७ वैशाख २०८१ शुक्रबार
समाज

‘जनता नउठेसम्म केही हुन्न’

डा.केसीका माग पूरा गर्न दबाबका लागि मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा निषेधित क्षेत्र तोड्दै चिकित्सा विद्यार्थी । तस्बिर: केशव थोकर

काठमाडौं-निष्ठापूर्ण सत्याग्रहमा रत्तिभर नडगमगाएका डा. गोविन्द केसीलाई सास फेर्नै गाह्रो हुन थालिसक्यो। सुगर घटेर शरीरलाई काम धान्नै मुस्किल पर्न थालिसक्यो । अक्सिजन कमीसँगै स्वास्थ्यमा अनेक समस्या एकसाथ थपिँदो छन्।

अनशनको दसौं दिन मंगलबार जोखिमतिर धकेलिइरहेको स्वास्थ्यलाई पर्वाहै नगरी उनी नागरिकसँग बोले, बल्लतल्ल– ‘अब जनता उठ्नुपर्छ। जनता नउठी यहाँ केही हुन्न । माफियाका चंगुलमा परेका ठूला दल, तिनका भ्रष्ट नेता र प्रशासकबाट मलाई केही अपेक्षा छैन।’

उनको बोलीको दम रत्ति घटेको छैन

बरु आफूले उठाएका मागमा बढ्दो नागरिक समर्थनले झन् तेजिलो बन्दैछ । स्वास्थ्य अवस्था भने दिनहुँ खस्कँदो छ।

दस दिनदेखि त्रिवि शिक्षण अस्पतालमै आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. केसीको स्वास्थ्य ‘जोखिमपूर्ण’ अवस्थामा पुगेको चिकित्सकले जनाएका छन् ।

शरीरमा कार्यसञ्चालनका लागि आवश्यक सुगरको मात्रा अपुग देखिएसँगै श्वासप्रश्वास नै असहज भएपछि निरन्तर अक्सिजनमा राखिएको छ ।

जुनसुकै समयमा जेसुकै हुनसक्ने भन्दै चिकित्सकले आकस्मिक उपचारका सामग्रीसहित भेन्टिलेटर तयारी अवस्थामा राखेका छन् । तत्काल मुटु र अन्य अंगले काम गर्न छाडेको अवस्थामा ‘रिभाइब’ गर्न आवश्यक ‘डिसी सक’ समेत तयारी अवस्थामा छ ।

सामान्य रुपमा बोल्दा र निदाएको समयमा समेत अक्सिजन नपुगेर ‘स्याचुरेसन’ न्यून हुन थालेपछि उनलाई सोमबार साँझदेखि नै अक्सिजन दिन थालिएको हो ।

यस्तो अवस्थामा जुनसुकै समयमा कार्डियाक एरेस्ट (मुटु चल्न बन्द हुने) जोखिम हुने चिकित्सकको भनाइ छ । चिकित्सकका अनुसार सबैभन्दा बढी जोखिम मुटुको चालमा आएको गडबडी हो ।

अघिल्लोपटक अनशन तोडेलगत्तै मुटुमा समस्या देखिएपछि २४ घन्टाको चालको अवलोकन गर्नुपरेको थियो । ‘धन्य त्यतिबेला व्यवस्थापन गर्न सकियो, अहिले धेरैपटकको अनशन र उमेरका कारण पनि जोखिम बढी छ,’ डा. केसीको स्वास्थ्य उपचारमा संलग्न चिकित्सक टोलीकी सदस्य डा. दिव्यासिंह शाहले भनिन् ।

उनका अनुसार उपचारमा संलग्न टोलीले केही सूचक बनाएर खतराका संकेत बढ्नासाथ आइसियुमा सार्नुपर्ने भन्दै डा. केसीको सहमति लिन प्रयास गरिरहेको छ । बारम्बार आग्रह गर्दा पनि डा. केसीले आफू होसमा हुँदासम्म कुनै पनि हस्तक्षेप नगर्न भनिरहेका छन् ।

रक्तचापसमेत न्यून हुन थालेपछि किड्नीमा समेत समस्या आउन सक्ने जोखिम बढ्छ । सामान्य अवस्थामा अक्सिजन स्याचुरेसन न्यूनतम ९० हुनुपर्नेमा अहिले निकै कम हुन थालेको छ । ‘अक्सिजन मास्क जोड्दा बल्लबल्ल मेन्टेन भइरहेको छ,’ शाहले भनिन्, ‘सुतेको समयमा त जोडिरहँदा पनि अक्सिजन अपुग हुन्छ ।’

शाहका अनुसार सुगरको तह एकदमै न्यून हुँदा ब्रेनमा तन्तुलाई क्षति पु¥याउने जोखिम हुन्छ ।

डा. केसीमा निरन्तर रुपमा छातीको दुखाइ, मांशपेसी दुखाइ, बाउँडिने समस्या जारी छ । शरीरमा ग्लुकोज अभाव भएपछि शरीरले सञ्चित रहेकोबाट लिने क्रममा यस्तो दुखाइ बढ्छ । तीबाहेक शरीरमा आवश्यक पर्ने सोडियम, क्याल्सियम पोटासियमको मात्रा पनि निकै घटिरहेको छ ।

अहिले शरीरको प्रतिरोध क्षमता कमजोर भएकाले कुनै खालका संक्रमण भए नियन्त्रण गर्न नसक्ने अवस्थासमेत आउन सक्ने चिकित्सकले औंल्याएका छन् ।

‘अहिले केही भइहाले उहाँको शरीरले त्यसलाई प्रतिरोध गर्न सक्ने अवस्था छैन,’ शाहले भनिन्, ‘अहिले हामीलाई निकै टेन्सन छ ।’

चिकित्सकले यसअघि अनशन बसेको साँघुरो कोठामा बढी जोखिम देखेर नै सोमबार फराकिलो कोठामा सार्न आग्रह गरेका थिए तर चिकित्सकका कुरा नमानेपछि डा. केसीलाई विद्यार्थीले मनाएका थिए ।

चिकित्सकका अनुसार १० दिनदेखि मुखबाट केही नखाएकाले नर्मल स्लाइनका भरमा धेरै दिन टिकाउन मुस्किल पर्छ ।

चिकित्सकले डा. केसीलाई सहयोग गरिरहेका विद्यार्थी एवं रेजिडेन्टहरुलाई धेरै दिनसम्म स्वास्थ्यले धान्न नसक्ने भन्दै छिटो दबाब र वार्ता बढाउन सुझावसमेत दिएका छन् ।

दुई साता लामो अल्टिमेटम र १० दिन लामो अनशनपछि समेत डा. केसीको माग सुनुवाइमा सरकारीतर्फबाट कुनै पनि पहल भएको छैन । अनशन सुरु गर्ने दिन प्रधानमन्त्रीले भेटका लागि बोलाएर समर्थकमार्फत अनशन नबस्न खबर पठाए पनि त्यसबाहेक कुनै पहल नभएको डा. केसीले बताए ।

‘जनता नउठेसम्म केही हुन्न, माफियाका चंगुलमा परेका ठूला दल, तिनका भ्रष्ट नेता र प्रशासकबाट मलाई केही अपेक्षा छैन,’ उनले फेरि दोहो¥याए ।

प्रदर्शनमा संलग्न १२ विद्यार्थी नियन्त्रणमा

दसौं दिनसम्म माग पूरा नभएको भन्दै दबाब सिर्जना गर्न बालुवाटार घेराउ र धर्नामा सहभागी त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट तथा विद्यार्थीलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको छ ।

विभिन्न नारासहित निषेधित क्षेत्र नाघ्न खोज्दा प्रहरीले उनीहरुलाई पक्राउ गरी करिब ६ घन्टा कमलपोखरी प्रहरी प्रभागको हिरासतमा राखेर मानवअधिकारवादीको पहल र रोहबरमा छाडेको थियो ।  गिरफ्तार गर्ने क्रममा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको थियो ।

गिरफ्तार हुनेमा डा. सागर पोखरेल, विषद दाहाल, प्रशान्त कार्की, बद्री अर्याल, यज्ञराज अधिकारी, सुशील साह, उपेन्द्र अधिकारी, विराटकुमार गौतमलगायत थिए । उनीहरुले डा. केसीका माग पूरा नभएको भन्दै बालुवाटारमा एक घन्टा धर्ना दिएका थिए ।

विद्यार्थीले सरकारी हस्तक्षेपको विरोध गर्दै दबाबमूलक कार्यक्रम बढाउँदै लाने बताएका छन् । यसअघि विद्यार्थीले आइओएमअन्तर्गतका पठनपाठन बहिष्कार गरेका थिए । डा. केसीको समर्थनमा मंगलबारदेखि रेजिडेन्ट चिकित्सकले ओपिडी सेवा बहिष्कार गरेका छन् ।

शनिबार १० हजार सडकमा उतारिने, ऐक्यबद्धता बढ्यो

डा. केसीले उठाएका एजेन्डामा निरन्तर दबाब सिर्जना गर्ने उद्देश्यले राजनीतिज्ञ, चिकित्सक, विद्यार्थी र अन्य सरोकारवालासहितको बृहत सञ्जाल गठन भएको छ । शिक्षण अस्पताल परिसरमा भएको भेलाले ‘सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्स’ नामक सञ्जालमार्फत औपचारिक रुपमा यो अभियानलाई अघि बढाउने निर्णय गरेको हो । उनीहरुले शनिबार हुने प्रदर्शनमा १० हजारभन्दा बढी समर्थकलाई सडकमा उतार्ने जनाएका छन् ।

सञ्जालले डा. केसीको स्वास्थ्य अवस्था नाजुक भइसक्दा पनि संवेदनशीलता नदेखाएको भन्दै साउन ८ गते शनिबार बृहत प्रदर्शन गर्ने घोषणासमेत गरेको छ । बैठकले सञ्जालको संयोजकमा डा. जीवन क्षत्री, राजनीतिक दलतर्फ नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, विवेकशील नेपाली दलका उज्ज्वल थापा, रमेश पौडेललगायतलाई तोकेको छ । सञ्जालमा मेडिकल विद्यार्थी तथा चिकित्सक, युवा विद्यार्थी अभियन्तालगायत प्रतिनिधिसमेत सहभागी रहने उल्लेख छ ।

सञ्जालबाहेक पनि विभिन्न दलका नेता एवं राजनीतिज्ञ, सामाजिक अगुवाले डा. केसीलाई भेटेर मागप्रति ऐक्यबद्धता जनाउने क्रम बढेको छ । मंगलबार नयाँ शक्तिका भट्टराईसहित राप्रपा नेता प्रकाशचन्द लोहनी, सुरेन्द चौधरी, गायकहरु रामेश  र रायनले समेत डा. केसीलाई भेटेर ऐक्यबद्धता जनाएका थिए ।

यसैगरी, नेपाल बार एसोसिएसनले चिकित्सा क्षेत्रको सुधारका विषयलाई लिएर अनशनमा बसेका डा. केसीको जीवनरक्षाको पहल गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।

बारका महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा ‘नेपालको चिकित्सा शिक्षा र सेवा गुणस्तरीय सेवाको अडान राखी पटक–पटक भोकहडतालमा बस्नुभएका केसीको जीवनरक्षाका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने’ उल्लेख छ ।

बारले डा. केसीको स्वास्थ्य स्थिति बिग्रँदै गएका प्रति बारको गम्भीर ध्यानाकर्षण भएको भन्दै डा. केसीको जीवनरक्षाका लागि पहलकदमी लिन पनि माग गरेको छ ।

‘नमुना’ संसद्मा महाअभियोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग लगाउनुपर्ने मागसहित अनशनरत डा. केसी अनशनप्रति ऐक्यबद्धता जनाउँदै कानुन विषयका विद्यार्थीले ‘नमुना संसद’ बाट महाभियोग लगाउने अभ्यास थालेका छन् ।

उपत्यकामा कानुन पढाइ हुने चार क्याम्पसका विद्यार्थीले ल क्याम्पसमा नमुना संसद् बनाएर यस्तो अभ्यास गरेका हुन् । नमुना संसद्मा २ सय विद्यार्थी सांसदका रुपमा सहभागी छन् ।

 ‘फ्रिलान्स युथ मुभमेन्ट’ का नाममा विद्यार्थीले नमुना संसद् २०७३ को ब्यानरमा महाभियोगसम्बन्धी प्रस्तावमा सुनुवाइ सुरु गरेका छन् । उनीहरुले साउन ४ गते प्रस्ताव दर्ता र शुक्रबार ७ गते ३ देखि ५ बजेसम्म ल क्याम्पसमै मतदान कार्यक्रम तय गरेका छन्।

प्रकाशित: ५ श्रावण २०७३ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App