८ वैशाख २०८१ शनिबार
खेल

उपाधिमा एपिएफको ह्याट्रिक

काठमाडौं- एपिएफले केएनपी राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्ड एकेडेमीलाई हराउँदै उपाधिमा ह्याटि्रक गरेको छ। पाँच सेट सम्म पुगेको फाइनलमा एपिएफले २५–२२, २५–१८, १८–२५, १८–२५, १५–८ को विजय हासिल गरेको थियो।

यसअघि शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबलको नाममा हुने गरेको प्रतियोगिताको पहिलो संस्करणमा पनि एपिएफले डायमन्डलाई हराएको थियो। दोस्रो संस्करणमा एपिएफले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो।

शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा एपिएफले सुरुआती दुइ सेट जिते पनि तेस्रो र चौथोमा लय गुमाएको थियो।

रिसिभमा विभागीय खेलाडी कमजोर हुनाको फाइदा उठाउँदै डायमन्डले सुरुका दुई सेट गुमाए पनि पुनरागमनको प्रयास गरेको थियो। एपिएफकी मुख्य स्पाइकर सरस्वती चौधरी पुलिस विरुद्धको सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी थिइन। जसले शुक्रबार फाइनलमा प्रभाव पारेको थियो। फाइनलको तेस्रो सेटमा अन्त्यतिर पनि डिफेन्स गर्ने क्रममा सरस्वतीको खुट्टामा चोट बल्भि्कएको थियो। डायमन्डले ६ फिटकी स्पाइकर सरस्वती घाइते भएको फाइदा लिने प्रयास पनि गर्‍यो। आफ्नो स्वभाविक स्पाइक गर्न नसके पनि सरस्वतीले डिफेन्समा धेरै गल्ती गरिनन्। जसको फाइदा टोलीलाई पुग्न गयो। सरस्वती फर्ममा नभए पनि एपिएफसँग ५.८ फिटकी ओपन स्पाइकर नेविका चौधरी, ६ फिटकी ब्लकर हिरा केसी, स्पाइकर रेश्मा विष्ट र ब्लकर उषा विष्टले खेल नियन्त्रणमा लिएका थिए।

एपिएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले सरस्वती घाइते भए पनि अन्य खेलाडीले कमजोर पोजिसनमा मेहनत गरेको बताए। शुक्रबार जितेको उपाधि प्रशिक्षक विष्टको करियरमा विशेष उपाधि हो। १५ वर्ष देखि एपिएफमा आवद्ध विष्टले पहिलो पटक महिला टोलीको मुख्य प्रशिक्षक भएर प्रतियोगितामा नेतृत्व गर्ने अवसर पाएका थिए। पहिलो अवसरमै उनले टोलीलाई उपाधि दिलाउन सफल भए। उनले कपिलकिशोर श्रेष्ठ र सुदेशकुमार रिमालजस्ता प्रशिक्षकसँग सहायकको रुपमा काम गरिसकेका थिए।

एपिएफबाट स्पाइकर नेविका, रेश्मा, उषा र सरस्वतीले समान रुपमा आफ्नो जिम्मेवारी पूरा गरिरहँदा डायमन्ड भने प्रतिभा मालीको स्पाइकमा धेरै निर्भर थियो। प्रतिभाले खेलभर ३६ अंक स्पाइकबाट लिए पनि टोलीलाई जिताउन त्यो पर्याप्त भएन। पुरानै समस्याले निरन्तरता पाउँदा डायमन्ड फाइनलमा असफल भएको प्रशिक्षक कुमार राईले बताए। अलराउन्डर र ब्लकर कमजोर हुँदा पुनरागमन गरिसकेको खेल हार्नु परेको उनको भनाई थियो।  राइले भने, 'ब्लकर वाल्मी आचार्यले पहिलो पटक सिनियर टिमबाट खेलिन। उनमा अनुभवको कमी छ। डिफेन्स हाम्रो बलियो पक्ष हो। तर फाइनलमा डिफेन्स र ब्लक दुवै कमजोर भयो।'

बेन्चमा खेलाडी बलियो नहुनु पनि डायमन्डको अर्को कमजोर पक्ष थियो। जसलाई स्विकार्दै प्रशिक्षक राईले आगामी दिनमा ब्लकर र अलराउन्डर उत्पादनमा ध्यान दिने बताए।

सेमिफाइनल र फाइनलमा गरेको प्रदर्शनबाट ९४.५३ प्रतिसत अंक प्राप्त गर्दै एपिएफकी सरस्वती चौधरीले प्रतियोगिताको उत्कृष्ट खेलाडीको ट्रफी जितिन। ८२.०७ प्रतिसत अंक जोडेकी डायमन्डकी प्रतिभा उत्कृष्ट स्पाइकर र  विशेष अवार्डबाट पुरस्कृत भइन। यसैगरी शुक्रबारै भएको तेस्रो स्थानको खेलमा पश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई २२–२५, २५–१८, २२–२५, २६–२४, १५–१३ ले हरायो। विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, प्रायोजक शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयल र आयोजक शेरबहादुर खड््का स्मृती प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का लगायतले पुरस्कृत गरे।

उत्कृष्ट खेलाडीः सरस्वती चौधरी (एपिएफ)

उत्कृष्ट स्पाइकरः प्रतिभा माली (न्यु डायमन्ड)

उत्कृष्ट सेटरः कृपा अधिकारी (न्यु डायमन्ड)

उत्कृष्ट सर्भरः नेविका चौधरी (एपिएफ)

उत्कृष्ट ब्लकरः पुनम चन्द (पश्चिमाञ्चल)

उत्कृष्ट क्विकरः उषा विष्ट (एपिएफ)

उत्कृष्ट लिबेरोः सलिना श्रेष्ठ (न्यु डायमन्ड)

प्रकाशित: २७ जेष्ठ २०७४ ०३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App