८ वैशाख २०८१ शनिबार
खेल

चेल्सी छोड्ने सोचमा कोस्टा

मर्सिया- चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले आगामी सिजनका लागि बनाएको योजनामा आफूलाई खास महत्व नदिएको बताएपछि डिएगो कोस्टा स्टामफोर्ड ब्रिजबाट बाहिरिने सोचमा पुगेका छन्।

भर्खरै सम्पन्न सिजनमा चेल्सीको प्रिमियर लिगको उपाधि जित्दा कोस्टाले २२ गोल गर्दै सबभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कोन्टेले इङ्लिस च्याम्पियन टोलीमा कोस्टाको भविष्य नभएको बताएपछि आफूसामु क्लब छोड्नुको विकल्प नरहेको उनले बताए। कोस्टाका अनुसार इटालियन प्रशिक्षक कोन्टेले स्वयम् उनलाई नै आगामी सिजनको योजनामा महत्व नदिएको प्रस्टसँग बताएका थिए।

'प्रशिक्षकबाट मैले आफू आगामी सिजनको उनको योजनामा नरहेको सन्देश पाइसकेको छु। त्यसैले इमानदारीपूर्वक कुरा गर्दा अब मैले चेल्सीमा भविष्य खोज्नु हुँदैन,' बुधबार कोलम्बियासँग २–२ को बराबरी नतिजा निस्किएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलपछि स्पेनका अन्तर्राष्ट्रिय स्ट्राइकर कोस्टाले पत्रकारहरूसँग भने, 'तत्कालका लागि म चेल्सीकै खेलाडी हुँ। किनकि म अझै चेल्सीसँगै सम्झौतारत छु। तर प्रशिक्षकले मलाई त्यहाँ चाहदैनन् भने मैले छोड्नुपर्छ।'

गत महिना कोस्टाले आफू एट्लेटिको मड्रिड फर्कने विषयमा मात्र सोच्न सक्ने बताएका थिए। एट्लेटिकोबाटै उनी २०१४ मा चेल्सी आएका थिए। तर स्पेनिस टोलीलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनवरीसम्म सरुवा बजारमा प्रतिबन्ध लगाएकाले तत्काल भिसेन्टे काल्डेरोन फर्किने उनको चाहना पनि कठिन बनेको छ। एट्लेटिको फर्किने सहमति गरे पनि उनले खेल्नका लागि भने नयाँ वर्षसम्म कुर्नुपर्नेछ।

एट्लेटिको फर्किने विषयमा सोधिएको प्रश्नमा उनको जबाफ थियो, 'मलाई थाहा छैन। चार/पाँच महिनासम्म नखेली बस्नु सहज हुँदैन। मलाई एट्लेटिकोका टिम सहयात्रीहरू मन पर्छन, मलाई मड्रिडमा बस्न मन पर्छ भन्ने सबलाई थाहा छ। तर मैले आफ्नो भविष्यवारे पनि सोच्नुपर्छ।'

प्रशिक्षकको रोजाइमा नपरेपछि आफ्ना लागि राखिने मूल्य कम हुने र त्यसले सरुवा सहज हुने उनको आशा छ। 'अब सरुवाको विषय सजिलो भएको छ। प्रशिक्षकले आफ्नो टिममा चाँहदैनन् भने क्लबले मलाई बेच्नुपर्छ। त्यो सर्तमा क्लबले सम्झौता गर्नेछ,' उनले भने।

प्रकाशित: २६ जेष्ठ २०७४ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App