coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

विद्युत काटिने समस्याले उदयपुर सिमेन्ट संकटमा

काठमाडौं- पटक पटक विद्युत काटिने समस्याले गैडा ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग संकटमा परेको छ। पूर्ण सरकारी लगानी संचालन भएको उद्योगले २० वर्षको अवधिमा नाफामा गए पनि विद्युत काटिने समस्याले उद्योग चल्न नसक्ने अवस्थामा पुगेको हो।

उद्योगमा दैनिक कैयन पटक विद्युत काटिदा उद्योग नै बन्द गर्नु पर्ने अवस्थमा पुग्न थालेको उदयपुर सिमेन्टका महाप्रवन्धक सुरेन्द्र पौडेलले बताए । ‘अब त उद्योगलाई कसरी बचाउने भन्ने चिन्ता मात्र छ,’ पौडेलले टेलिफोनमा नागरिकसँग भने, ‘दिनमा १०–१२ पटकसम्म विद्युत काटिदा उद्योगलाई दैनिक लाखौ रुपैया घाटा परेको छ ।’ उद्योग स्थापना भएको २ दशकमा पहिलो पटक नाफामा जाँदा उद्योग कसरी डुबाउ भन्ने षड्यान्त्र समेत हुनसक्ने पौडलले आशंका गर्छन् ।

सोमबार २४ घण्टाभित्रमा ११ पटक विद्युत काटिएको पौडेलले बताए । ‘हिजो काटिएको विद्युत त उदाहरण मात्र हो,’ पौडेलले भने, ‘दैनिक चार पाँच पटक सधै जान्छ । कहिले काही यो १०–१२ पटकसम्म पुग्छ ।’

सोमबार २४ घण्टाभित्र ११ पटक विद्युत काटिदा उद्योगले ३६ लाख रुपैया गुमाउनु परेको पौडेलले बताए । विद्युत काटिने समस्या बढ्दै जाँदा उद्योगको उत्पादनमा समेत असर परेको छ। दैनिक १४ हजार बोरा सिमेन्ट उन्पादन हुनुपर्नेमा सोमबार र मंगलबार प्रत्यके दिन ५ हजार बोरा मात्र सिमेन्ट उन्पादन भएको पौडेलले बताए ।

पौडेलले पटक पटक विद्युत काटिनुलाई सामान्य अवस्थमा भने लिएका छैनन् । उनलाई कतै सरकारी उद्योगलाई धरासायी बनाउने रणनीति कतैबाट भएको हो कि भन्ने समेत लागेको छ । ‘उद्योगले राम्रो गर्दै गएपछि यसलाई डुबाउने खेल कसैले खेलेको पनि हुनुक्छ,’ पौडेलले भने, ‘सरोकार निकायले समयमै यसलाई गम्भिर रुपमा नलिएर उद्योगलाई सधैका लागि बन्द गर्नु पर्ने अवस्था हनसक्छ ।’

उद्योगमा काम गर्ने टेक्निसियनका अनुसार उक्त उद्योगमा दुई वटा सर्किटबाट विद्युत आउँछ । भारतको कटैयाबाट आएको विद्युतलाई लाहान र सुनसरकीको दोवीमा गरी २ वटा लाइनमा लगिएको छ । उद्योगमा काम गर्ने टेक्निसिएनले नेपाल विद्युत प्राधिकरण भार प्रेशरण केन्द्र्रबाट सिधै फोन गरेर कहिले एउटा लाइत त कहिले अर्को लाइन जोड्नुस भन्दै पटक पटक भन्ने गरेको सुनाए । उनका अनुसार दिनमै कैयन पटक एउटालाइनबाट अर्को लाइन जोड्दा उद्योगलाई लाखौ रुपैया घाटा भइरहेको छ ।   

उद्योगको लागि भनेर डेडिकेटर फिटर भए उक्त फिटरबाट आउने विद्युतलाई ५ सयभन्दा धेरै घरधुरीले प्रयोग गर्दै आएका छन् । उद्योग सुरु हुदा ४–५ घर भएकोमा अहिले गाउँ विस्तार हुदै ५ सयभन्दा माथी घरधुरी भइसकेका छन् । धेरै पुरानो ट्रान्सफरमर भएकाले पनि पटक पटक विद्युत जाने गरेको छ भने उद्योगमा आउने विद्युत लाइन धेरै ठाउँ जोडिएकाले पनि उद्योगमा हरेक दिन कैयन पटक विद्युग गइरहने समस्या रहेको छ ।

‘उद्योगको नोक्सान मध्ये ३० प्रतिशत त विद्युत गइरहने समस्याले भएको छ,’ पौडेलले भने, ‘एक पटक विद्युत काटिदा उद्योगमा झन्डै ४ लाख क्षति हुन्छ ।’ गत महिनामा वैशाख १३ देखि जेठ १ गतेसम्म उद्योगमा ८० पटक विद्युत गएको थियो । ८० पटक विद्युत जाँदा उद्योले झन्डै १३ करोड क्षति भएको उद्योगको तथ्यांकले देखाउँछ ।

२०४९ सालबाट उत्पादन सुरु गरे पनि उद्योगले अहिलेसम्म नाफामा जान सकेको थिएन् । झन्डै दुई दशकको इतिहासमा उद्योग पहिलो पटक नाफामा गएको छ । पौडेलका अनुसार कर्मचार, व्यवस्थापन र मन्त्रालयको समन्वयमा पहिलो पटक नाफामा गएको बताए ।

पौडेलका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १६ करोड ३४ लाख रुपैया नाफा कमाउन सफल भएको छ । उद्योगले उत्पादनलाई तीव्रता दिदै अबको दुई महिनामा कुल नाफा २५ करोड रुपैया पु¥याउने लक्ष्य लिएको छ ।

गत आर्थिक वर्षमा जम्मा १३ लाख ५८ हजार १ सय ८७ बोरा सिमेन्ट बिक्री भएकोमा यस आर्थिक वर्षको १० महिनामा १४ लाख ७० हजार ८ सय ४ बोरा सिमेन्ट बिक्री भइसकेको छ । उद्योगमा सिमेन्ट उत्पादन भएपछि स्टक रहन पाउँदैन । हरेक लटमा उत्पादिन सिमेन्ट तुरुन्तै ट्रकमा लोड भएर बिक्री हुने गरेको छ ।

आर्थिक वर्ष २०६३÷६४ पछि सबैभन्दा धेरै उत्पादन भएको उपनिर्देशक संयज कुमार लालले बताए । गत आर्थिक वर्षको २०७२÷७३ मा कुल ६५ हजार १ सय २५ मेट्रिक टन क्लिंकर उत्पादन भएकोमा अयस आर्थिक वर्षको वैशाख मसान्तसम्मा ८१ हजार ४ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । गत वर्षको भन्दा चालु वर्षको १० महिनामा १७ हजार ३ सय २५ मेट्रिक टनले बढी क्लिंकर उत्पादन भएको छ । 

 

 

 

प्रकाशित: २४ जेष्ठ २०७४ ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App