coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पखलाले एक वर्षीया चेपाङ बालिकाको मृत्यु

चितवन –     झाडा पखलाका कारण चितवनको पहाडी गाउँ काउले हात्तीवाङमा एकजना चेपाङ बालिकाको ज्यान गएको छ । पखलाले सिकिस्त हात्तीबाङ थाम्पुकी एक वर्षीया बालिका सपना चेपाङको मंगलबार निधन भएको हो । उनी चन्द्रबहादुर र कृष्णमति चेपाङकी छोरी हुन् ।  पखलाले सताएपछि आमा कृष्णमतिले उनलाई उपचारका लागि कुरिनघाट लगेकी थिइन्।

थप उपचारका लागि भरतपुर लैजान भने पनि आफूसँग पैसा नभएपछि घरै फर्केको भोलिपल्ट बच्चीको निधन भएको हात्तीवाङमा कार्यरत सामाजिक कार्यकता इन्दिरा दाहालले बताइन् । ‘सानो बच्चीको निधन भयो भन्ने थाहा पाएर गए । पखलाले ज्यान लिएछ । मेडिकलमा जचाउँदा थप उपचारका लागि भरतपुर लैजान भनेको रहेछ । तर पैसा छैन भन्दै आमाले फर्काएर घरमै ल्याएकी रहिछन्’ दाहालले भनिन्।

थप उपचारका लागि काठमाडौं वा भरतपुर लैजान भनेपछि पैसा साथमा नभएका कारण उनी फर्केको दाहालले बताइन् । चितवनको पहाडी क्षेत्रमा मुख्य बसोबास भएका चेपाङहरु जिल्लाका आदिवासी हुन् । सिमान्तकृत वर्गमा पर्ने उनीहरुको आर्थिक अवस्था ज्यादै नाजुक छ । झाडा पाखलाको उपचार त्यति असामान्य पनि हुँदैन । हात्तीबाङमै स्वास्थ्य चौकी पनि छ । तर उपचार अभावमा कृष्णमतिले आफ्नो काखे छोरी गुमाइन्।

‘म २१ गते तालिमको लागि भरतपुर आएको थिए । अहिले गाउँ फर्कदै छु । झाडा पखला चलेर गाउँमा कसैको ज्यानै जाने अवस्था त हैन । स्वास्थ्य चौकीमा औषधिहरु पनि छ । के भएको हो । गाउँ पुगेपछि बुझौंला’ काउले हात्तीवाङमा रहेको स्वास्थ्य चौकीका प्रमुख धनकुमार खड्काले भने । जिवन जल वा सिकिस्तै भएमा स्लाइन पानी दिए यस्ता विरामीहरुलाई बचाउन सकिन्छ।

स्वास्थ्य चौकीमा जिवनजल र स्लाइन पानीको अभाव नभएको प्रमुख खड्काले बताए । ‘पखला वा डाइरिया के लागेको हो ? सुरुमै हाम्रो स्वास्थ्यचौकीमा आएको हो वा हैन के भएको हो बुझ्न बाँकी रहयो । सुरुमा नै आएको भए उपचार सम्भव थियो’ प्रमुख खड्काले भने । हात्तीवाङ स्वास्थ्य चौकी नजिकै रहे पनि कृष्णमति विरामी छोरी बोकेर दुई घण्टा उकालो ओरालो बाटो हिँडेर राजमार्ग आडको कुरिनघाट पुगेकी थिइन्।

चिकित्सकहरु झाडा पखलाका कारण शरिरबाट पानीको मात्रा निकै कम भएमा साना बालबालिकाहरुलाई बचाउन गाह्रो हुने बताउँछन् । सुरुकै अवस्थामा उपचार गरे जिवनजल र स्लाइन पानीले निको हुन सक्छ । उपचारमा अबेला भए गाह्रो हुन्छ । चार वर्षअघि असारमा पनि एकजना चार वर्षीय चेपाङ बालकको झाडा पखलाले ज्यान गएको थियो।

सो बच्चालाई भरतपुरको अस्पतालमा आइसीयूमा राखेर उपचार गरे पनि ढिला उपचार सुरु भएका कारण बचाउन सकिएको थिएन । चन्द्रबहादुर र कृष्णमतिका अरु दुई छोराहरु पनि छन् । बिरामी भएमा तत्कालै जचाउन जाने परिपाटी नभएका कारण यस्तो दुखद अवस्था आएको सामाजिक कार्यकर्ता इन्दिरा दाहालको भनाइ रहेको छ। 

प्रकाशित: २४ जेष्ठ २०७४ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App