७ वैशाख २०८१ शुक्रबार
अन्य

रौनक गुमाउँदै न्युरोड

राजधानीको मुख्य व्यापार केन्द्र न्युरोडले विस्तारै आकर्षण गुमाउँदै गएको छ। थोक बिक्रेताको पुरानो व्यापारिक केन्द्र न्युरोडमा पछिल्ला केही वर्षयता ग्राहकको संख्या घट्दो छ।

न्युरोडको पहिलो आधुनिक व्यापारिक क्षेत्र विशाल बजारमा समेत ग्राहकको संख्या निकै कम छ। विशाल बजार पार्किङ सुविधा भएको यस क्षेत्रको एउटा मात्र बजार हो।

चक्रपथभन्दा बाहिरी क्षेत्रमा पनि सहर विस्तार भएसँगै ग्राहक भित्री सहर तथा चक्रपथ बाहिरका व्यापारिक मलतर्फ आकर्षित हुन थालेका छन्। न्युरोड तथा आसपासका क्षेत्रमा ग्राहकको आकर्षण कम हुन थालेपछि त्यस क्षेत्रका व्यवसायी चिन्तित छन्। ग्राहक न्युरोड क्षेत्रमा भन्दा आधुनिक मल तथा सपिङ कम्प्लेक्सतर्फ आकर्षित हुनुको मुख्य कारण पार्किङ क्षेत्र अभाव भएको उनीहरूको भनाई छ।

विद्युतीय सामग्री सम्बन्धी खुद्रा व्यापार गर्दै आएका नरेन्द्रबहादुर श्रेष्ठ ग्राहक आधुनिक मलतर्फ आकर्षित भएपछि टेलिभिजन र रेफ्रिरेजेरेटर नै राख्ने छाडेको बताउँछन्। उनी भन्छन्, 'हाम्रा अधिकांश ग्राहक निजी सवारी साधन प्रयोग गर्छन्, आजभोली उनीहरुले यस क्षेत्रमा पार्किङ स्थल नै फेला पार्दैनन्, यस क्षेत्रमा दुई पांग्रे सवारी साधनका लागि समेत पर्याप्त पार्किङ क्षेत्र छैन।'

न्युरोडको पहिलो आधुनिक व्यापारिक क्षेत्र विशाल बजारमा समेत ग्राहकको संख्या निकै कम छ। विशाल बजार पार्किङ सुविधा भएको यस क्षेत्रको एउटा मात्र बजार हो। 'न्युरोड र आसपासका बजारमा पहिले जस्तो भीडभाड हुँदैन, ग्राहकले आफ्नै नजिकका व्यापारिक मलमा किनमेल गर्छन्,' विशाल बजार कम्पनी लिमिटेडका सचिव दिलिपजंग शाह भन्छन्। उनी पछिल्ला वर्षमा व्यापारि को मुनाफाको मात्रा कम हुँदै गएको बताउँछन्। 'केही वर्ष अघिसम्म विशाल बजार भारतीय पर्यटकको मुख्य व्यापारिक गन्तव्य थियो। तर, अचेल निकै कम मात्र भारतीय पर्यटक किनमेलका लागि आउँछन्,' उनले भने।

पाँच वर्ष पहिलेको तुलनामा अहिले न्युरोड निकै अस्तव्यस्त र फोहोर सहरका रूपमा विकास भएको छ। तथापि काठमाडौं महानगरपालिकामा मेयर नियुक्त भएपछि व्यापारीमा केही आशा पलाएको छ। उनीहरू भन्छन, 'नयाँ मेयरले यस व्यापारिक केन्द्रलाई जीवन्त राख्न सफा र पर्याप्त पार्किङ क्षेत्रको व्यवस्था गर्छन् भन्ने अपेक्षा गरेका छौँ।'

सिजी मोबाइल पाकोका थोक बिक्रेता अमृत मानन्धर अहिले पनि ग्राहक ब्राण्डेड मोबाइल खरिद गर्न न्युरोडमै आउन मन पराउने बताउँछन्। तर, पार्किङ समस्याका कारण ग्राहकलाई समस्या हुने मानन्धरको भनाई छ। पाको युथ क्लबका पूर्वअध्यक्ष समेत रहेका मानन्धर नयाँ सपिङ मलमा पर्याप्त पार्किङ क्षेत्र रहेकाले ग्राहक त्यस्ता मलमा खोलिएका मोबाइल पसलमा आकर्षित हुने बताउँछन्। 

ट्राफिक प्रहरीले दुई महिना पहिले लागू गरेको नयाँ नियमले न्यूरोडमा पार्किङ समस्या थप जटिल बनेको छ। नयाँ नियम अनुसार मोटरसाइकल सडकको एकतर्फ मात्र पार्किङ गर्न पाइन्छ।

संस्कृतविद् सत्यमोहन जोशी उपत्यकाभरका मानिस किनमेल गर्न न्यूरोड आउने गरेको बताउँछन्। उनी भन्छन्, 'म युवा अवस्थामा हुँदा न्यूरोड निकै जीवन्त थियो, त्यतिबेला अधिकांश मारवाडी व्यापारी हुन्थे, न्युरोड आयातित सामग्रीका लागि चर्चित गन्तव्य थियो।'

प्रकाशित: २६ जेष्ठ २०७४ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App