवाटारमा आएको यो खुसियालीले कतारको दुःख कति हरण गर्ने हो? त्यो हेर्नै बाँकी छ। नेपालमा सरकार चलाउने बालुवाटार भए पनि देश चलाउने चाहिँ कतार नै हो। अहिले बालुवाटार नभए पनि देशलाई कुनै घाटा छैन, कतार भएन भने ठूलै घाटा हुन सक्छ। सायद, अहिले नेपाली जनतालाई बालुवाटारमा आएको परिवर्तनले भन्दा कतारमा आएको परिवर्तनले बढी पिरोलिरहेको छ।

तर कुरो जे भए पनि नेपाली जनतालाई फेरि एकपटक बधाई त दिनैपर्‍यो। किनभने नेपालले फेरि एकपटक नयाँ प्रधानमन्त्री पाएको छ– कमरेड शेरबहादुर देउवा! हुन त शेरबहादुर देउवा देशका लागि नयाँ प्रधानमन्त्री हुनुहुन्न, उहाँ पुरानै प्रधानमन्त्री हो, पुरानो प्रधानमन्त्री नै अहिले नयाँ भएर आएको। त्यसैले नयाँ प्रधानमन्त्रीलाई नयाँ प्रधानमन्त्री मात्र भनेर पुग्दैन– 'पुरानो नयाँ प्रधानमन्त्री' भन्नुपर्ला।

त्यसो त नेपालमा नाम नयाँ भए पनि काम भने जम्मै पुरानै हुने हो। केही समयअघि मात्रै डा. बाबुराम भट्टराईले नयाँ शक्ति खोल्नुभएको थियो। तर शक्ति नयाँ भए पनि प्रवृत्ति पुरानै देखियो, प्रधानमन्त्री पनि त्यस्तै हो। आगमन नयाँ भए पनि प्रधानमन्त्री पुरानै।

तथ्यांकअनुसार प्रधानमन्त्री पदमा कमरेड देउवाको यो चौथो आगमन रहेछ। अर्थात् यो समेत गरी उहाँ चारपटक प्रधानमन्त्री बन्नुभएको छ। एकपटक राजा ज्ञानेन्द्रले उहाँलाई 'असक्षम' भनेर पदच्युत पनि गर्नुभएको थियो। तर त्यही पदच्युत गरेका राजाले पछि उहाँलाई नै फेरि पदमा ल्याउनुभयो। किनकि, त्यसपछि राजा ज्ञानेन्द्रलाई कन्फर्म थाहा भयो होला, शेरबहादुर देउवा त साँच्चै नै असक्षम रहेछ। त्यसपछि उहाँले देउवालाई फेरि पदमा ल्याउनुभयो। त्यतिबेला राजा ज्ञानेन्द्रको छनोटमा पर्न चाहिने सबैभन्दा ठूलो योग्यता भनेकै असक्षम हुनु हो। दोस्रोपटक चाहिँ आफ्नै पार्टीका सभापति गिरिजाप्रसाद कोइरालाबाट पनि उहाँ पदच्युत हुनुभएको थियो। यी दुई पदच्युतमध्ये पहिलो कुन हो, त्यो चाहिँ बिर्सें। सायद उहाँले पनि बिर्सिसक्नुभयो होला, बिर्सिसकेको कुरालाई धेरै नकोट्याउँ। 

यसपटक उहाँ जो प्रधानमन्त्री बन्नुभयो, यसमा भने पूरै सुरक्षित हुनुभएको छ। किनभने, अहिले सत्तामा राजा ज्ञानेन्द्र पनि छैनन्। पार्टीमा गिरिजाप्रसाद कोइराला पनि छैनन्। त्यसैले उहाँ ढुक्कै भए हुन्छ। यसपालि उहाँलाई सरकारमा दुई ठूला नेताको साथ प्राप्त भएको छ। एउटा प्रचण्ड, अर्को केपी ओली।  प्रचण्ड त यो सरकारको पूर्ण समर्थक नै भइहाले। प्रचण्डले आफूसँग भएको भद्र सहमतिलाई टाइममै पूरा गरी राजनीतिक मूल्य र मान्यतालाई कायम गर्नुभएको छ। कमरेड प्रचण्डको यो कदमबारे कमरेड देउवाका एक भित्री कार्यकर्ताले मलाई भने, 'वास्तवमा कमरेड प्रचण्डको राजनीतिक मूल्यबारे देउवाजीलाई अहिले होइन, धेरैअघि नै थाहा थियो। त्यसैले देउवाज्यूले प्रचण्डको मूल्य ऊबेलै तोक्नुभएको थियो।'

'ए, हो नि हगि!' मैले तत्कालीन देउवा सरकारद्वारा प्रचण्डको टाउकाको मूल्य तोकिएको दिन सम्झेँ।

भित्री कार्यकर्ताले भने, 'वास्तवमा त्यतिबेला तोकिएजस्तै नै प्रचण्डजी मूल्यवान् नै रहेछन्। अरु कसैले नराखेको राजनीतिक मूल्य उहाँले यतिबेला राख्नुभएको छ। प्रचण्डजीको मूल्य तोकेर देउवाजीले ठीकै गर्नुभएको रहेछ।'

देउवालाई साथ दिन सक्ने अर्का नेताचाहिँ केपी ओली हुनुहुन्छ। केहीगरी भोलि प्रचण्डसँग तालमेल नमिलेर सरकार ढल्ने अवस्था आइपुग्यो भने केपी ओलीले बचाउने प्रबल सम्भावना छ। सरकार ढल्ने अवस्थामा राजीनामा दिने ठाउँ त सदन हो। यदि एक सशक्त विपक्षी भएको नाताले एमालेबाट त्यही बेला दुई महिना जति सदन चल्न दिएन भने सरकार त बच्छ नि। अहिले पनि एमालेले सदन अवरुद्ध गरेर दुई हप्ताजति प्रचण्डको सरकार टिकाइदियो। भोलि आफ्नो पालामा पनि एमालेले यसरी नै दुई महिनाजति सदन अवरुद्ध पार्ने आशा देउवाले लिनुभएको छ। अस्ति उहाँले यसका लागि आग्रह पनि गरिसक्नुभएको छ– प्रधानमन्त्रीको राजीनामाबारे कृपया पछिपछि पनि ध्यान दिनुहोला!

ज्ञानेन्द्रको ठाउँमा प्रचण्ड। जिपीको ठाउँमा केपी। यी दुई नेताको साथले देउवाको सरकार टिकाउ हुने पक्का छ। प्रधानमन्त्री हुनेबित्तिकै उहाँलाई तेस्रो नेताको पनि फोन आइसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँलाई अस्ति फोन गर्नुभएको रहेछ। सायद फोनमा मोदीले भन्नुभयो, 'अच्छा बधाई हो देउवाजी। आप की सफलता की कामना करता हुँ। अब फोन में क्या बात करें। जल्दी नईदिल्ली आइए वहीं बात करेंगे चाय–वाय पीके। कब आ रहे हैं?'

सायद देउवाजीले भन्नुभयो, 'अच्छा अच्छा आता हैं। पहले शपथ खा लुँ, उसके बाद आपकी चाय खा लेगें।'

भारतमा नरेन्द्र मोदीले आफू प्रधानमन्त्री हुँदै नेपालका प्रधानमन्त्रीहरूलाई यसरी फोन गरेको यो चौथोपटक हो। सबैभन्दा पहिले उहाँले सुशील कोइरालालाई फोन गर्नुभएको थियो। त्यसपछि खड्गप्रसाद ओलीलाई गर्नुभयो, अनि पुष्पकमल दाहाल र अहिले शेरबहादुर देउवाजीलाई। भारतमा एउटै प्रधानमन्त्रीले काम चलाइरहँदा नेपालमा चार प्रधानमन्त्री आइसके। वास्तवमा हामी नेपाली कति मिलेर काम गछर्ौं? त्यसैको नमुना हो यो।

गणना गरेर हेर्ने हो भने यो अंक चारसँग पनि देउवाको अनौठै संयोग मिलेको छ। उहाँ नरेन्द्र मोदीकालका चौथो प्रधानमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीमा यो उहाँको चौथो आगमन हो। देशको उहाँ ४०औं प्रधानमन्त्री हुनुहुन्छ। र, उहाँको पार्टीको झन्डामा पनि चारवटै तारा रहेको छ। मतदानमा उहाँलाई झन्डै चार सय मत आएको थियो। शपथ ग्रहण उहाँले मासाको २४ गते र साताको चौथौ दिनमै गर्नुभयो। उहाँको दुइटा चुनाव क्षेत्रमध्ये एउटा कञ्चनपुरको क्षेत्र नम्बर ४ हो। उहाँको यो सरकारमा चार उपप्रधानमन्त्री र ४० जति मन्त्री हुने पक्का छ। आशा गरौँ, यो सरकार चार महिनामै नढलोस्!

प्रकाशित: २७ जेष्ठ २०७४ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App