coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादीमा नयाँले अवसर पाएनन्

काठमाडौं- नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा यसअघि कम्तीमा दुई पटक मन्त्री भएका नेताहरूलाई पठाएको छ। माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्मा कृष्णबहादुर महरा (उपप्रधान तथा परराष्ट), जनार्दन शर्मा (गृह) र प्रभु साह (बिनाविभागीय) लाई  पठाएको छ।

देउवा मन्त्रिपरिषद्मा पुगेका महरा यसअघि पाँच पटक मन्त्री भइसकेका छन् भने शर्मा र साह दुईदुई पटक मन्त्री भइसकेका नेता हुन्। उनीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

पहिलो चरणमा अनुभवीलाई पठाइए पनि  आगामी दिनमा नयाँ अनुहारलाई प्राथमिकता दिइने माओवादी प्रवक्ता पम्फा भुसालले बताइन्। 'मन्त्रिपरिष्दमा पहिलो चरणमा अनुभवीलाई पठाइएको हो। अब पठाउँदा नयाँ अनुहारले मौका पाउनेछन्,' भुसालले नागरिकसँग भनिन्, 'त्यो स्थानीय चुनावअघि नै पनि हुन सक्छ।'

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो सरकार चलाउने 'भद्र सहमति' अनुसार मंगलबार देउवा प्रधानमन्त्री निर्वाचित भएका हुन्। सोही सरकारमा पहिलो चरणमा माओवादी केन्द्रले तीनजनालाई मन्त्री बनाएको हो।

रोल्पा–१ बाट प्रत्यक्ष विजयी महरा यसअघिको दाहाल सरकारमा अर्थमन्त्री थिए भने शान्तिप्रक्रियामा आएपछि गिरिजाप्रसाद कोइरालाको सरकारमा सञ्चारमन्त्री भएका थिए। कोइरालाको अर्को कार्यकालमा पनि सञ्चारमन्त्री भएका महरा बाबुराम भट्टराई नेतृत्वको सरकारमा गृहमन्त्री थिए।

महरा पुष्पकमल दाहालको दुवै कार्यकालमा मन्त्री भएका थिए।

शर्माले शान्ति तथा पुनर्निमाण र ऊर्जा मन्त्रालय सम्हालिसकेका छन्। ऊर्जा मन्त्रालय सम्हालेलगत्तै लोडसेडिङमा न्यूनीकरण गरेर चर्चामा आएका शर्मा देउवा सरकारमा गृह मन्त्रालय सम्हाल्न पुगेका छन्।

बिनाविभागिय  मन्त्री साह पनि यसअघि दुईपटक मन्त्री भइसकेका छन्। साहले झलनाथ खनाल प्रधानमन्त्री हुँदा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र बाबुराम भट्टराईको कार्यकालमा भूमिसुधार मन्त्रालय सम्हालेका थिए। साह संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति पनि हुन्।

'मन्त्रालयको टुंगो नभएकाले उहाँलाई तत्कालका लागि जिम्मेवारी नदिएको हो,' माओवादी केन्द्रका नेता मणि थापाले नागरिकसँग भने, 'मन्त्रालय टुंगिनेबित्तिकै उहाँको जिम्मेवारी तोकिनेछ।' माओवादी केन्द्रले देउवा सरकारमा बढीमा आठ मन्त्रालय पाउनेछ। बाँकी मन्त्रालयमा नयाँ अनुहार पठाउने योजना रहेको थापाले बताए।

प्रकाशित: २५ जेष्ठ २०७४ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App