८ वैशाख २०८१ शनिबार
खेल

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

काठमाडौं- नेपाली भलिबलमा चिर प्रतिद्वन्द्वीका रूपमा रहेका सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र न्यु डायमन्ड  एकेडेमीले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

बिहीबार भएको सेमिफाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गर्दा न्यु डायमन्डले पश्चिमाञ्चल भलिबल संघलाई ३–० कै सेटमा पराजित गरको थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपिएफले नेपाल पुलिस क्लबमाथि २५–११, २५–२०, २५–१६ को सेटमा स्तब्ध बनाएको थियो।

एपिएफकका लागि सरस्वती चौधरीले ४४ स्पाइकबाट २१ र सर्भिसबाट ४ अंक बटुल्दा नेविका चौधरीले ३५ स्पाइकबाट १५ अंक जोडिन्। पुलिसकी कोपिला उप्रेतीले स्पाइकबाट ११ र सर्भिसबाट एक अंक जोडिन्। यस्तै मनीषा चौधरीले स्पाइकबाट सात र सर्भिसबाट एक अंक जोडिन्। एपिएफ र न्यु डायमन्डबीचको फाइनल खेल शुक्रबार हुनेछ।

बिहीबारै भएको दोस्रो सेमिफाइनलमा पश्चिमाञ्चलले न्यु डायमन्डलाई पहिलो सेट दबाबमा राखे पनि बाँकी सेटमा त्यही लय दोहर्‍याउन नसक्दा ३–० सेटको नतिजा सुम्पिनुपरेको थियो।

पहिलो सेटमा २५–२२ को कडा टक्कर पाएको न्यु डायमन्डले दोस्रो र तेस्रो सेटमा क्रमशः २५–९, २५–१४ को नतिजा निकाल्यो। न्यु डायमन्डका लागि प्रतिभा मालीले ६६ स्पाइकबाट ३८ अंक जोडिन्। सेटर कृपा अधिकारीले सर्भिसबाट सात अंक जोडिन्।

पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङले ३४ सटबाट ७ र सर्भिसबाट २ अंक जोडिन्। अरुणा शाहीले ४४ सटबाट ७ अंक जोड्दा सर्भिसबाट १ अंक बटुलिन्।

साबिक विजेता एपिएफ समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाउँदा न्यु डायमन्डले समूह 'बी' बाट विजेताको हैसियतमा सेमिफाइनल पक्का गरेको थियो।

प्रतियोगिताको विजेता टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पनि १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यसै गरी विधागत उत्कृष्टतर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकले जनही तीन हजार रुपैयाँसहित आकर्षक ट्रफी पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: २६ जेष्ठ २०७४ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App