coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नक्सापासमा नगरकै इन्जिनियरको मनोमानी

काठमाडौं- आफैंले इन्जिनियरिङ कलेज स्थापना गरी हजारौं इन्जिनियर उत्पादन गर्दै आएकोे भक्तपुर नगरपालिकाले आफ्नै सेवासुविधालाई सरल र सहज नबनाउँदा नगरवासीले दुःख पाएका छन्। पछिल्लो समय नक्सापासलगायत सानातिना काममा पनि नगरपालिकाका इन्जिनियरहरूले हदैसम्म दुःख दिने गरेको नगरवासीको गुनासो छ। 'नगरपालिका कार्यालयले त नगरवासीका अप्ठेरो सुल्झाउनुपर्ने हो तर हाम्रो नगरपालिकाले त दुःख मात्रै थुपारिदिएको छ,' भक्तपुर कमलविनायकका रामबहादुर बस्नेतले भने, 'नक्सापास गर्न दस दिन धाएँ। दशपटक धाउँदा दशवटा त्रुटि देखाए। अझै नक्सापास गरिदिएको छैन,' उनले भने।

बस्नेतको नक्सामा झ्यालको एक इन्च उचाइ मिलेको छैन। यसलाई इन्जिनियरिङ मापदण्डअनुसार पनि ठूलो त्रुटि मान्न नसकिने र सजिलै नक्सापास गरिदिँदा फरक नपर्ने इन्जिनियरहरू नै बताउँछन्। तर, नगरपालिकाका इन्जिनियरहरू आफैंले खोलेका कन्सल्टेन्सीबाहेक अन्य कन्सल्टेन्सीबाट नक्सा बनाइएका नक्सापास गर्न आउँदा मापदण्डअनुसार भएन भन्दै सेवाग्राहीलाई फर्काउने गरेको बस्नेतले गुनासो गरे।

उनका अनुसार नगरपालिकाका नक्सा फाँटका इन्जिनियर कृष्णराम दुवालले नक्सापास गर्न गएका धेरैजसो नगरवासीलाई झिनामसिना त्रुटि देखाउँदै फर्काउने गरेका छन्। दुवालको कमलविनायकमा (एबिसी) नामक आफ्नै कन्सल्टेन्सी पनि छ। आफ्नो कन्सल्टेन्सीमा तयार भएको नक्सा जाँदा भनेे सजिलै नक्सापास गरिदिएको च्यामासिंहका सुरेश श्रेष्ठले बताए। 'सुरुमा आफैंले चिनेका व्यक्तिलाई ७ हजार खर्च गरेर घरको नक्सा तयार गर्न लगाएँ, तर आठपटक धाउँदा पनि नगरपालिकाले नक्सामा झ्यालको उचाइ नमिलेको, घरको उचाइ एक इन्च अग्लो भएको, कार्नेस राख्ने प्रयोग नभएको, झ्यालभित्र सिसा राख्ने ठाउँ नमिलेकोे, घरभित्रको धाराको क्षेत्रफल धेरै भएको, भेन्टिलेसन नमिलेको जस्ता कारण देखाउँदै नक्सापास गरेन, दोहोरो पैसा खर्चेर फेरि दुवालकै कन्सल्टेन्सीमा गएर अर्को नक्सा बनाएपछि मात्रै नक्सापास भयो।'

यस्तो दुखेसो रामबहादुर र सुरेशको मात्रै हैन, यहाँका धेरैजसोकोे मुख्य समस्या सजिलोगरी नक्सापास नहुनु नै हो। नगरपालिकाका कर्मचारीले सामान्य काममा पनि दुःख दिँदा नगरवासी पीडित हुँदै आएका छन्।

नगरपालिकाको कार्यप्रणाली पारदर्शी र सेवामुखी नहुँदा नगरवासीले सानातिना विषयमा पनि समस्या झेल्नुपरेको वागिश्वरी कलेजका शिक्षक ज्ञानसागर प्रजापतिले बताए। उनले भने, 'नगरपालिकाकै लगानीमा खुलेको ख्वप इन्जिनियरिङ कलेजले हजारौं इन्जिनियर उत्पादन गर्‍यो तर अहिले त्यै नगरपालिकाका इन्जिनियरको चलखेल र कार्यलयको झन्झटिलो प्रक्रिया देख्दा दुःख लाग्छ।' उनले पनि नगरपालिकाका कर्मचारीले सञ्चालन गरेको बाहेकका कन्सल्टेन्सीमा बनाइएका नक्सा लिएर जाँदा नक्सापास नदिएको सुनाए। 'नगरपालिकाका नक्सा फाँटका कर्मचारी आफैंले तयार पारेको नक्सा भए मात्रै  नक्सापास हुन्छ भन्छन्,' शिक्षक प्रजापतिले भने, 'जनताको काम गर्न आएका कर्मचारीले नै यसरी फाइदा लिँदा र नचाहिने काममा दुःख दिँदा नगरवासीलाई ठूलो मर्का परेको छ।'

बिनासित्ति झन्झटिलो र दिक्कलाग्दो प्रक्रियाबाट नगरवासीलाई सास्ती दिने कर्मचारीको प्रवृत्तिबारे नवनिर्वाचित जनप्रतिनिधिको पनि ध्यानाकृष्ट भएको छ। सरकारी तलब खाएर नागरिकलाई सेवा दिने बहानामा व्यवसाय गर्न पल्केका कर्मचारीलाई कारबाही गर्ने भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिले बताए। 'चुनावी प्रचारप्रसारमा हिँड्दा पनि यहाँका नगरवासीले नक्सापास सरल र सहज बनाउन सुझाव दिएका थिए,' उनले भने, 'मैले चुनाव जितेपछि नगरपालिकाका कर्मचारीलाई आउँदा दिनमा यसो नगर्न चेतावनी दिइसकेको छु। यदि कुनै कर्मचारीले कुनै पनि बहानामा सेवाग्राहीलाई दुःख दिएर व्यावसायिक फाइदा लिन्छ भने त्यसलाई कडा कारबाही हुन्छ।'

नक्सापास गर्दा इन्जिनियरले गरेको गल्तीका कारण सेवाग्राहीले घरौटी रकम फिर्ता पाएका छैनन्। नगरपालिकाले घर बनाउन स्वीकृति दिएको नक्सा लिएर धरौटी फिर्ता लिन जाँदा नक्सा नमिलेको बहानामा धरौटी फिर्ता दिन नमानेको जगातिका पूर्णराम श्रेष्ठले गुनासो गरे। 'पहिला सबै प्रक्रिया मिलेको छ भनेर घरको नक्सापास गरिदिए,' उनले भने, 'घर बनिसकेपछि धरौटी माग्न जाँदा नक्सा नमिलेको त्रुटि देखाएर धरौटी दिन मानेनन्।'

नगरपालिकाका नक्सा शाखाका प्रमुख इन्जिनियर ओमहरि श्रेष्ठले अहिले नगरपालिकामा नक्सा कोर्ने र डिजाइन गर्ने सयभन्दा बढी इन्जिनियर भएको बताए। 'नक्सापासलाई प्रभावकारी बनाउन हामीले इन्जिनियरको संख्या पनि बढाएका छौं,' उनले भने, 'यदि कुनै इन्जिनियरले नक्सापास प्रक्रियामा दुःख दिएको छ भने कारबाही हुनुपर्छ।'

नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखे्रललेे नगरवासीले नै नक्सा बिगारेर आउँदा यस्तो समस्या आएको हुन सक्ने बताए। उनले भने, 'नक्सापासको सबै कुरा मलाई थाहा हुँदैन, यो काम नक्सा फाँटका इन्जिनियरहरूको हो, यदि अनियमित गरेर कर्मचारीले सेवाग्राहीलाई दुःख दिएका रहेछन् भने तुरुन्तै कारबाही हुन्छ।'  उनले नगरवासीबाट यस्ता खालका उजुरी नआएकाले कारबाही गर्न अप्ठेरो परेको जानकारी दिए।

प्रकाशित: २६ जेष्ठ २०७४ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App