८ वैशाख २०८१ शनिबार
समाज

दुबई र भारतबाट नेपालमा कल बाइपास

काठमाडौं- प्रहरीले अवैध कल बाइपासमा संलग्न संगठित समूहविरुद्धको कारबाहीलाई तीव्र्र बनाएपछि गिरोहले नेपालमा सहयोगी राखेर भारत र दुबईबाट कल बाइपास गराउँदै आएको खुलेको छ। अनुमति लिएर दूरसञ्चार सुविधा दिएका कम्पनीको गेटवे छल्दै भइरहेको अवैध कल बाइपास रोक्न प्रहरीले ७ वर्षदेखि कारबाही गर्दै आएको छ। नेपाली सीमाभित्र उपकरण राखेर कल बाइपास गराउँदा सहयोगी पक्राउको क्रम बढेपछि मुख्य सञ्चालकहरूले मुख्य केन्द्र्र नेपालबाहिरै राख्ने गरेको खुलेको हो।

उनीहरूले इन्टरनेट र नेपाली दूरसञ्चार कम्पनीको सिम दुरुपयोग गरेर नेपालबाहिरै बसेर नेपालमा कल बाइपास गराउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको हो।

वैशाखमा ७ मा काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा उपकरणसहित अनुपा खतिवडा पक्राउ परेकी थिइन्। अनुसन्धानमा खतिवडाले नेपालमा उपकरण राखे पनि सञ्चालन भने दुबईबाट हुने गरेको खुलेको थियो।

सोमबार प्रहरीले ललितपुरको बालकुमारी ढोका टोलमा डेरा लिएर बसेका मकवानपुर, हेटौंडा– ७ का शम्भु रिसाल फेला परेका थिए। रिसालको बयानका आधारमा कल बाइपासमा संलग्न काभ्रेपलाञ्चोक, रोशी गाउँपालिकाका राजाराम श्रेष्ठ र  मिलन तामाङ संलग्न रहेको खुलेपछि प्रहरीले यी दुवैजनालाई पक्राउ गरे। तीनैजना पक्राउ परेपछि उनीहरूको मुख्य केन्द्र भारत रहेको खुल्यो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रवक्ता मिरा चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा हेटौंडाबाट पक्राउ परेकाहरूले नेपाली दूरसञ्चार सेवा प्रदायकको सिम संकलन गरेर भारत पुर्‍याउने र प्रोक्सी सर्भर प्रयोग गरेर कल बाइपास गर्ने गरेको खुलेको छ। गिरोहले प्रारम्भमा भिओआइपी प्रविधिको प्रयोग गरेर कल बाइपास गराउँदै आएकोमा पछिल्लो समय जिओआइपीको प्रयोग गर्ने गरेको समेत खुलेको थियो।

'नेपालमा उपकरणै नराखी नेपाली सिमको भरमा भारतबाटै कल बाइपास हुने गरेको खुल्यो,' उनले भनिन्, 'यस्तो सम्भव छ र भन्ने पाटोमा प्राविधिकसँग छलफल गर्दा सम्भव हुने देखियो।'

सहजै भित्रिन्छ दूरसञ्चार उपकरण

गेटवेको अभावमा कल बाइपास हुन सक्दैन। यसका लागि मोडियमसमेत आवश्यक पर्छ। नेपालमा पक्राउ परेकासँग यस्ता दूरसञ्चार उपकरण सहजै फेला पर्ने गरेका छन्।

सोमबार पक्राउ परेका रिसालको कोठामा प्रहरीले दूरसञ्चार सेवा प्रदान गर्ने अनुमति पाएको कम्पनीले सरकारसँग पूर्वअनुमति लिएर मात्रै भित्र्याउन पाउने १६ पोर्टको गेटवे मोडियम फेला पार्यो।

प्रहरीले एक महिनाअगाडि खतिवडाको कोठामा छापा मार्दा ६४ पोर्टको गेटवे उपकरण फेला पारेको थियो। अनुसन्धानमा उनलाई दुबईमा रहेका एक पाकिस्तानी नागरिकले हङकङबाट सो उपकरण नेपाल पठाएको र बिनाझन्झट उनले गेटवे लिएर कोठामा लगेर चलाइरहेको खुलेको थियो। यसअगाडि फेला परेका कल बाइपास केन्द्र्रहरूमा प्रहरीले ६४ पोर्टसम्मको गेटवेहरू फेला पारेको थियो।

'दूरसञ्चार उपकरण व्यक्तिले कसरी सहजै नेपाल भित्र्याइरहेका छन् भन्ने अझै खुल्न सकेको छैन,' एसपी चौधरीले भनिन्, 'यस विषयमा दूरसञ्चार क्षेत्रमा संलग्नसँग छलफल गर्ने तयारीमा छौं।'

बाइपासमा बंगलादेशी र पाकिस्तानी

ब्युरोले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरणअनुसार नेपालमा सञ्चालित अधिकांश कल बाइपासमा बंगलादेशी र पाकिस्तानी नागरिक संलग्न देखिने गरेका छन्। २०६६ ताका नेपालमा कल बाइपास सुरु हुँदा अधिकांश बंगलादेशी नागरिक पक्राउ पर्ने गरेका थिए। पछिल्ला केही घटनामा भने पाकिस्तानी नागरिकसमेत संलग्न देखिएका छन्।

एक महिनाअगाडि पक्राउ परेकी २४ वर्षीया खतिवडाको बयानमा पाकिस्तानी नागरिकको संलग्नता खुलेको थियो। दुबईमा काम गर्ने क्रममा परिचय भएकोे आसिन नामका पाकिस्तानी नागरिकले 'राम्रो आम्दानी हुने काम छ, लगानी दुबईबाटै हुन्छ' भनेर उनलाई नेपालबाट भिओआइपी चलाउन लगाएको खुलेको थियो।

ब्युरोको अनुसन्धान विवरणअनुसार उनी नेपाल फर्किएपछि आसिनको योजनामा ६४ पोर्टको गेटवे हङकङबाट नेपाल आएको थियो। गेटवे आएपछि उनले गोकर्णेश्वरमा कोठा भाडामा लिएर इन्टरनेट जोडेर असिमले भनेअनुसार कल बाइपास गराउँदै आएकी थिइन्। उनले गोकर्णेश्वरमा निगरानी मात्रै गर्थिन्। इन्टरनेटमार्फत आसिनले दुबईबाटै कल बाइपास गराउँदै आएको अनुसन्धानमा खुलेको ब्युरोको प्रारम्भिक अनुसन्धान विवरणमा उल्लेख छ।

९८ कल बाइपास केन्द्रमा छापा

ब्युरोले सोमबार ९८ वटा कल बाइपास केन्द्र्रमा छापा मारेर १ सय ४४ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा ३१ जना विदेशी नागरिक छन् भने अन्य नेपाली।

पक्राउ परेका अधिकांश नेपाली सहयोगी छन् भने अझै फरार रहेका भोलाशंकर लगायतकाहरू भने मुख्य योजानकार नै हुन्। प्रहरीले यसबीचमा २२ हजार ३ सय १७ वटा सिम कार्ड फेला पारिसकेको छ। दुरुपयोग भएका सिममा अधिकांश एनसेलका छन्।

प्रकाशित: २६ जेष्ठ २०७४ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App