८ वैशाख २०८१ शनिबार
अर्थ

नयाँ सरकारलाई सेयर बजारको ‘ग्रिन सिग्नल’

काठमाडौं-सेयर बजारले नयाँ सरकारलाईलाई ‘ग्रिन सिग्नल’ दिएर स्वागत गरेको छ।  नेपाली काँग्रेसका सभापति शेरबहारदुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री भएकै दिन मंगलबार सेयर बजार मापक नेप्से करिब ३५ बिन्दुले बढेर बन्द भयो।

देउवा प्रधानमन्त्री हुने निश्चित भएपछि सेयर बजार उकालो लाग्न थालेको हो । गत सोमबार पनि सेयर बजार करिब नौ बिन्दुले बढेको थियो ।

मुलुकले नयाँ प्रधानमन्त्री पाएकाले सेयर बजार सकारात्मक बनेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले मंगलबार नागरिकलाई बताए । ‘नयाँ प्रधानमन्त्री निर्वाचित भएसँगै नयाँ आशाका किरण सेयर बजारमा छाएको हो,’ उनले भने, ‘बजार बढ्नुको मुख्य कारण राजनीतिक घट्नाक्रम नै हो ।’

आन्दोलनरत दलहरु सरकार र निर्वाचनमा सहभागी हुने सम्भावना भएकाले पनि सेयर बजार बढेको अर्का एक विश्लेषक बताए । ‘तराई–मधेसलाई केन्द्र बिन्दु बनाएर राजनीति गरिरहेका दल सरकार र निर्वाचनमा आउने सम्भावना देखिएकाले पनि सेयर बजार उकालो लागेको हुनुपर्छ,’ उनले भने, ‘स्थानीय निकायको दोस्रो चरणको निर्वाचन हुने निश्चित भएपछि सेयर बजार उकालो लागेको हो ।’

मंगलबार बजार सूचक नेप्से ३४.७२ बिन्दुले बढेर १६३७.३७ मा पुगेको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ९१ करोड ९३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । यस दिन एक सय ४८ कम्पनीका १५ लाख १६ हजार दुई सय दुई कित्ता सेयर किनबेच भए ।

सरकारले आगामी असार १४ गतेलाई दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति तोकेको छ । दोस्रो चरणमा हुने निर्वाचनको माहोल सकारात्मक बन्दै गएकाले पनि सेयर बजार बढाउन मद्दत गरेको छ ।

‘लामो समय स्थानीय निकाय नेतृत्वविहीन थिए, चुनावपछि स्थानीय तहमा राजनीतिक स्थिरता आउने संकेत देखिएकाले बजार बढ्न पुगेको हो,’ रेग्मीले भने ।’

विगतका संसदीय निर्वाचनताका पनि सेयर बजार बढेको थियो । स्थानीय निर्वाचनपछि पनि ठूलो मात्रामा पैसा बजारमा आउने र यसले लगानीयोग्य पुँजी (तरलता) को अभाव हट्ने सम्भावना देखिएकाले पनि बजार बढेको विश्लेषकको भनाइ छ ।

बैंकको ब्याजदर, दोस्रो चरणको स्थानीय निकायको निर्वाचन र विदेशीलाई पनि यसमा लगानी गर्ने वातावरण बनेमा मात्र सेयर बजार अझै बढ्ने अपेक्षा गरिएको छ । अन्यथा सेयर बजार धेरै बढ्न सक्ने सम्भावना नभएको विश्लेषकहरुको भनाइ छ ।

लामो समय नेप्से १६०० बिन्दु वारिपरि घुमेको थियो । तर, सोमबारदेखि उकालो लाग्न थालेको छ । आगामी दिनमा हुने राजनीतिक घटनाक्रमले मात्र सेयर बजार उकालो वा ओरालो लाग्ने भन्ने स्पष्ट बाटो निर्धारण हुने रेग्मीको भनाइ छ ।

‘दोस्रो चरणको निर्वाचन हुने वा नहुने अन्योलले पनि सेयर बजारलाई धेरै उकालो लाग्न दिएको थिएन,’ रेग्मीले भने, ‘निर्वाचनपछि लगानीयोग्य पुँजी सहज हुने, बैंकको ब्याजदर घट्ने लगायत कारणले पनि लगानीकर्ताको मनोबल सकारात्मक भएको हो ।’

मंगलबार उत्पादनमूलक बाहेक बाँकी सबै समूहका सूचक माथितिर लागेका छन् । उत्पादनमूक समूहमा भने १४.०६ बिन्दुले गिरावट आएको छ । बिमा समूहको सूचक सबैभन्दा बढी १७२.५७ बिन्दुले बढेको छ। यसैगरी, होटल समूहको ६२.४५ बिन्दुले माथि उक्लेको छ । पुँजी बजारमा अधिक हिस्सा ओगट्ने वाणिज्य बैंक समूहमा ३५.८२ बिन्दुको वृद्धि देखिएको छ । यस दिन सबैभन्दा बढी सिभिल बैंकको सात करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक दोस्रो र सिद्धार्थ इन्स्योरेन्स तेस्रो स्थानमा छन् ।

 

 

 

प्रकाशित: २४ जेष्ठ २०७४ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App