७ वैशाख २०८१ शुक्रबार
खेल

भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौं– हेमन्त थापामगर र विमल बस्नेतले डेब्यु गरेको खेलमा नेपालले मंगलबार मैत्रीपूर्ण खेलमा भारतलाई २–० को नतिजा सुम्पिएको छ। मुम्बई फुटबल एरिनामा नेपालले १० खेलाडीमा सीमित रहँदै खेलको अन्त्य गरेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि नेपालले दोस्रो हाफमा गतिलो प्रदर्शन गर्न सकेन।  सन्देश झिङगन र जेजे लापेखलुवाले गरेको गोल भारतलाई जित दिलाउन पर्याप्त बन्यो ।

पहिलो हाफको इन्जुरी समयमा नवयुग श्रेष्ठले नेपाललाई अग्रता दिलाउने उत्कृष्ट अवसर खेर फाले । नवयुग खाली पोस्टमा गोल गर्न चुके । भारतीय गोलकिपर र रक्षकलाई डिबक्सबाहिर पन्छाएर नवयुगले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो । ५३औं मिनेटमा सुजल श्रेष्ठको प्रहार भारतीय गोलकिपर गुरप्रीतसिंह सन्धुले सजिलै बचाए ।

सन्देशले ६०औं मिनेटमा गरेको गोलमा घरेलु टोलीले अग्रता लियो । पेनाल्टी बक्समा जेजे लालपेखलुवाले चेस्टले रोकेर दिएको पासलाई सन्देशले गोलमा परिणत गरेका थिए ।

अँधेरी स्पोर्ट्स कम्प्लेक्समा नेपाली टोलीका कप्तान विराज महर्जनले ६७औं मिनेटमा रातो कार्ड पाए। अन्तिम रक्षक विराजले भारतका विकास जैरुलाई लडाएपछि रेफ्रीले सोझै रातो कार्ड देखाएका थिए।

एक शून्यले पछि परेको नेपाल दश खेलाडीमा सीमित बनेपछि भारत झन् हाबी बनेको थियो । त्यसको फाइदा उठाउँदै जेजेले ७८औं मिनेटमा भारतको अग्रता दोब्बर बनाए । उनले मोहम्मद रफिकको क्रस पासमा गोल गरेका थिए ।

नेपाली टोलीका प्रशिक्षक ग्याटुको कोजीले नतिजा आफ्नो पक्षमा नआए पनि भारतविरुद्धको खेलबाट महत्वपूर्ण कुरा सिकेको बताए । उनले भने, ‘हारे पनि हामीले आत्मविश्वास हासिल गरेका छौं । जसले यमनविरुद्ध खेल्न सहयोग गर्नेछ । राम्रो खेले पनि गोल गर्न सकेनौं । हामीले डिफेन्सलाई बलियो बनाउन सकेनौं ।’ रातो कार्डको बारेमा भने प्रशिक्षकले कुनै प्रतिक्रिया दिन चाहेनन् । उनले भने, ‘त्यसका बारेमा म अहिले भन्न सक्दिनँ । त्यो भिडियोमा हेरेर भन्न सकिन्छ ।’

नेपाल र भारत दुवै टोली एएफसी एसिया कप–२०१९ छनोट प्रतियोगिताको लागि तयारी गरिरहेका छन् । नेपालले जेठ ३० गते यमनसँग घरेलु मैदानमा खेल्दै छ । सोही दिन भारतले किर्गिस्तानको सामना गर्नेछ।

मंगलबारको नतिजासँगै लगातार छैटौं खेलमा भारतले अपराजित यात्रालाई निरन्तरता दिन सफल भएको छ । मैत्रीपूर्ण खेललाई दुवै देशले एएफसी एसिया कपको तयारीको रूपमा लिएका थिए । मंगलबार नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले दोस्रो हाफमा हेमन्त थापामगर र विमल बस्नेतलाई मैदानमा पठाएका थिए ।

 

प्रकाशित: २४ जेष्ठ २०७४ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App