८ वैशाख २०८१ शनिबार
खेल

भारतमाथि श्रीलंकाको रोमाञ्चक जित

लन्डन- कुशल मेन्डिसप्रेरित श्रीलंकाले  बिहीबार साबिक विजेता भारतमाथि ७ विकेटको सानदार जित हात पार्दै च्याम्पियन्स ट्रफीको सेमिफाइनल प्रवेश सम्भावना जीवित राखेको छ। ३ सय २२ रनको लक्ष्य श्रीलंकाले ८ बल अगावै हासिल गर्‍यो। ११ रन जोड्दा ओपनर निरोसान डिकबेला(७) लाई गुमाएपछि श्रीलंका सुरुआति दबाबमा परेको थियो। तर म्यान अफ दी म्याच मेन्डिस र धनुस्का गुनाथिलकाले दोस्रो विकेटका लागि १ सय ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै श्रीलंकाको इनिङ उकासेका थिए। ९३ बल खेलेका मेन्डिसले रन आउट हुनुपूर्व ११ चौका र १ छक्का सहित ८९ रनको योगदान दिँदा ७२ बल खेलेका गुनाथिलकाले ७ चौका र १ छक्काको मद्दतमा ७६ रन प्रहार गरे।

अगस्टपछि पहिलो पटक एक दिवसीय खेलका लागि मैदान फर्किएका कप्तान एन्जेलो म्याथ्युजले अविजित ५२ र एसिला गुणारत्नेले अविजित ३४ रन बनाए। कुशल परेरा रियायर्ड हर्ट भएपछि ब्याटिङका लागि आएका गुणारत्नेले चौथो विकेटका लागि म्याथ्युजसँग अविजित ५१ रनको साझेदारी गर्दै श्रीलंकालाई सहज जित दिलाएका थिए।

भारतका भुवनेश्वर कुमारले १ विकेट लिए।

यस जितपछि समूह ‘बी’ का चारै टोलीको सेमिफाइनल सम्भावना जीवित रहेको छ। सबै टोलीको समान २ अंक रहेकाले आइतबार र सोमबार हुने समूह चरणका अन्तिम खेलले मात्र अन्तिम ४ पुग्ने टोलीको टुंगो लगाउने छ।

भारतले आइतबार दक्षिण अफ्रिका तथा श्रीलंकाले सोमबार पाकिस्तानसँग खेल्दैछन्।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतले ओपनर शिखर धवनको शतकमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ सय २१ रन बनाएको थियो। रोहित र धवनले पहिलो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरेका थिए।

१ सय २८ बल खेलेका धवनले १५ चौका र १ छक्का मद्दतमा १ सय २५ रन जोड्दा शर्माले ७९ बलमा ६ चौका र ३ छक्का सहित ७८ रन बनाए। त्यस्तै महेन्द्रसिंह धोनीले ६३ रनको योगदान दिए।

समूह चरणको पहिलो खेलमा पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कप्तान विराट कोहली र युवराज सिंह यस खेलमा भने चल्न सकेनन्। कोहलीले खाता खोल्न सकेनन। युवराजले ७ रनमात्र बनाए।

श्रीलंकाका लसिथ मालिंगाले २ तथा नुवान प्रदिप, सुरंगा लकमल र गुणारत्नेले समान १ विकट लिए।

प्रकाशित: २७ जेष्ठ २०७४ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App