४ वैशाख २०८१ मंगलबार
राजनीति

कांग्रेसले प्रदेश १, ५ र ७ मा उम्मेदवार टुंग्यायो

काठमाडौं- नेपाली कांग्रेस स्थानीय तह दोस्रो चरणको निर्वाचन तयारीमा जुटेको छ। केही समय नयाँ सरकार गठनमा  बिताएको कांग्रेस बुधबार पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार  टुंगो लगाउन सक्रिय भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान र साँझ दुईपटक बसेको कार्यसम्पदान समिति बैठकले प्रदेश नम्बर २ बाहेकका अधिकांश जिल्लामा उम्मेदवार तय गरेको स्रोतको दाबी छ। प्रदेश नम्बर १ का मोरङसहित एकाधबाहेक जिल्लामा उम्मेदवार टुंगो लगाइएको एक नेताले बताए। खोटाङ, इलाम, सुनसरी, पाल्पासहितका केही जिल्लामा असन्तुष्टि रहे पनि कार्यसम्पादन समितिले उम्मेदवार टुंगो लगाएको छ।

उम्मेदवार टुंगो लागेका धनकुटासहितका केही जिल्लाका उम्मेदवारले टिकटसमेत लगेको एक नेताले बताए। 'प्रदेश नम्बर २ बाहेकका पहाडी जिल्लामा उम्मेदवार टुंग्याइएको छ,' बैठकमा सहभागी ती नेताले भने, '२ नम्बर प्रदेशमा बारा जिल्लाबाट छलफल सुरु भएको छ।'

शुक्रबार दिउँसो २ बजे पुनः बस्ने कार्यसम्पादन समिति बैठकले प्रदेश नम्बर २ र उम्मेदवार टुंगो लाग्न बाँकी जिल्लाको टुंगो लगाउनेछ।

केन्द्रीय समितिले वैशाख १२ गतेभित्र तल्लो तहमा छलफल गरी उम्मेदवार टुंगो लगाउन निर्देशन दिएको थियो। चारवटा प्रदेशमा दोस्रो चरणमा निर्वाचन हुने भएपछि उक्त समय बढाएर जेठ १२ गतेसम्म उम्मेदवार छान्न समय दिइएको थियो। तर, गुटगत विवादका कारण तल्लो तहबाट उम्मेदवार टुंगो लाग्न नसकेपछि पार्टीका शीर्ष र प्रभावशाली नेता सहभागी कार्यसम्पादन समिति उम्मेदवार छान्न सक्रिय भएको हो।

चुनाव केन्द्रित हुन देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। 

नेपाल विद्यार्थी संघले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजना गरेको स्थानीय निर्वाचन परिचालन विषयक अभिमुखीकरण कार्यक्रममा देउवाले निर्वाचन तयारीका लागि नेताकार्यकर्तालाई जिल्ला जान निर्देशन दिएका हुन्।

निर्वाचन हुन बाँकी जिल्लामा उम्मेदवार टुंगो लगाउन पार्टी नेता सक्रिय रहेकै बेला देउवाले पार्टीलाई जिताउन सबैलाई आग्रह गरे। दोस्रो चरणको निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भन्दै सांसद्लाई पनि चुनाव केन्द्रित कार्यक्रमसहित जिल्ला र गाउँ जान उनले आग्रह गरे। 'निर्वाचन जिताउन विद्यार्थीको ठूलो भूमिका हुन्छ, तपाईंहरू निर्वाचनमा लाग्नुहोस्,' उनले भने, 'तीनवटा निर्वाचन गराउनु सरकारको प्राथमिकता हो। त्यसमा तपाईंहरूले सहयोग पुर्‍याउनुपर्छ।'

नेता रामचन्› पौडेलले स्थानीय तह निर्वाचन पार्टीले जित्नैपर्ने बताउँदै आधिकारिक उम्मेदवारको पक्षमा उभिन सबैलाई आग्रह गरे। आन्तरिक विवाद र अन्तर्घातले पहिलो चरणको निर्वाचनमा पार्टी दोस्रो स्थानमा पुगेको उनले बताए।

दोस्रो चरणअन्तर्गत असार १४ गते हुने निर्वाचनमा उम्मेदवार छनोट गर्न पार्टी कार्यसम्पादन समितिमा निरन्तर छलफल भइरहेको छ।

माओवादीले शनिबारपछि मन्त्री टुंगो लगाउने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्ना तर्फबाट सहभागी हुने मन्त्रीको नाम नेकपा माओवादी केन्द्रले शनिबारपछि मात्रै टुंगो लगाउने भएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार पार्टीको कामले सोलुखुम्बु जाने र उताबाट फर्केपछि मात्रै मन्त्रीको टुंगो लगाउने नेताहरुले बताएका छन्। माओवादीले कम्तीमा ८ मन्त्रालय पाउँदैछ।

माओवादी स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार  निर्वाचनअघि मन्त्रिपरिषद् विस्तार नगर्ने भनिएकाले ढिलाइ भइरहेको छ। 'अझै पनि मन्त्रालय नटुंगिएका कारण प्रभुजी (प्रभु साह, बिना विभागीय मन्त्री) ले जिम्मेवारी पाउनुभएको छैन,' गजुरेलले नागरिकसँग भने।

माओवादीका तर्फबाट देउवा सरकारमा उपप्रधान तथा परराष्ट्र मन्त्रीमा कृष्णबहादुर महरा, गृहमन्त्रीमा जनार्दन शर्मा र साहले शपथ लिइसकेका छन्। उनीहरु तीनैजना यसअघि पटकपटक मन्त्री भइसकेका व्यक्ति हुन्।

प्रकाशित: २६ जेष्ठ २०७४ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App