६ वैशाख २०८१ बिहीबार
राजनीति

पहिलो बन्ने एमाले रणनीति

काठमाडौं- पहिलो चरणको स्थानीय तह चुनावमा पहिलो स्थान ओगट्न सफल एमालेले दोस्रो चरणमा पनि त्यसलाई निरन्तरता दिने रणनीति बनाएको छ। प्रदेश नम्बर १, २, ५ र ७ का ४ सय ६१ स्थानीय तहमा जनप्रतिनिधि चुन्न असार १४ गते दोस्रो चरणमा निर्वाचन हुँदैछ। प्रदेश नम्बर १ र २ का केही स्थानबाहेक अन्यमा एमालेले उम्मेदवार तय गरिसकेको छ।

'पहिलोभन्दा दोस्रो चरणमा पार्टीको पक्षमा चुनावी नतिजा अझै राम्रो हुने अपेक्षा लिएका छौं,' एमाले सचिव योगेश भट्टराईले बिहीबार नागरिकसँग भने, 'पहिलो चरणमा एमाले कमजोर भएका क्षेत्रमा चुनाव हुँदा पनि नतिजा राम्रो आयो, दोस्रो चरणमा चुनाव हुने क्षेत्रमा हामी बलियो छौं। त्यसैले अझै राम्रो नतिजा आउँछ।'

संविधान जारी भएलगत्तै भारतले गरेको नाकाबन्दीको समयमा एमाले नेतृत्वको तत्कालीन सरकारले लिएको अडानका कारण पार्टीले पहिलो चरणमा कांग्रेसलाई धेरै पछि पारेर विजयी हुने अपेक्षा गरेको थियो। तर अन्तर त्यति फराकिलो हुन सकेन।

पहिलो चरणमा निर्वाचन भएका २ सय ८२ स्थानीय तहमध्ये एमालेले १ सय २५ तहमा प्रमुख जितेको छ। मतपत्र च्यातिएका कारण भरतपुर महानगरपालिकाको परिणाम आउन बाँकी छ। मतपत्र च्यातिएको भरतपुरको वडा नम्बर १९ मा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरे पनि यो विषय अदालतमा पुगेको छ। 

'केन्द्रबाट तोकिनेबाहेक प्रदेश नम्बर १ का मोरङ र सुनसरीका केही र प्रदेश २ का २५ प्रतिशत स्थानीय तहमा उम्मेदवार छनोट हुन बाँकी छ,' भट्टराईले भने। एमालेले प्रदेश ५ र ७ मा उम्मेदवार टुंग्याइसकेको छ।

एमालेले नगरका मेयर र उपमेयरका उम्मेदवारको टुंगो तल्ला कमिटीको सिफारिसमा स्थायी कमिटीले लगाउने कार्यविधि बनाएको छ। एमालेले प्रदेश १ र २ मा का  महानगर, उपमहानगर र नगरपपालिकाको मेयर र उपमेयरका उम्मेदवार घोषणा गरेको छैन।

दोस्रो चरणको चुनावमा एमालेले प्रदेश १ र ५ बाट पार्टीका पक्षमा राम्रो नतिजा आउने अपेक्षा गरेको छ।

लामो समयदेखि प्रभाव क्षेत्र रहेको पूर्वी पहाडी जिल्ला समेटिएको प्रदेश १ र पछिल्लो समयमा संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलनको केन्द्रको बनेको प्रदेश ५ मा एमालेको पक्षमा राम्रो परिणाम आउने दाबी नेताहरूको छ।

प्रदेश १ का मोरङ र सुनसरीका केही तहबाहेक अन्यमा उम्मेदवारको टुंगो लगाइएको प्रदेश नम्बर एकका संयोजक भीम आचार्यले बताए। 'अधिकांश स्थानमा सहमतिका साथ उम्मेदवारी टुंग्याएका छौं। टिकटको अपेक्षा गर्नेहरू धेरै भएका कारण केही समस्या जस्तो देखिएको थियो तर मिलाएर समाधान गरिएको छ,' आचार्यले भने, 'उम्मेदवार छनोटका लागि बाँकी स्थानमा समेत छलफल जारी छ।'

आचार्यले प्रदेश १ एमालेको प्रभाव क्षेत्र भएकाले चुनावी परिणाम पक्षमा आउने बताए। 'चुनाव जित्ने भनेको मुद्दा र सुदृढ संगठनले हो। पहिलोदेखि नै हाम्रो राम्रो संगठन भएको क्षेत्र हो प्रदेश १। त्यसैले खासै समस्या हुँदैन,' आचार्यले भने, 'हामी दुई तिहाइ स्थानमा जित हासिल गर्ने तयारीमा छौं। प्रदेश १ मा एक सय ३७ स्थानीय तह छन्।

उनले मोरङ र सुनसरीका केही स्थानमा मधेसी दलहरूसँग र बाँकी प्रदेशमा कांग्रेससँगै प्रतिस्पर्धा हुने बताए। 

एमालेले प्रदेश २ को चुनावलाई निकै चासोका साथ लिएको छ। मधेस आन्दोलनको केन्द रहेको प्रदेशमा एमाले मधेसी दलको 'तारो' बनेको छ। मधेस आन्दोलन सुरु भएपछि एमाले त्यहाँ ठूला कार्यक्रमहरू लिएर जान सकेको छैन।

दोस्रो संविधानसभाका चुनावमा प्रदेश २ मा कांग्रेस एमालेभन्दा थोरै मात्र अघि रहेको थियो। एमालेले कम्तीमा पनि त्यही अवस्था आउन सके देशभर कांग्रेसभन्दा धेरै स्थान जितेर पहिलो दल बन्ने आकलन गरेको छ। प्रदेश २ मा १ सय २८ स्थानीय तह  छन्। तर नेताहरू स्थानीय चुनावमा प्रदेश २ मा पनि एमाले पहिलो दल बन्ने बताउँछन्।

एमालेले अन्य राजनीतिक दलका प्रभावशाली व्यक्तिलाई आफूतर्फ तान्दै उम्मेदवार बनाउने रणनीति लिएको छ। लहान र राजविराजजस्ता ठूला नगरपालिकामा नवप्रवेशीले टिकट पाएका छन्। राजमार्ग र  हुलाकी मार्गमा पर्ने क्षेत्रमा पनि आफ्नो पक्षमा राम्रो परिणाम आउने अपेक्षा एमालेको छ। 'मधेसका भित्री क्षेत्रमा पनि जित्नेछौं,' सचिव भट्टराईले भने। 

प्रदेश ५ का संयोजक उपमहासचिव विष्णु पौडेलले  प्रदेश ५ मा पचास प्रतिशतभन्दा बढी स्थानीय तहमा एमालेले जित्ने दाबी गरे। प्रदेश  ५ मा १ सय १२ स्थानीय तह छन्।  उनले भने, 'यो प्रदेशमा ५० प्रतिशतभन्दा बढी स्थानमा हामीले जित्नेछौं।'

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रभाव रहेको मानिने प्रदेश ७ मा पनि एमालेले पार्टीका पक्षमा राम्रो परिणाम आउने अपेक्षा गरेको छ। प्रदेश ७ मा ८८ वटा स्थानीय तह छन्।

प्रकाशित: २६ जेष्ठ २०७४ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App