८ वैशाख २०८१ शनिबार
खेल

पुलिस र आर्मी संयुक्त विजेता

काठमाडौं- सर्वाधिक पुरस्कारसहित तीन वर्षपछि भएको एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले संयुक्त रूपमा जितेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टर हारेर ब्याटिङका लागि निम्त्याइएको नेपाल पुलिस क्लबले ४५.१ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन बनाएको थियो। १ सय २६ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लबले २.३ ओभरमा १ विकेट गुमाई ७ बनाएर खेलिरहँदा वर्षाले खेल प्रभावित बनेको थियो। त्यसपछि खेल हुन सकेन र दुई टोलीले संयुक्त रूपमा उपाधि बाँडे।

नेपाल पुलिस क्लबका कप्तान मञ्जित श्रेष्ठले फाइलन खेल पूरा खेल्न नपाउँदा खल्लो भएको प्रतिक्रिया दिए। उनले थपे, ‘संयुक्त रूपमा विजयी भएका छौं। तर पूरा खेल खेलेर जित्न पाएको झन् खुसी हुने थियौं। तर, पानीले खेलमा अवरोध गरेकाले त्यस्तो हुन नसक्दा हामी केही दुःखी छौं।’

नेपाल पुलिसका लागि ओपनर सुनील धमलाले सबैभन्दा धेरै ३२ रन बनाए। ९० बल खेलेका धमलाले २ चौका र १ छक्का प्रहार गरे। सिद्धान्त लोहनीले २० रन बनाए। ४२ बलमा १ चौका र १ छक्का प्रहार गरेका सिद्धान्तले सुशील कँडेलसँग आठौं विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए। नेपाल पुलिसको इनिङमा बनेको यही नै सबैभन्दा ठूलो साझेदारी थियो। त्यसअघि सुनीलले दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि ३० रन तथा कुशल भुर्तेलसँग पाँचौं विकेटका लागि २२ रनको साझेदारी गरेका थिए। दीपेन्द्रसिंहले १९ रन बनाउँदा कुशल भुर्तेलले १५ रन जोडे। पुलिस क्लबका कप्तान मञ्जितले ब्याट्सम्यानले राम्रो साझेदारी गर्न नसक्दा सोचेजस्तो रन बन्न नसकेको बताए।

‘आज पिच कन्डिसन बलरलाई साथ दिने खालको थियो,’ मञ्जितले भने, ‘ब्याट्सम्यानहरुले केही खराब सट खेले। कुनै पनि ब्याट्सम्यानले लामो साझेदारी गर्न सकेनन्। त्यसैले सोचेजस्तो रन बन्न सकेन।’

त्रिभुवन आर्मीका जितेन्द्र मुखियाले ४ विकेट लिए। स्पिनर सुशन भारीले तीन विकेट लिँदा सागर पुनले २ विकेट लिए। सोमपाल कामीको नाममा १ विकेट रह्यो। प्रतियोगितामा १४ विकेट लिएका सुशन भारी उत्कृष्ट बलर घोषित भए। उनले ५० हजार नगद रुपैयाँ पुरस्कार पाए। पश्चिमाञ्चलका सौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान बने। पश्चिमाञ्चललाई अन्तिम चारसम्म पुर्‍याउन महŒवपूर्ण भूमिका खेलेका सौरभले २ सय ७० रन बनाएका थिए। सौरभले सबैभन्दा धेरै २७ छक्का प्रहार गरेका थिए। पश्चिमाञ्चलकै विपिन खत्री उदीयमान खेलाडी बन्दा त्रिभुवन आर्मीका सागर पून प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए। विपिनले २५ हजार रुपैयाँ नगद जिते भने सागरले १ लाख रुपैयाँ नगद पुरस्कार पाए। सागरले पुरस्कारको २५ प्रतिशत रकम वृद्धाश्रमलाई सहयोग स्वरूप दिने घोषणा गरे।

१ सय २७ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मीले पनि ब्याटिङमा राम्रो सुरुआत गर्न सकेको थिएन। तेस्रो ओभरको तेस्रो बलमा आर्मीले ओपनर महेश क्षत्रीलाई गुमाएको थियो। ४ रन बनाएका महेशलाई ललित भण्डारीले एलविडब्लु आउट गरेका थिए। पानी परेर खेल रोकिँदा अनिल मन्डलले रनको खाता खोल्न सकेका थिएनन्।

त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले खेलाडीले राम्रो खेले पनि मौसमले साथ नदिँदा फाइनल नतिजाविहीन बनेको बताए। ‘खेल रोकिँदा हामी बलियो थियौं तर, खेल हुन नसक्दा केही दुःख त लागि हाल्छ। पुलिस यो स्थितिमा भएको भए उनीहरू पनि निराश हुन्थे होला,’ विनोदले थपे, ‘खेल हुने आशामै थियौं तर अम्पायरले खेल हुनै सक्दैन भन्नुभयो त्यसैले निराश त छौं तर समग्रमा हामी सन्तुष्ट छौं।’

प्रकाशित: २६ जेष्ठ २०७४ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App