६ वैशाख २०८१ बिहीबार
खेल

सागमा २८ खेलको प्रस्ताव पारित

काठमाडौं– दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले दुई वर्षपछि नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा २८ खेल समावेश गर्ने प्रस्ताव गरेको छ।

भुटानको राजधानी थिम्पुमा मंगलबार सुरु एसएओसीको बैठकले २०१९ मा हुने १३औं सागमा २८ खेल राख्ने प्रस्ताव पारित गर्दै त्यसको अन्तिम निर्णय सेप्टेम्बरमा तुर्कमिनिस्तानको अस्गाबतमा हुने एसियाली मार्सल आर्ट्स इन्डोर खेलकुद दौरान गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ।

अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वमा सोमबार भुटान गएको एनओसी टोलीले बैठकमा २३ खेल प्रस्ताव गरेको थियो । तर एसएओसीका समेत अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले २८ खेलको प्रस्ताव पारित गरेको थियो ।

दक्षिण एसियाली देशहरूले पालैपालो आयोजना गर्ने चलनअनुसार नेपालबाटै सुरु भएको सागको १३औं संस्करण आयोजनाको अधिकार पालोअनुसार नेपालले पाएको छ। अर्को वर्ष फेब्रुअरीमा गर्नुपर्ने भए पनि तयारीको सुस्तताका कारण नेपालले एक वर्षका लागि १३औं संस्करणको आयोजना मिति सारिसकेको छ ।

नेपालले साग आयोजनाको मौका पाएको यो तेस्रो पटक हो । यसअघि पहिलो र आठौं साग नेपालमा आयोजना भएका थिए ।

बैठकमा अफगानिस्तान दक्षिण एसियाली देशहरूको सबभन्दा ठूलो खेलमेलाबाट हटेको औपचारिक घोषणा गरिएको थियो । यसै गरी एसएओसीको विधान संशोधनमा समेत छलफल गरेको बैठकले संशोधित विधान अस्गाबतकै वैठकबाट पास गर्ने निर्णय गरेको छ । सागको १४औं संस्करणको आयोजक छान्ने काम भने माल्दिभ्समा हुने एसएओसीको आगामी बैठकले गर्ने निर्णय भएको एनओसीले जनाएको छ ।

वैधानिकता विवादका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को मान्यता भए पनि नेपालमा श्रेष्ठ नेतृत्वको एनओसीलाई सरकारबाट मान्यता छैन ।

एसएओसीको बैठकले २०१९ मा हुने १३औं सागमा २८ खेल राख्ने प्रस्ताव पारित गर्दै त्यसको अन्तिम निर्णय सेप्टेम्बरमा तुर्कमिनिस्तानको अस्गाबतमा हुने एसियाली मार्सल आर्ट्स इन्डोर खेलकुद दौरान गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ ।

 

प्रकाशित: २४ जेष्ठ २०७४ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App