८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावी रङमा मधेस : ‘दुःखमा मलम लगाउनेलाई भोट’

महेशपुरपतार गाउँपालिका–६, सितापुरकी शीलादेवी सदायको घर विभिन्न पार्टीका चुनाव चिह्नअंकित झनडाले रंगिएको छ। घरसँगै उनी पनि चुनावी रङमा रंगिएकी छिन्।

 तीनपटक मिति सर्दा सितापुरमा चुनावी चहलपहलमा कमी आएको छैन। गाउँ प्रवेश गर्नासाथ झन्डै २ किमि बस्तीका ९० प्रतिशत सबै घर चुनावी झन्डाले रंगिएको देखिन्छ।

 'पहिला कांग्रेसले राख्यो,' मुसहर बस्तीकी शीलादेवीले भनिन्, 'पछि आएर एमाले र फोरमले पनि झन्डा राख्छौं भनेपछि हुन्छ भन्यौं।' दलित बस्तीका ३३ घरमध्ये अधिकत्तरमा कांग्रेस र बाँकीमा एमाले र फोरम दुवै पार्टीका झन्डा राखिएका छन्। 'भोट त हामीजस्ता गरिबलाई बास र गाँसको व्यवस्था जसले गर्छ उसैलाई दिन्छौं,' उनले भनिन्, 'भोट माग्न पनि धेरै आए, झन्डा पनि सबैले राखेका छन्। तर, भोट त हाम्रो समुदायको दुःखमा मलम लगाउनेलाई मात्र हो।'

 स्थानीय जनप्रतिनिधि चुन्न मतदाताको व्यग्र प्रतीक्षा र उत्साहले सदरमुकाम र बजारभन्दा गाउँ (देहात) चुनावमय बनेको त्यहाँका घरघरका छनामाथि फहराइरहेका विभिन्न दलका झन्डाले संकेत गर्छन्। सबै दलका उम्मेदवारको टुंगो नलागे पनि सिफारिसमा परेका नेताहरू सामूहिक रुपमै घरदैलोमा व्यस्त छन्। उनीहरू पार्टीको झन्डा र चुनाव चिह्नसहित प्रचार गर्दैछन्।

 एमालेले सिरहाका ८ नगरपालिकामध्ये ६ मा र १० गाउँपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ। एमालेबाहेक दलले उम्मेदवार अझै टुंगो लगाउन सकेका छैनन्। उम्मेदवार छनोट गरिसकेको एमाले प्रचारमा व्यस्त देखिन्छ। उम्मेदवार छनोट बाँकी रहेकाले तुलनात्मक रुपमा कांग्रेसको प्रचार केही कम छ। सिफारिसमा परेका उम्मेदवार पार्टीलाई चाँडो टुंगो लगाउन दबाब दिन थालेका छन्। कांग्रेस सिरहा क्षेत्र नम्बर २ का नेता विष्णुप्रसाद गुप्ता भन्छन्, ‘अहिले गाउँगाउँ घुमेर प्रचार हुँदै छ, छिट्टै उम्मेदवार टुंगो लगाएर तुफानी गतिमा घरदैलो अगाडि बढ्छ।’

ग्रामीण क्षेत्रका सार्वजनिकस्थलदेखि बजार र चिया पसलमा पनि चुनावकै चर्चा छ। दुर्गम गाउँ बस्तीका घर दलका झन्डाले रंगिएका छन्। नेता,कार्यकर्ता पार्टीका चुनाव चिह्नअंकित झन्डावाल गाडी र मोटरसाइकलमा ओहोरदोहोर गरिरहन्छन्।

'दुर्गम गाउँ पनि चुनावमय बन्दै छन्,' कचनारीका शैलेन्द्र यादवले भने, 'मिति सरिरहँदा पनि चुनावी रमाइलो सेलाएको छैन।' बरियारपट्टी गाउँपालिकामा पर्ने उक्त गाउँ कांग्रेसको आधारक्षेत्र मानिए पनि विस्तारै अन्य पार्टीको उपस्थिति पनि देखिन थालेको छ। 'अहिले कांग्रेस, फोरम र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ,' स्थानीय सरोज यादवले भने, 'यहाँ पार्टीभन्दा पनि उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ।'

 स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा बरियारपट्टी गाउँपालिकाका बासिन्दा 'को उम्मेदवार योग्य' होला भन्ने हिसाबकिताब गरिरहेका छन्। विभिन्न दलका समर्थक रहेका गाउँलेहरू दलसँगै उम्मेदवारको क्षमता, योग्यता र इमानदारी हेरेर त्यसैलाई भोट हाल्ने मनसुवामा छन्।

 केही मतदाता प्रत्याशीसँगको नाताकुटुम्ब हेरेर पनि  मत हाल्ने सोचमा छन्। केही गाउँले भने अभिभावकको करकाप र नाता सम्बन्धभन्दा पनि स्वतन्त्र हिसाबले आफूले मन पराएको उम्मेदवार छान्ने सुरमा देखिन्छन्।   कसलाई मत हाल्ने र कसलाई नहाल्ने भन्नेमा महेशपुरपतार गाउँपालिका–५, सितापुरका राजेन्द्र यादवको भनाइ मत छ। उनी दलगत हिसाबले भन्दा पनि उम्मेदवारमध्येबाट सबैभन्दा योग्य र आमजनतासँग जोडिएकालाई मत खसाल्ने सुरमा छन्। उनले भने, 'अन्धभक्त भएर भोट हाल्नुभन्दा असल र योग्य मान्छे छान्ने विचार छ। जुन पार्टीको भए पनि के फरक पर्छ ,राम्रो उम्मेदवार भए पुग्यो।'

 आर्थिक रुपमा कमजोर उनलाई गाउँका धनीमानीले आफूले भनेकै उम्मेदवार र पार्टीलाई भोट खसाल्नुपछ भनेर सुझाइरहेका छन्। तर उनी तिनका कुरा मान्ने पक्षमा छैनन्। 'आफूले मनले रोजेको मान्छेलाई भोट हाल्ने हो,' उनले भने, 'अरुले जहाँजहाँ भन्छन् त्यहाँ भोट खसाल्दिनँ। आफूले नै सोचविचार गरेर भोट हाल्ने हो।'

त्यसो त गाउँका सबैको विचार उनको जस्तो छैन। अधिकत्तर मतदाता भने आफूले पहिलादेखि जुन पार्टीलाई भोट हालेको हो अहिले पनि त्यसैलाई भोट हाल्ने सुरमा छन्। आफूले मन खाएको पार्टीले जस्तोसुकै उम्मेदवार उठाओस् त्यसैलाई भोट हाल्ने सुरमा छन् बरियारपट्टी गाउँपालिकाका मनोज यादव। उनले आफ्नी श्रीमतीलाई पनि आफूले भोट दिनेलाई नौ रोज्न भनिसकेका छन्। उनले भने, 'मलाई त उम्मेदवारसँग मतलब भएन। पहिलेदेखि जुन पार्टी छानेको हो त्यसैमा भोट हाल्ने हो। यही कुरा मैले श्रीमतीलाई पनि भनेको छु।'

 सितापुरकै गौरी सदायको बुझाइमा पार्टीलाई भोट हाल्नुभन्दा उम्मेदवार हेरेर भोट हाल्दा गाउँलाई धेरै फाइदा पुग्छ। उनी विभिन्न दलले उठाएका उम्मेदवारमध्येबाट गतिलो, इमानदार र विकासप्रेमी छानेर भोट खसाउने पक्षमा छिन्। उनले भनिन, 'राम्रो उम्मेदवार छानेर भोट हाल्छु।' अरुको करमा होइन, आफ्नै रुचिका आधारमा भोट हाल्न सके निर्वाचनबाट गतिलो उपलब्धि हासिल हुने उनले राम्ररी बुझेकी छन्। उनले भनिन्, 'यसअघिका चुनावमा पार्टी हेरेर भोट हालियो, यसपटक राम्रो उम्मेदवार हेरेर भोट हाल्ने विचार छ।'

तात्दै चुनावी माहोल

बाहिर विरोध जनाए पनि भित्रभित्रै चुनावी रणनीति तयार पार्न जुटेका राजपाको क्रियाकलापले केही  अन्योल देखिए पनि सप्तरीमा विस्तारै चुनावी माहोल तात्दै गएको छ।

 संघीय समाजवादी फोरम, नेपाल सुरुदेखि चुनावको पक्षमा उभिएको छ। कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमसहितका दल सरकारमा गएर चुनावका निम्ति सक्रियता देखाइरहेका छन्। गत फागुन २३ को मलेठ घटनापछि नेकपा एमालेका लागि सप्तरी त्यति सहज नहुने निष्कर्षसहित मधेस केन्द्रित दलले एमालेमाथि  एक प्रकारको 'अघोषित प्रतिबन्ध' लगाएका थिए। यद्यपि, सप्तरीमा दोस्रो चरणको चुनाव तयारी क्रममा एमालेले धमाधम आफ्ना उम्मेदवार घोषणा गरिरहेको छ। मंगलबार सदरमुकाम राजविराजको मेयर पदमा फोरमबाट एमाले प्रवेश गरेका सुखराम यादवको नाम एमालेले औपचारिक रूपमा घोषणा गर्‍यो। उपमेयरमा ममता चौधरीको नाम घोषणा गरिएको छ। कञ्चनरुप लगायत केही गाउँपालिका र नगरपालिकाको प्रमुख/उपप्रमुख पदमा एमालेले यसअघि नै उम्मेदवारी टुंगो लगाएको छ।

'जुन स्थानमा आकांक्षी बढी छैनन् त्यहाँ धमाधम उम्मेदवार घोषणा गरिरहेका छौं,' एमाले सप्तरीका एक नेताले भने, 'बढी आकांक्षी भएका स्थानिय तहको बारेमा गम्भीर छलफल भइरहेको छ।'

यता संघीय समाजवादी फोरम, कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमलगायत सप्तरीमा प्रभाव राख्ने ठूला दलले हालसम्म औपचारिक रूपमा कुनै पनि स्थानीय तहका लागि औपचारिक उम्मेदवार घोषणा गर्न सकेका छैनन्। संघीय समाजवादी फोरम नेपाल सप्तरीका एक नेता भन्छन्, 'हाम्रो पार्टीबाट स्थानीय तहमा आकांक्षीको जम्बो टोली छ, एउटालाई टिकट दिँदा अर्कोले विद्रोह वा अन्तर्घात गर्नसक्ने भएकाले केही समस्या छ। विस्तारै माहोल सहज बनाएर उम्मेदवार घोषणा गर्छौ।'

राजविराज नगरपालिकाका लागि एमालेबाट मेयर उम्मेदवार सुखराम यादव फोरम नेपालबाटै विद्रोह गरेर एमाले प्रवेश गरेका हुन्। फोरमले टिकट नदिएपछि सुखराम एमालेमा प्रवेश गरेका हुन्।

 राजपाले आफूलाई टिकट नदिने अवस्था देखेपछि राजपाका केन्द्रीय सदस्य भीमराज यादव फोरम नेपालमा प्रवेेश गरेका हुन्। स्रोतका अनुसार फोरमको तर्फवाट राजविराज नगरपालिकाका मेयर उम्मेदवार उनी हुने सम्भावना छ।

 राजपाले भित्रैभित्रै चुनावी तयारी गरिरहेको छ। पार्टीभित्र टिकट विवाद तीव्र छ। तर, राजपाका केन्द्रीय सचिव गजेन्द्र मण्डलले संविधान संशोधन र मधेसको माग पूरा नभएसम्म राजपा चुनावमा नआउने उल्लेख गरेका छन् ।

'केही नेताबीच रणनीतिक कुराबाहेक जनस्तरमै खासै चुनावी माहोल वन्न सकेको छैन,' तिलाठीका पूर्वगाविस अध्यक्ष दिनेश्वर मिश्रले भने, 'खासगरी राजपाले खुला रूपमा चुनाव स्वीकार गर्न नसकेका कारणले पनि यस्तो अवस्था देखिएको हो।' असार १४ को निर्धारित मितिमै चुनाव गराउन सरकार तथा प्रमुख राजनीतिक दल गम्भीर भई माहोल बनाउनुपर्ने मिश्रको भनाइ छ। 

चियाचमेनामा चुनावकै चर्चा

रौतहटको गरुडा चोकस्थिते बाबुलाल साहको चियापसलमा विहीबार दिउँसो चुनावी चर्चा भलिरहेका बेला राजपा नेपालका केही कार्यकर्ताले १० मिटर पर  सडक बन्द गरे। चुनावी चर्चाले गाउँ र सहर  तताइरहेका बेला राजपाका केही कार्यकर्ता चुनावको विपक्षमा सडकमा आएपछि प्रहरीले सक्रियता बढाएको छ। सहर तथा गाउँमा म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

चुनावको सकारात्मक चर्चा र विरोधबीच रौतहटमा चुनावी माहोल बन्दै गएको छ।

 नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले विभिन्न गाउँमा चुनावी कार्यक्रम गर्न थालेका छन्। उम्मेदवार छनोट र  प्रचार एकसाथ गरिरहेका दलको कुनै पनि कार्यक्रम राजपाले अवरोध गरेको छैन। राजपाले गरेको विरोध सांकेतिक मात्र हुँदै गएको र अन्य दलहरुले चुनावको पक्षमा सकारात्मक वकालत गरिरहेकाले निर्वाचन हुनेमा अब स्थानीय विश्वस्त बन्दै गएका छन्।

फोरमले टोलटोलमा चुनावीसभा गर्ने अभियान चलाएको छ। गाउँ  र टोलका चुनावी सभामा फोरमले मधेसका माग पूरा गर्न चुनावबाट सरकारलाई दबाब दिनु उचित हुने बताउन थालेको छ। मधेसवादी सबै दल चुनाव प्रक्रियाबाट बाहिर बस्दा मधेसविरोधी भनी चिनिएका एमाले र कांग्रेस मधेसमा हावी हुने डर रहेको फोरमको भनाइ छ।

मधेसका मुद्दा जनताबाट अनुमोदन गराउन अवसरका रूपमा चुनावलाई उपयोग गर्ने नीति लिएको फोरमका मधेस प्रदेश सदस्य वृजकिशोर यादवले बताए। राजपाको मुख्य प्रभाव रहेको जिल्लाको सदरमुकाम गौरमा एमाले र फोरमले निर्वाचनको वातावरण बनाइरहेको देखिएको छ। राजपाले सडक तताउने गरेको भए पनि एमालेको तर्फबाट मेयरका उम्मेदवार शम्भु साह र फोरमबाट मेयर उम्मेदवार गौरीशंकर यादवले चुनावी अभियान निरन्तर चलाइरहेका छन्। केही स्वतन्त्र उम्मेदवारले पनि मतदाताको घरदैलो पुगेर चुनावी अभियान चलाइरहेका छन्।

जिल्लाको उत्तरी भेगमा कांग्रेस, एमाले, माओवादी तथा नयाँ शक्तिले स्वतस्फूर्त अभियान चलाइरहेका छन्। मधेसवादी दलको पकड कमजोर रहेको चन्द्रपुर नगरपालिकामा चुनावको माहोल राम्रो बनिसकेको छ। नगरका मतदाता निर्वाचनको मिति पर्खेर बसेको स्थानीय नागेन्द्र यादव बताउँछन्। 

राजपा रौतहट संयोजक राम प्रवेश दासले केन्द्रको निर्देशन अनुसार आफूहरू आन्दोलनमा रहेको र माग पूरा भएपछि चुनावमा होमिने प्रतिक्रिया दिए।

चुनावी गतिविधिमा व्यस्त

चुनावको मिति नजिकिँदै जाँदा बाराका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कांग्रेस, एमाले, माअेावादी केन्द्र, संघीय समाजवादी फोरमलगायत दलबाट प्रमुख र उपप्रमुखका उम्मेदवार

भोट माग्न घरदैलोमा भेटिएका देखिन्छन्।

कलैया उपमहानगरपालिका–३ का मोहन रामले केही देनियता चुनाव लड्ने पार्टीका उम्मेदवार भोट माग्न घरघरमा पुग्ने गरेको बताए।

कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरमले उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार टुंगो नलगाए पनि सम्भावित उम्मेदवार घरदैलोमा व्यस्त छन् ।

जिल्लामा स्थानीय तहको निर्वाचनका  लागि ४ सय ५१  मतदानकेन्द्र तोकिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। नयाँ संरचना अनुसार बारामा दुई उपमहानगरपालिका, चार नगरपालिका र नौ गाउँपालिका गरी १५ स्थानीय तह निर्धारण गरिएको छ।

 उत्तरी भागमा पर्ने जितपुर–सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिका मध्य तथा दक्षिणी भागमा रहेको कलैया उपमहानगरपालिका,सिम्रौनगढ नगरपालिका,महागढीमाई नगरपालिका लगायत स्थानीय तहमा केही दिनयता चुनावको चहलपहल बढेको स्थानीयले बताए। 

 एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले स्थानीय तहको चुनावलाई लक्षित गरेर घरदैलो कार्यक्रम सुरु गरिएको बताए। नेपाली कांग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवका अनुसार महानगरपालिका, नगरपालिका र गाउँपालिकामा पार्टीका लागि कार्यकर्ताले भोट माग्न थालेका छन्।

जिल्लाका लागि आवश्यक निर्वाचन सामग्री आइसकेको र ४ सय ५१ मतदान केन्द्रको निरीक्षणसमेत गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए।

एक मतदान अधिकृतको कार्यालयमा ८ कर्मचारी खटाइने व्यवस्था गरिएको छ। भारतको विहार राज्यसँग सीमा जोडिएका बाराका केही ठाउँ संवेदनशील मानिएकाले त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ मानन्धरले जनाए।

जिल्लामा कूल ३ लाख ३७ हजार ३९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मिथिलेश यादव/सिरहा, जितेन्द्रकुमार झा/सप्तरी, मदन ठाकुर/रौतहट र उपेन्द्र यादव/बारा को सहयोगमा

प्रकाशित: २६ जेष्ठ २०७४ ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App