७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनावमा नजाने राजपा निष्कर्ष

काठमाडौं- दोस्रो चरणको निर्वाचनपछि मात्र संविधान संशोधन हुने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ट पारेपछि राष्ट्रिय जनता पार्टी चुनावमा नजाने निष्कर्षमा पुगेको छ।

चुनावअघि स्थानीय तहको संख्या वृद्धि र संविधान संशोधन दुवै नहुने स्थिति देखिएकाले चुनावमा नजाने निष्कर्षमा पुगेको राजपा नेताले बताएका छन्। पछिल्लो तीनबुँदे सहमतिअनुसार सरकारले मधेस आन्दोलनका क्रममा लगाएका मुद्दा फिर्ता लिने, सहिद घोषणा गर्ने र क्षतिपूर्ति दिने निर्णय गरे पनि कार्यान्वयन प्रक्रियामा नगएको आरोप राजपाका नेताले लगाएका छन्।

चुनावअघि संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि हुनुपर्ने सर्त राखेका थियौं। दुवै सर्त पूरा हुने स्थिति देखिएन। त्यसैले चुनावमा नजाने निर्णय करिबकरिब भएको छ- महन्थ ठाकुर, संयोजक, राजपा।

प्रधानमन्त्री देउवाले शुक्रबार संसद्मा चुनावपछि मात्र संविधान संशोधन हुने प्रस्ट पारेका थिए। त्यसपछि राजपा अध्यक्ष मण्डलका सदस्यले अनौपचारिक छलफल गरेका थिए। संविधान संशोधन हुने स्थिति नदेखिएकाले चुनावमा नजाने निष्कर्षमा आफूहरू पुगेको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बताए। 'चुनावअघि संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि हुनुपर्ने सर्त राखेका थियौं। दुवै सर्त पूरा हुने स्थिति देखिएन,' ठाकुरले भने, 'त्यसैले राजपा चुनावमा नजाने निर्णय करिबकरिब भएको छ।'

सरकारले मुद्दा फिर्ता गर्ने, सहिद घोषणा गर्ने, क्षतिपूर्ति दिने भनी निर्णय गरे पनि कार्यान्वयन प्रक्रियामा नआएको उनले बताए। 'यस्तो अवस्थामा हामी कसरी चुनावमा जाने', उनले भने।

यता, राजपालाई चुनावमा सहभागी गराउन निर्वाचन आयोगले उम्मेदवारको मनोनयन आधिकारिक पुष्टि गर्ने नमुना हस्ताक्षर बुझाउन आह्वान गरेको छ। तर आयोगले दिएको समयभित्र नमुना हस्ताक्षर बुझाउन कुनै तयारी नभएको राजपा नेताले बताएका छन्।

स्रोतका अनुसार राजपाका चुनाव पक्षधर नेता पनि  दुविधामा परेका छन्। राजपामा आबद्ध तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीका नेताले शुक्रबारै आन्तरिक छलफल गरेका थिए। चुनावका लागि सरकारले वातावरण नबनाएको निष्कर्ष उनीहरूले निकालेका थिए।

आइतबार राजपासहित संघीय गठबन्धनको बैठक बस्दैछ। आइतबारसम्म सरकारले आश्वस्त पार्न नसके सोही दिन आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी रहेको राजपा नेताले जनाएका छन्। चुनाव बिथोल्नेगरी अनिश्तिकालीन बन्दसम्मका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको नेता केशव झाले बताए।

सम्भावना जीवितै

आइतबार आन्दोलनका नयाँ कार्यक्रम घोषणा हुनुअघि सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाए चुनावमा जाने सम्भावना अझै बाँकी रहेको राजपा नेताले बताएका छन्। सहिद घोषणा, क्षतिपूर्ति, मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन गरेमा र चुनावपछि संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता जनाएमा पार्टी चुनावमा जाने सम्भावना भएको एक नेताले बताए। 'त्यो स्थितिमा पार्टीभित्रका केही धार चुनावमा सहभागी हुन सक्छन्', ती नेताले भने।

राजपामा शरतसिंह भण्डारी र महेन्द्र यादव चुनावमा जानुपर्ने लाइनमा छन् तर उनीहरु खुलेर बोलेका छैनन्। उनीहरुले सरकारले वातावरण बनाए चुनावमा जान सकिने धारणा राख्दै आएका छन्। राजपाभित्र राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा भने संविधान संशोधन नभई चुनावमा जानै नसकिने अडानमा छन्।

प्रकाशित: २७ जेष्ठ २०७४ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App