८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादी केन्द्रले ६० प्रतिशत तहमा उम्मेदवार छान्यो

काठमाडौं- माओवादी केन्द्रले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि ६० प्रतिशत तहमा उम्मेदवार टुंगो लगाएको छ। संसद्मा तेस्रो ठूलो दल माओवादी केन्द्रले केही दिनभित्रै बाँकी तहमा पनि उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ।

प्रदेश नम्बर १, २, ५ र ७ का ४ सय ६१ स्थानीय तहमा जनप्रतिनिधि चुन्न असार १४ गते दोस्रो चरणमा निर्वाचन हुँदैछ। प्रदेश २ बाहेक अन्यमा उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको जनाउँदै माओवादी केन्द्रले स्थानीय तहलाई नै उम्मेदवार टुंगो लगाउने अधिकार दिएको छ। वडाका उम्मेदवार टुंगो लगाउने जिम्मा माओवादीले गाउँ/नगरपालिका कमिटीलाई र गाउँ/नगरपालिका मेयर र उपमेयर छान्ने अधिकार जिल्लालाई दिएको छ। त्यस्तै, उसले उपमहानगरपालिका र महानगरपालिकाका उम्मेदवारको टुंगो क्रमशः प्रदेश र केन्द्रबाट लगाउने कार्यविधि बनाएको छ।

माओवादी केन्द्रले प्रदेश  २ का सिरहा र सप्तरीमा विश्वनाथ साह, धनुषामा मात्रृका यादव, महोत्तरी र सर्लाहीमा गिरिराजमणि पोखरेल, रौतहट र बारामा प्रभु साह र पर्सामा उर्मिला अर्याललाई उम्मेदवार टुंगो लगाउने अधिकार दिएको छ।

उम्मेदवार टुंगो लगाउने काम भइरहेको जानकारी दिँदै नेता नारायणकाजी श्रेष्ठले भने, '६० प्रतिशत तहमा उम्मेदवार छनोट सकिएको छ। बाँकी ठाउँमा पनि छिट्टै सक्छौं।' 

प्रकाशित: २६ जेष्ठ २०७४ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App