coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालक अपहरणमा छिमेकीकै संलग्नता

सर्लाही- सर्लाहीको बरहथवाबाट सात वर्षीय बालकलाई अपहरण गरी भारत पुर्‍याउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बालकका छिमेकी पनि छन्। अपहरणको नौ दिनपछि भारतको घोडासान रेल्वे स्टेसनबाट बालकको सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन कुर्मीले बताए।

रौतहट गढीमाई नगरपालिका–१ घर भई बरहथवा–६ मा बसोबास गर्दै आएका गोरु व्यापारी रामपुकार यादवका छोरा राकेशकुमारलाई खेलिरहेको अवस्थामा जेठ १५ गते अपहरण गर्ने दुईजना छिमेकीसहित तीनजनालाई पक्राउ गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक कुर्मीले बताए।

बालक अपहरण आरोपमा गढीमाई–१ का २२ वर्षीय अशोक यादव, १८ वर्षीय  विक्की यादव र देवाहिगुना गाउँपालिका–३ का ३३ वर्षीय मोहन शाह कानुलाई प्रहरीले पक्राउ गरेको छ। गढीमाई–१ का यादवद्वय अपहरित बालकका छिमेकी हुन्। बालक अपहरण प्रयोग भएको बिआर ०५ एफ ७३८१ नम्बरको भारतीय नम्बर प्लेटको पल्सर मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

आरोपी पाँचजनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए। अपहरणका मुख्य योजनाकारलाई पनि छिटै पक्राउ गरिने उनले दाबी गरे।

रौतहट लक्ष्मीपुरका बारुद सिंह भनिने सुरेन्द्र यादवको मुख्य योजना र अशोकको योजनामा फिरौती असुल्न बालकको अपहरण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। रौतहटबाट अशोकले विक्की र मनमोहनलाई परिचालन गरेका थिए भने भारतको घोडासानबाट सुरेन्द्रले भारत बैरगनियाका नरेन्द्र चौधरी र परम्हंश यादवलाई परिचालन गरेका थिए। पीडित परिवारलाई धम्की दिएर फिरौती माग्ने काम सुरेन्द्र आफैंले गरेको प्रहरीले जनाएको छ।

यसरी भयो अपहरण

जेठ १५ गते गणतन्त्र दिवसको बिदा थियो। एलकेजीमा पढ्दै गरेका राकेश ४ बजेपछि सडकमा खेल्दै थिए। केही बेर खेल्न नपाउँदै पल्सर मोटरसाइकलमा आएका दुईजनाले जबर्जस्ती मोटरसाइकलमा चढाएर पश्चिमतर्फ भाग्न थालेपछि टोलभरि नै हल्लाखल्ला भयो। अपरिचित व्यक्तिले मोटरसाइकलमा चढाउनेबित्तिकै राकेशलाई नसालु पदार्थ इथर सुँघाएर बेहोस बनाएका थिए।

बरहथवाबाट मोटरसाइकल लिएर लालबकैया पुग्न लागेपछि अशोकले अपहरण गर्न सफल भएको सूचना मनमोहनलाई दिएका थिए। अपहरण सफल भयो, बाटो खर्च दिनुपर्‍यो भनेर फोन आएपछि नगद चार हजार रुपैयाँ लिएर मनमोहन अशोकलाई भेट्न मोटरसाइकलमा मौलापुर आएका थिए।

त्यसपछि मनमोहन उनीहरु सबैलाई लिएर  भारततर्फ जान खोजे। बाटोमा मनमोहनको  मोटरसाइकल बाख्रासँग ठोक्कि एर विवाद भएपछि अशोक र बिक्की बालक लिएर भारततर्फ लागेका थिए। मौलापुरबाट बंकुल पुगेपछि स्कर्टिङका लागि बैरगिनियाबाट परम्हंश र नरेन्द्र आइपुगेका थिए। त्यसपछि बालक घोडासान पुर्‍याई मुख्य योजनाकार सुरेन्द्रलाई जिम्मा लगाएर राति नेपाल फर्केका थिए। अपहरण भएको दुई दिनसम्म कुनै फिरौती माग नहुँदा प्रहरीलाई बालक पत्ता लगाउन साह्रै समस्या परेको थियो। जेठ १७ गते बिहान १० बजेतिर फिरौतीका लागि फोन आएको प्रहरीले जानकारी  पायो।

 पीडित परिवारले जानकारी नगराए पनि अनुसन्धान गर्दै जाँदा ५० लाख फिरौती मागेको प्रहरीले पत्ता लगायो। प्रहरी अनुसन्धान १७ गते मध्यरातिदेखि रौतहट र भारततर्फ केन्द्रित भयो। भारतीय प्रहरीसँग राम्रो सम्बन्ध बनाएका प्रहरी उपरीषक सुवेदी भारतमै डेरा जमाएर बसे। भारतीय प्रहरीको सहकार्यमा सुरेन्द्रको डेरामा छापा मारियो तर बालक भेटिएनन्। बालक नभेटेपछि प्रहरीले थप सक्रियता बढायो। केही व्यक्तिलाई भारतीय प्रहरीले पक्राउसमेत गर्‍यो। प्रहरी गतिविधिबारे सुइँको पाएका सुरेन्द्र अपहरण गरी ल्याएका बालकलाई अरुको जिम्मा लगाएर फरार भए। तर पछि असुरक्षित भएको महसुस भएपछि रेल्वे स्टे सनमा बालकलाई छोडेर उनले प्रहरीलाई खबर पठाएका थिए। रेल्वे स्टेशनमा जेठ २३ गते राति नेपाल प्रहरी र भारतीय प्रहरीले बालक फेला पारे। त्यसलगत्तै बिक्की, अशोक र मनमोहनलाई रौतहट प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। बालकलाई २४ गते परिवारको जिम्मा लगाइयो। २५ गते इलाका प्रहरी कार्यालय बरहथवामा  राकेशले आफूलाई चढाइएको मोटरसाइकल र चढाउने व्यक्ति पहिचान गरेका थिए।

प्रकाशित: २६ जेष्ठ २०७४ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App