coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रोमाञ्चक खेलबाट आर्मी फाइनलमा

काठमाडौं– राजेश पुलामीमगरको अर्धशतक तथा सागर पुन र अनिल मण्डलको १ सय ८ रनको साझेदारी प्रेरित त्रिभुवन आर्मी क्लबले मंगलबार पश्चिमाञ्चललाई ४ विकेटले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।
४७औं ओभरको समाप्तिमा त्रिभुवन आर्मीलाई जित्नका लागि १२ बलमा १६ रनको आवश्यकता थियो । ४८औं ओभर लिएर आएका सौरभ खनालको चौथो र पाँचौं बलमा राजेशले लगातार दुई छक्का हानेपछि त्रिभुवन आर्मी सहज जिततर्फ लम्किएको थियो । अन्तिम ओभरको दोस्रो बलमा सोमपाल कामीले विजयी छक्का हान्दै त्रिभुवन आर्मीलाई ४ बलअघि जित दिलाएका थिए । आर्मीले अब उपाधिका लागि बिहीबार नेपाल पुलिस क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
४७औं ओभरको अन्तिम बलमा राजेशको क्याच छुटाउनु पश्चिमाञ्चलका लागि महँगो साबित भयो । कृष्ण कार्कीको बलमा राजेशले हानेको बल थर्ड म्यान विपिन खत्रीले क्याच छुटाएपछि चौका भएको थियो ।
५३ बलमा २ चौका र ३ छक्कासहित ५५ रनमा अविजित रहेका राजेशले सोमपाल कामीसँग सातौं विकेटका लागि ४१ रनको अविजित साझेदारी गरेका थिए । त्यसअघि उनले राजु रिजालसँग पाँचौं विकेटका लागि ३५ तथा कप्तान विनोद भण्डारीसँग चौथो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए । म्यान अफ दी म्याच समेत रहेका राजेशले टोलीमा जितमा योगदान दिन पाउँदा खुसी लागेको बताए ।
‘व्यक्तिगत प्रदर्शन आफ्नो ठाउँमा छ । तर, टोलीको जिताउन पाउँदा धेरै खुसी छु । सेमिफाइनल खेल थियो । दबाब त भैहाल्छ तर जसले दबाब चिर्न सक्यो उसले जित्ने हो,’ ४८ औं ओभरको दुई छक्काबारे राजेशले भने, ‘खराब बलमा हान्छु भनेर कुरिरहेको थिएँ । त्यसमा सफल भएँ । त्यसपछि खेल जित्यौं भन्ने लाग्यो ।’
आउटफिल्ड चिसो भएका कारण बिहान १ घण्टा ढिला गरी सुरु भएकाले खेल ४९औं ओभरमा झारिएको थियो । पश्चिमाञ्चलले ९ विकेट गुमाएर दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मीका लागि सागर पुन र अनिल मण्डलले महŒवपूर्ण इनिङ खेले । सागर र अनिलले दोस्रो विकेटका लागि १ सय ८ रनको साझेदारी गर्दै टोलीलाई जितको आधार बनाइदिएका थिए ।
पश्चिमाञ्चलका सौरभ खनालले पनि आर्मीको जितमा सागर र अनिलको साझेदारी महŒवपूर्ण रहेको बताए ।
‘हामीले भन्दा उनीहरूले राम्रो प्रदर्शन गरे । विशेष गरी सागर र अनिलको साझेदारी महŒवपूर्ण रह्यो । उनीहरूले मिहिनेत गर्दा नै आर्मी लक्ष्य पछ्याउन सकेको हो,’ प्रतियोगितामा सबैभन्दा धेरै २७ (दोसो स्थानमा कृष्ण कार्की ७)छक्का प्रहार गरेका सौरभले थपे, ‘हामीले राम्रो खेलेका हौं । तर हामीसँग अनुभवको कमी रह्यो ।’
१७ रनको स्थितिमा जीवनदान पाएका अनिलले ८० बलमा २ चौकासहित ४८ रन जोडे भने सागरले ७९ बलमा रन ६ चौका र २ छक्का प्रहार गरे । आर्मीका कप्तान विनोद भण्डारीले तीन जनाको ब्याटिङ प्रदर्शन नै जितको आधार भएको बताए ।
‘सागर र राजेशको दुई अर्धशतक र अनिलको ब्याटिङ प्रदर्शन नै जितको आधार हो । पिच सुक्खा हँुदै गएका कारण अन्त्यतिर मध्यम गतिको बलरसँग खेल्न गाह्रो थिएन तर उनीहरूसँग स्पिनर नभएका कारण हामीलाई सहज भयो,’ विनोदले भने, ‘हामीले बलिङमा पनि राम्रो सुरुआत गरेका थियौं तर, सौरभ (खनाल) र कृष्ण (कार्की) ले धेरै राम्रो खेलेपछि पश्चिमाञ्चलले राम्रो योगफल बनाउन सफल भयो ।’
टस हारेर ब्याटिङका लागि निम्त्याइएको पश्चिमाञ्चलले राम्रो सुरुआत गर्न सकेको थिएन । १८.४ ओभरमा ६६ रन जोड्दा पश्चिमाञ्चलले ६ विकेट गुमाइसकेको थियो । तर सौरभ र कृष्णले आक्रामक ब्याटिङ गर्दै आठौं विकेटका लागि १ सय ४५ रनको साझेदारी गरेपछि पश्चिमाञ्चल सम्मानजनक स्कोरतर्फ लम्किएको थियो । सौरभले ८६ बलमा २ चौका र ८ छक्कासहित ८२ रन बनाउँदा कृष्णले ८९ बलमा २ चौका र ६ छक्का हान्दै ७५ रन जोडे । २ सय ७० रन जोडेका सौरभ प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । दोस्रो स्थानमा नेपाल पुलिस क्लबका सन्दीप सुनार छन् । उनले १ सय ६७ रन बनाएका छन् ।
त्रिभुवन आर्मीका सोमपाल, सागर, जितेन्द्र मुखिया र शाहब आलमले समान २÷२ विकेट लिँदा सुशन भारीले १ विकेट लिए । सागरले प्रतियोगितामा सबैभन्दा धेरै १२ विकेट लिइसकेका छन् । आर्मीकै सुशनले ११ विकेट लिएका छन् ।
 

 

प्रकाशित: २४ जेष्ठ २०७४ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App