८ वैशाख २०८१ शनिबार
खेल

गर या मरको स्थितिमा अस्ट्रेलिया

 लन्डन (एएफपी)– बंगलादेशविरुद्धको खेल सोमबार वर्षाका कारण प्रभावित भएपछि अस्ट्रेलियाका लागि च्याम्पियन्स ट्रफीमा यात्रा अगाडि बढाउनका लागि समूह ‘ए’ मा इङ्ल्यान्डसँगको खेल गर या मरको अवस्थामा पुगेको छ।

स्टिभ स्मिथको अस्ट्रेलिया लन्डनको केनिङ्टन ओभलमा बंगलादेशविरुद्ध जितका लागि १ सय ८३ रनको लक्ष्य पछ्याइरहेको थियो । तर लगातारको वर्षाका कारण अस्ट्रेलियाले लक्ष्य पछ्याउने क्रमलाई पूरा गर्न पाएन । अस्ट्रेलियाले १६ ओभरमा १ विकेट गुमाउँदै ८३ रन बनाएपछि खेल अघि बढ्न सकेको थिएन । थप चार ओभर मात्र खेल्न पाएको भए टोलीले डकवर्थ लुइस पद्धतिअनुसार भए पनि खेल जित्ने थियो । तर मौसम थप बिग्रिएका कारण बंगलादेशलाई १ सय ८२ रनमा सीमित गरे पनि अस्ट्रेलिया दुई अंक एकतर्फी पार्न सफल भएन। प्रतियोगिताको पहिलो खेलमा पनि अस्ट्रेलियाले वर्षाका कारण नतिजाविहीन हुनुपरेको थियो। न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा अस्ट्रेलियाको प्रभाव नभए पनि वर्षाका कारण रद्द भएको थियो ।

सुरुका दुई खेलमा लगातार वर्षाका कारण अंक बाँड्नुपरेपछि दुई पटकको च्याम्पियन अस्ट्रेलियाले सेमिफाइनलमा स्थान पक्का गर्नका लागि जुन १० मा बर्मिङ्घममा हुने आयोजक इङ्ल्यान्डविरुद्धको खेल जित्नै पर्नेछ ।

‘मौसमका कारण नतिजाविमुख हुनुपर्दा हामी निकै निराश छौं । पक्कै पनि हामी मैदान छोड्न चाहँदैनथ्यौं । पानीमै भए पनि म ब्याटिङ गर्न पाउँदा खुसी हुन्थेँ,’ लक्ष्य पछ्याउने प्रयासमा २५ बलमा १ चौकासहित व्यक्तिगत २२ रन बनाएको बेला खेल अवरुद्ध भएको स्मरण गर्दै अस्ट्रेलियाका कप्तान स्मिथले भने, ‘तर निर्णय गर्नका लागि अम्पायरहरू त्यहाँ थिए । त्यो हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा थियो ।’

प्रतियोगितामा पहिलो जित हासिल गर्ने लक्ष्यमा रहेको अस्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले ४४ बलमा २ चौकासहित ४० रन बनाए । आरोन फिन्च २७ बलमा ३ चौकासहित १९ रन बनाएर रुबेल हुसेनको बलमा एलबिडब्लु धरापमा परे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशको इनिङमा ओपनर तमिम इकबालले बनाएको ९५ रन सबभन्दा ठूलो स्कोर थियो । १ सय १४ बल सामना गरेका तमिमले ६ चौका र ३ छक्का प्रहार गरे । यसबाहेक साकिब अल हसनले २९ तथा मेहदी हसन मिराजले १४ रन बनाए । बंगलादेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

अस्ट्रेलियाका मिचेल स्टार्क र मोसेस हेनरिक्सले तीन÷तीन विकेट लिए भने जोस हाज्लेउड, पाट कमिन्स र एडम जाम्पाले एक÷एक विकेट लिए ।

अस्ट्रेलियाले १६ ओभरमा १ विकेट गुमाउँदै ८३ रन बनाएपछि खेल अघि बढ्न सकेको थिएन । थप चार ओभर मात्र खेल्न पाएको भए टोलीले डकवर्थ लुइस पद्धतिअनुसार भए पनि खेल जित्ने थियो ।

प्रकाशित: २४ जेष्ठ २०७४ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App