coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विराटनगर महानगर: उम्मेदवार चयनमा ढिलाइ

विराटनगर-राजनीतिक दलहरूले एकअर्काको उम्मेदवारी कुर्दा विराटनगर महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार टुंग्याउन ढिलाइ भएको छ । स्थानीय तहको निर्वाचनमा दलभन्दा व्यक्तिले पनि ‘प्रभाव’ पार्ने आकलन गरेका राजनीति दलले विराटनगरमा एकअर्काको उम्मेदवारी कुरिरहेका छन्।

विराटनगर महानगरमा बलियो जनाधार रहेको दाबी गर्ने कांग्रेस, एमाले, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम र चुनावमा आउने/नआउने टुंगो लागिनसकेको राष्ट्रिय जनता पार्टी (राजपा) एकअर्काको उम्मेदवार ‘हेरेर’ मात्रै आफ्नो टुंगो लगाउने आन्तरिक रणनीतिमा छन् । ‘विराटनगर महानगरमा कुनै एक्लो पार्टीको बहुमत देखिन्न,’ नेपाल लोकतान्त्रिक फोरमका मोरङ अध्यक्ष भक्तिनाथ माझीले नागरिकसँग भने, ‘एक्लै चुनाव लड्दा हारिन्छ कि भनेर सबै पार्टी एकअर्कासित तालमेल गर्ने सोचमा देखिन्छ ।’

एक लाख १२ हजार आठ सय ३२ मतदाता रहेको विराटनगरमा कांग्रेसको जनाधार अरू दलभन्दा बलियो छ । विराटनगर महानगरमा मोरङको तीनवटा निर्वाचन क्षेत्र ५, ६ र ७ जोडिएको छ । पछिल्लो संविधानसभा निर्वाचनमा कांग्रेसले यी तीनवटै निर्वाचन क्षेत्र जितेको हो । तीनवटै निर्वाचन क्षेत्रमा दोस्रो बढी मत नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरमले पाए । पहाडी, मधेसी, थारू र मुस्लिम समुदायको घना बसोबास रहेको विराटनगर महानगरमा एक्लै मेयरमा चुनाव लड्न कुनै पनि दलले आँट नदेखाउँदा उम्मेदवारी घोषणा लम्बिएको हो ।

माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयरमा क्रमशः भोगेन्द्र यादव र प्रह्लाद साहको नाम टुंगो लगाएका छन् । ‘चुनाव हारिने शंका सबै दलमा देखिन्छ,’ माझीले भने, ‘त्यसैले मेयरमा तालमेल मिलाउने सबै दलको इच्छा छ । गठबन्धनका लागि हाम्रै पार्टीसित धेरै दलको कुरा भइरहेको छ ।’ एमाले मोरङका एक सदस्यका अनुसार उम्मेदवार टुंगो लगाउने सबै प्रक्रिया पूरा भए पनि अन्य दलको सार्वजनिक नगरिँदा एमालेले पनि रोकेको छ ।

                महानगरको मेयर र उपमेयरको उम्मेदवार एमालेको स्थायी समितिले टुंग्याउँछ । मोरङ एमालेका नेता वसिम आलमले स्थायी समिति बैठक नबसेकाले विराटनगरको उम्मेदवार टुंग्याउन ढिलाइ भएको बताए । ‘उम्मेदवार टुंगो लगाउने हाम्रो सबै प्रक्रिया पूरा भइसकेको छ,’ आलमले भने, ‘स्थायी समितिले एक–दुई दिनमै टुंग्याउने सुनेको छु ।’ एमालेमा मेयर र उपमेयरका आकांक्षीले जिल्ला कमिटी बैठकमा आफ्नो नाम दर्ज गर्नुपर्छ । जिल्ला कमिटीले ती नाम स्थायी समिति सदस्यकै संयोजकत्वमा रहेको प्रदेश समितिमा पु¥याउँछ । प्रदेश समितिले आएका नाममा छलफल गरेर वरिष्ठताका आधारमा स्थायी समितिलाई अन्तिम टुंगो लगाउन नाम सिफारिस गर्छ । एमालेको यी सबै प्रक्रिया पूरा गरेर विराटनगरका मेयरका लागि १० जनाको नाम स्थायी समितिमा पुगेको छ ।

                कांग्रेसमा मेयरका आकांक्षी १४ जनाभन्दा बढी छन् । वडा र क्षेत्रीय समितिबाट जिल्ला कमिटीमा आउने आकांक्षीको नाम उम्मेदवारी टुंगो लगाउन केन्द्रीय समितिमा पठाइनेछ । मोरङ कांग्रेसले विराटनगर महानगरको मेयरको उम्मेदवार टुंगो लगाउन आन्तरिक कसरत तीव्र पारे पनि आकांक्षी धेरै भएकाले टुंगो लगाउन केन्द्रीय समितिलाई जिम्मा दिएको स्रोतले बतायो ।

विराटनगर महानगरको मेयरको टिकट पाउनेले कांग्रेसका नेता शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल र सुजाता कोइरालालाई ‘रिझाउन’ आवश्यक रहेको एक आकांक्षीले बताए । ‘यी चारवटै नेताले कांग्रेसमा मेयरका आकांक्षीमध्ये फरकफरक व्यक्तिलाई बोकेकाले पनि उम्मेदवारी टुंग्याउन अलमल छ,’ ती आकांक्षीले भने, ‘त्यसैले टिकट पाउन आकांक्षीहरू काठमाडौंमै दौडधुप गरिरहेका छन् ।’

                नेपाल लोकतान्त्रिक फोरमबाट विराटनगरको उपमेयरमा बाबुराजा ओझाको नाम चर्चामा रहे पनि अन्तिम टुंगो नलागेको अध्यक्ष माझीले बताए । उनले विराटनगर महानगरबाहेक मोरङको अरू ७ गाउँपालिका र ७ नगरपालिकामा उम्मेदवारको टुंगो बुधबार लाग्ने दाबी गरे । माझीले विराटनगरको उम्मेदवार पार्टी केन्द्रीय समितिलाई टुंग्याउने जिम्मा दिइएको बताए । संघीय समाजवादी फोरम मोरङका अनुसार विराटनगर महानगरको मेयर, उपमेयर र वडाको उम्मेदवारी टुंग्याउन अझै समय लाग्छ । फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले विराटनगर मेयरमा तालमेल मिलाउन अरू पार्टीसित छलफल भइरहेकाले उम्मेदवार टुंग्याउन ढिलाइ भइरहेको बताए ।

                ‘नेपाल लोकतान्त्रिक फोरम, राजपा र माओवादी केन्द्रसँग विराटनगर महानगरमा तालमेल गर्ने भनेर छलफल भइरहेको छ,’ नेता यादवले भने, ‘उम्मेदवारका विषयमा आन्तरिक तयारी पनि भइरहेको छ।’ अरू दलले मेयरको उम्मेदवार सार्वजनिक नगरेकाले संघीय फोरमले वडा, गाउँपालिका र नगरपालिकाका उम्मेदवार चारपाँच दिनमै टुंगो लगाए पनि विराटनगरको उम्मेदवार पछि मात्रै टुंग्याउने यादवले बताए । संघीय फोरममा जिल्ला कमिटीमा आकांक्षीको आएको नाम राय–सुझावसहित तराई–मधेस प्रदेश समितिमा पठाइन्छ । त्यहींबाट उम्मेदवार टुंगो लाग्छ । विवाद भएमात्र केन्द्रीय समितिमा पठाइन्छ ।

                स्थानीय तह निर्वाचनको दोस्रो चरण असार १४ गते आउन २१ दिन मात्र बाँकी छ । उम्मेदवार नटुंग्याए पनि दलहरूले चुनाव प्रचारप्रसार तीव्र पारेका छन् । उम्मेदवारबिनै घरदैलो, मोटरसाइकल ¥याली र चुनावी गतिविधि गरिरहेका दलहरुलाई भने मतदाताले ‘उम्मेदवार खोइ’ भनेर प्रश्न गरिरहेका छन् ।

 

प्रकाशित: २४ जेष्ठ २०७४ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App