७ वैशाख २०८१ शुक्रबार
अर्थ

५० हजार मेट्रिक टन चिनी आयात

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट चिनी ल्याउन थालेपछि बजारमा चिनीको भाउ केही सस्तिएको छ । कर्पोरेसनने ५० हजार मेट्रिक टन चिनी आयात सुरु गरेपछि किलोमै १५ रुपैयाँसम्म घटेको हो ।

अर्थ मन्त्रालयले भन्सार छुटमा चिनी ल्याउन दिने प्रक्रियामा ढिलाइ गरेको मौका छोपी व्यापारीले भाउ बढाएर किलोको ९० देखि सय रुपैयाँसम्म पु¥याएका थिए । 

भन्सार नाकाबाट पाँच हजार टन चिनी नेपाल भित्रिनासाथ यसको भाउ घट्न थालेको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताए । ‘चिनीको भाउ एक सय रुपैयाँभन्दा माथिसम्म पुगेको थियो, झाले भने, ‘हामीले ल्याउन थाल्नासाथ स्वात्तै घट्यो ।’

भारतबाट नयाँ चिनी आउन सुरु भएसँगै कर्पोरेसनले नयाँ मूल्य निर्धारण गरेको छ । आपूर्ति मन्त्रालयको परामर्शमा चिनी खुद्रा प्रतिकिलो ८२ रुपैयाँ ५० पैसामा बिक्री सुरु गरेको कर्पोरेसनका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले बताए । ‘चिनी ल्याएसँगै बजारमा मूल्य नियन्त्रण भएको छ,’ राजभण्डारीले भने, ‘आगामी दसैं–तिहारसम्मलाई पुग्ने गरी चिनी आयात सुरु गरेका छौं ।’ कर्पोरेसलने होलसेल मूल्य ८१ रुपैयाँ र वीरगन्जमा किलोको ७८ रुपैयाँ ५० मा बिक्री सुरु गरेको छ । कर्पोरेसलने पुरानो चिनी ८४ रुपैयाँ किलोमा बिक्री गरे पनि बजारमा धेरै महँगो थियो ।

कर्पोरेसनसँग चिनी मौज्दात सकिएको थाहा पाएपछि व्यापारीले मनोमानी ढंगले मूल्य बढाएका थिए । कात्तिक–मंसिर ताका ७० रुपैयाँ किलोमा बिक्री भएको चिनी फागुनयता ३० रुपैयाँभन्दा धेरै बढेर ९० रुपैयाँबाट उकालो लागेको थियो ।

५० हजार मेट्रिक टनमध्ये पाँच हजार मेट्रिक टन आइसकेको र बाँकी आउने क्रममा रहेको कर्पोरेसनले जनाएको छ । ‘आगामी ४–५ महिनालाई पुग्ने गरी चिनी ल्याएका छौं,’ राजभण्डारीले भने, ‘व्यवसायीले  मागे जति चिनी दिन तयार छौं ।’ कर्पोरेसनले उपत्यकाका आफ्ना सबै डिपोबाट बिक्री गर्ने जनाएको छ ।

कर्पोरेसनसँग सिधै चिनी किनेर लैजाने बिक्रेताले ढुवानी र नाफाको लागि चार रुपैयाँ जोडेर ८५ रुपैयाँ किलोमा बिक्री गर्न सक्छन् ।  कर्पोरेसनले चिनीको थोक मूल्य ८१ रुपैयाँ निर्धारण गरे पनि बजार मूल्य धेरै घटाउन नसकिने खुद्रा व्यापार संघका अध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए । ‘साल्ट ट्रेडिङले निर्धारण गरेको मूल्यले उपभोक्ता अझै चर्को मूल्य तिर्न बाध्य हुनेछन्,’ बज्राचार्यले भने, ‘कर्पोरेसलने थोरै नाफा राखेर बिक्री गर्नुप¥यो ।’ सरकारी स्वामित्वको संस्थाले टन्न नाफा राखेपछि उपभोक्ताले राहत नपाउने उनले जिकिर गरे । बज्राचार्यले भने, ‘कति मूल्यमा चिनी खरिद गरेको हो सार्वजनिक गर्नुपर्छ ।’

कर्पोरेसनसँग चिनी मौज्दात सकिएको र उत्पादनमा भारी गिरावट भएपछि मौका छोपेर कार्टेलिङ गरेका थिए । चिनी उद्योगीले कार्टेलिङ गर्न सक्ने भन्दै सरकारले एक प्रतिशत मात्र भन्सार महसुल लगाएर चिनी आयात गर्न दिएको छ । चिनी उद्योगले उखु क्रसिङ गरेर चिनी उत्पादन गरिरहेको बेला भाउ बढेको थियो । उत्पादन घटेको बहानामा उद्योगीले कृत्रिम अभाव सिर्जना गरी चिनीको भाउ बढाउँदै आएका छन् । नेपालमा चिनीका १३ उद्योग रहे पनि बजार माग थेग्ने गरी उत्पादन गर्न सक्दैनन् । रौतहट, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सुनसरी, नवलपरासी, कपिलवस्तु, कञ्चनपुरका किसानले उखु खेती गर्दै आएका छन् । नेपाल चिनी उद्योग संघले यो वर्ष करिब एक लाख २९ हजार मेट्रिक टन चिनी उत्पादन हुने जनाएको छ । नेपालमा वार्षिक करिब दुई लाख ३० हजार टन चिनी खपत हुन्छ ।

सरकारी अनुगमन फितलो हुँदा व्यापारीले सधैं मनोमानी रुपमा चिनी बेच्ने गरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ । स्वदेशमा उत्पादन हुने चिनीको पनि यकिन तथ्यांक लिएर मूल्य निर्धारण गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए । ‘सरकारले मूल्य निर्धारण नगर्दासम्म बजारमा सधैं कालोबजारी भइरहन्छ,’ उनले भने, ‘प्रभावकारी अनुगमन गरेर मूल्य नियन्त्रणमा राख्नु पर्छ ।’ चिनीको उत्पादन लागत तय गर्न आपूर्ति मन्त्रालयले समिति बनाए पनि प्रतिवेदन सार्वजनिक गरेको छैन ।

प्रकाशित: २४ जेष्ठ २०७४ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App