काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्रीका साथै उपप्रधानमन्त्री र मन्त्रीलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी छन्। राष्ट्रपतिभवन शीतल निवासमा आयोजीत विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीका साथै उपप्रधानमन्त्री र मन्त्रीहरुलाई छुट्टाछुट्टै शपथ गराएकी हुन।
समारोहमा उपराष्ट्रपति, सभामुख, कायममुकायम प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता, कूटनीतिक नियोगका प्रमुखहरु, निवर्तमान मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक अंगका प्रमुख, राजनीतिक दलका प्रमुख र नेताहरु, सांसदका साथै सर्वसाधारण पनि सहभागी थिए।
शपथलगत्तै नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री, कूटनीतिक नियोगका प्रमुखलगायतले बधाई दिएका थिए। बधाई दिन पुगेका प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग हात मिलाउँदै प्रधानमन्त्री देउवाले जबर्जस्ती हात उचालेर फोटो खिचाएका थिए। बधाई दिएर बाहिरिन लागेका ओलीको हात ठाडो बनाउँदै देउवाले आफू सहकार्यका लागि तयार रहेको सन्देश दिन खोजको थिए। ओलीलाई सञ्चारकर्मीतिर फर्कन आग्रह गर्दै देउवाले फोटो खिचाएका थिए।
देउवाले प्रधानमन्त्री पदको शपथ लिइरहँदा उनकी पत्नी आरजू देउवाले त्यस क्षणलाई मोबाइलमा कैद गरेकी थिइन्। एमाले अध्यक्ष केपी ओलीसहित पूर्वप्रधानमन्त्रीहरु, निवर्तमान मन्त्रीहरुको पालमा रहेकी आरजूले मोबाइलमा शपथ ग्रहणको दृश्य रेकर्ड गरेकी थिइन्।
संसद् सदस्यसमेत रहेकी आरजू अन्य सांसद सरह देउवालाई बधाई दिन लाइनबद्ध भएकी थिइन्। श्रीमती आरजूलाई प्रधानमन्त्री देउवाले हात नमिलाई फर्काएका थिए। श्रीमान् देउवासँग हात मिलाउन खोज्दा उनले झर्कंदै पठाएपछि एकछिन त्यहाँ हाँसो चलेको थियो। आरजूपछि देउवालाई बधाई दिने पालो कांग्रेस नेता रमेश लेखकको थियो।
प्रधानमन्त्रीको शपथलगत्तै देउवा लैनचौरस्थित सहिद स्मारक गई सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यहाँबाट पार्टी केन्द्रीय कार्यालय पुगेका देउवाले पार्टीका संस्थापक र अग्रजको तस्बिरमा माल्यार्पण गर्नुको साथै केही समय कार्यकक्षमा बसेर फर्केका थिए। प्रधानमन्त्रीको शपथपछि बिपी संग्रहालय सुन्दरीजल जाने त्यसअघि देउवाको तयारी भए पनि पदभार सम्हाल्न ढिला हुने भएपछि पार्टी कार्यालय गएको उनी निकटकाले जानकारी दिए। बिपी संग्रहालय र सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम बाँडे गाउँ जाने उनको तयारी थियो। बिपीका कारण राष्ट्रिय राजनीतिमा उदाएका देउवा भट्टराईको साथ र समर्थनले प्रधानमन्त्रीसम्मको जिम्मेवारीमा पुग्न सफल भएको कांग्रेसभित्रको विश्लेषण छ।
प्रकाशित: २५ जेष्ठ २०७४ ०१:५९ बिहीबार