५ वैशाख २०८१ बुधबार
अर्थ

प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान

बनेपा- एक रुपैयाँले के आउँछ र? तर यही एक रुपैयाँले काभ्रेका दूध उत्पादक किसानलाई नसोचेको खुसी ल्याइदिएको छ। दूध उत्पादनमा अग्रणी काभ्रेका किसानले बढी दूध उत्पादन गरेर योगदान पुर्‍याएबापत सरकारले खरिद मूल्यमा एक रुपैयाँ थपिदिएको हो।

‘हालसम्म चारवटा दुग्ध सहकारीमा आवद्ध काभ्रेली किसानका लागि ३१ लाख रुपैयाँ आइसकेको छ। अरु सहकारीको पनि आउने क्रममा छ,’ जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. नारायणबहादुर श्रेष्ठले भने।

पशु सेवा विभागअन्तर्गत पशु उत्पादन निर्देशनालयले दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्न प्रतिलिटर दूधमा एक रुपैयाँ थपिदिने कार्यक्रम ल्याएको उनको भनाइ छ। ‘यसका लागि कृषक सहकारीमा आवद्ध भएको हुनुपर्ने र सहकारीले दैनिक न्यूनतम पाँच सय लिटर दूध संकलन गरेको हुनुपर्ने सर्त राखिएको थियो। यसपटक काभ्रेका १२ वटा सहकारीले आवेदन गरेका छन्,’ डा. श्रेष्ठले थपे।

आर्थिक वर्ष २०७२/०७३ मा उल्लेख्य दूध संकलन गरेका सहकारीले यसपटक थप अनुदान पाएका हुन्। तिनमा सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था, रबिओपी– २ ले १२ लाख २५ हजार, मंगलटार–९ को तिमाल महाभारत बहुद्देश्यीय सहकारीले नौ लाख ४८ हजार, महादेवस्थान–८ को उमादेवी दुग्ध उत्पादक सहकारीले ६ लाख ४० हजार र सोही स्थानको देवी पञ्चकन्या बहुद्देश्यीय सहकारीले दुई लाख ४७ हजार रुपैयाँ थप अनुदान पाएको हो।

‘सरकारले कार्यक्रम नल्याउँदा पनि हामीले बिहान र साँझ गरी दैनिक दुईपटक दूध ल्याउने किसानलाई प्रतिलिटर ५० पैसाका दरले आफ्नै स्रोतले थप दिँदै आएका थियौं। यतिखेर आएको अनुदान थप हुँदा कृषकहरु दूध उत्पादनमा मात्रै नभई गुणस्तरका लागि समेत उत्साहित हुनुभएको छ,’ सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष चतुर्भुज तिमल्सिनाले भने।

‘हामीसँग चिस्यान उपकरण पहिल्यैदेखि थियो। किसानले बेलुकीको दूध घरमा राख्दा विविध कारणले बिग्रने गरेको पायौं। त्यसैले दुईपटक संकलन गर्न थालेका हौं,’ उनले भने। दैनिक तीन हजार आठ सय लिटरसम्म दूध संकलन हुने उक्त सहकारीले विगतदेखि दूधको सही गुणस्तर कायम राख्नका लागि चिलिङ भ्याट र ढुवानीका लागि स्टिल ट्यांकको व्यवस्था गरेको छ।

निर्देशनालयले अघिल्लो आर्थिक वर्षको दूध संकलनका आधारमा आर्थिक वर्ष २०७३/०७४ मा मुलुकभर सात करोड रुपैयाँ अनुदान दिने लक्ष्य राखेको छ। यसका लागि एक सय ३३ वटा सहकारीले आवेदन गरेकामा कागजात पूरा भएका ४० वटा सहकारीले यो रकम लगिसकेका र सहकारीहरु आउने क्रममा रहेको निर्देशनालय स्रोत उल्लेख गर्दै डा. श्रेष्ठले भने, ‘यो वर्ष पौने सात करोड रुपैयाँ थप अनुदान किसानसम्म पुग्ने प्रक्षेपण गरिएको छ।’

काभ्रे जिल्लाभरका चार सयवटा दुग्ध संकलन केन्द्रबाट दैनिक तीन लाख लिटर अप्रशोधित दूध संकलन हुने गरेको छ। जिल्ला पशु सेवा कार्यालयका अनुसार आव २०७२/७३ मा एक लाख २० हजार पाँच सय मेटि्रक टन दूध उत्पादन भएको थियो। यसरी उत्पादित दूधमध्ये ८० प्रतिशत दूध दैनिक काठमाडौं उपत्यकामा जाने गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०७४ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App